ओमचरण अमात्यले गरे आचारसंहिताको ठाडै उल्लंघन (लिंकसहित)


बैशाख २९, २०७९, बिहीबार | विहान ०६:३५ बजे | 40


ओमचरण अमात्यले गरे आचारसंहिताको ठाडै उल्लंघन (लिंकसहित)

भक्तपुर । भक्तपुरमा नेपाली कांग्रेससँंगको गठबन्धनका एकजना उपमेयरका साझा उम्मेदबारले आचारसंहितको ठाडै उल्लंघन गरेका छन् । भक्तपुर नगरपालिका क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एसकोतर्फबाट उपमेयरमा उम्मेदबारी दिएका ओमचरण अमात्यले आचारसंहिताको ठाडै उल्लंघन गरी बिहीबार सामाजिक सञ्जालमार्फत् भोट मागेका हुन् ।
नेकपा एसकोतर्फबाट भक्तपुर नगरपालिकामा उपमेयरमा उम्मेदबारी दिएका उनले कलम चिन्हमा छाप लगाएर आफूलाई जिताउन आठ मिनेट ४७ सेकेण्डको सन्देश सार्वजनिक गरेका हुन् । आचारसंहिता अनुसार बुधबार राति १२ बजेपछिबाट कुनै पनि माध्यमबाट मत माग्न पाउँंदैन । तर उनले भोलि निर्वाचन हुँंदैछ, मलाई भोट दिएर जिताउनुहोला भनी सन्देश सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार सार्वजनिक गरेका हुन् ।
सन्देशमा उनले आफूलाई मात्रै भोट मागेका छन् । गठबन्धनका अन्य उम्मेदबारहरुलाई भने उनले भोट मागेका छैनन् । सन्देशमा उनले आफूले गर्न नसक्ने कामको आश्वासन दिन नचाहेको पनि बताएका छन् ।
भक्तपुर नगरमा नेपाली कांग्रेस र नेकपा एसको गठबन्धन अनुसार नेपाली कांग्रेसले मेयर पाएको छ भने नेकपा एसले उपमेयरको भागबन्डा भएको छ । यस अनुसार नेपाली कांग्रेसकोतर्फबाट रामप्रसाद  कासुलाले भक्तपुर नगरको मेयर पदमा उम्मेदबारी दिएका छन् भने ओमचरण अमात्यले उपमेयर पदमा उम्मेदबारी दिएका छन् । केन्द्रमा गठबन्धन भएका एकीकृत माओवादीले भने भक्तपुर नगरमा छुटै उम्मेदबारी दिएको छ ।

Comments