सूर्यविनायक १० बाट कांग्रेस पछाडि हट्यो, नेमकिपाका वडा अध्यक्षलाई सघाउने
बैशाख २९, २०७९, बिहीबार | विहान १०:०९ बजे | 50
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १० नेपाली कांग्रेस पछाडि हटेको छ । आफनो वडा अध्यक्षलाई पछाडि सारी कांग्रेसले नेपाल मजदुर किसान पार्टीका वडा अधयक्षलाई समर्थन गरेको जनाएको छ । कांग्रेस विज्ञप्ति सार्वजन गरी वडा अध्यक्षमा नेमकिपाका उम्मेदबारलाई सहयोग गर्ने जनाएको हो ।
कांग्रेसले सार्वजनिक गरेको विज्ञप्ति अनुसार वडामा चारदलीय गठबन्धन भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तपोलमा नेपाली काँग्रेस, नेकपा(एस), नेमकिपा र माओवादीबीच गठबन्धन भएको हो ।
सो कुराको पुष्टि नेपाली काँग्रेसले गरेको हो । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिका सचिव राजेश खड्काले प्रेस विज्ञप्ति जारी गर्दै सूर्यविनायक नगरपालिका वडा नं. १० मा गठबन्धन भएको पुष्टि गरेका हुन् ।
उनका अनुसार मेयरमा नेपाली काँग्रेस, उपमेयरमा नेकपा (एकीकृत समाजवादी), वडा अध्यक्षमा नेमकिपा, महिला वडा सदस्य र दलित महिला सदस्यमा नेपाली काँग्रेस, खुला वडा सदस्यमा नेकपा माओवादी र खुला वडा सदस्यमा पुनः नेपाली काँग्रेसलाई भोट दिने गरी सहमति भएको छ ।
प्रेस विज्ञप्तिमा नेपाली काँग्रेस सूर्यविनायक नगरपालिका वडा नं. १० मा केन्द्रीय निर्णय तथा परिपत्र अनुसार स्थानीय तहमा आवश्यकता पहिचान गरी गठबन्धनलाई समेत अगी बढाउन प्राप्त निर्देशनप्रति सजग रही त्यस वडामा पनि देशव्यापी रुपमा केपी ओली प्रवृत्तिको नेकपा एमालेलाई परास्त गर्ने उद्देश्यका साथ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनका लागि सो गठबन्धन गरिएको उल्लेख छ ।
सो विषयमा नेमकिपा सूर्यविनायक नगरपालिकाका इन्चार्ज सूर्यभक्त त्वातीले आफूलाई जानकारी नभएको र आफू बैठकमा सहभागी नभएको बताए ।
उनले काँग्रेसले एकतर्फी प्रेस विज्ञप्ति जारी गरेको हुनसक्ने बताउँदै गठबन्धनमा पार्टी सहभागी हुने नीति समेत नभएको जानकारी दिए ।
उनले नेपाली काँग्रेसले कमजोर उम्मेदवार उठाएको कारण काँग्रेसले सो निर्णय गरेको हुनसक्ने बताए । नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापाले सो वडामा नेमकिपाकातर्फबाट वडाध्यक्ष पदमा उम्मेदवार बनेकासँग छलफल गरी सो निर्णय गरिएको बताए । तर यसबारे कुनै लिखित सहमति नगरिएको जनाइएको छ ।