भक्तपुरमा स्वीमिङ पुल बनाइने


बैशाख २६, २०७९, सोमबार | विहान ०९:३३ बजे | 30


भक्तपुरमा स्वीमिङ पुल बनाइने

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कथित ठुला दलले चुनावमा मनी, मशल र मिडियाको दुरुपयोग गरेर चुनाव जित्दै आएको आरोप लगाए । साथै उनले चुनावमा जनतालाई भेडा बाख्रा जस्तै किनबेच गर्न सक्नेतर्फ सबै मतदाता सचेत रहन पनि आग्रह गर्नुभयो ।
भनपा ८ वडामा नेमकिपाको चुनावी सभामा बोल्दै सांसद सुवालले पैसाको छेलोखेलो गर्ने दलले चुनाव जितेसम्म जनताले सुख नपाउने बताउँदै उनले भनपामा नेमकिपाले घोषणापत्रमा उल्लेख भएअनुसार गतिविधि गर्ने गरेको उल्लेख गर्दै यसपटक युवा तथा खेलकुद लक्षित गरी स्वीमिङ पुल बनाउने, भव्य अरनिको सभाभवन बनाउने योजना रहेको बताए । साथै उनले फोहरबाट कम्पोष्ट मल, ग्याँस र बिजुली उत्पादन गर्ने प्रविधिबारे अध्ययन भइरहेको जानकारी गराए ।
वडाध्यक्ष महेन्द्र खायमलीले सुव्यवस्थित नगरको विकासमा जनप्रतिनिधिको योगदानबारे चर्चा गर्दै उनले पाँच वर्षको कार्यवधिमा करिब ९० ओटा योजना सम्पन्न भएको उल्लेख गर्नुभयो ।
स्थानीय पार्टी सचिव जितेन्द्र खायमलीको सभापतित्वमा सम्पन्न उक्त सभामा वडाध्यक्षका उम्मेदवार कृष्णप्रसाद कोजू, महिला वडासदस्य सुमित्रा बोहजू, वडासदस्यहरु कृष्णलाल किसी र रामसुन्दर बासीले वडाबासीको हरेक समस्यामा साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए । स्थानीय बलराम प्रजापति, रत्ना चवालल, सत्यप्रसाद प्रजापतिगायतले आ आफ्नो धारणा राखेका थिए ।


Comments