ललितपुरको उपमेयरमा अजरमान जोशीको उम्मेदवारी किन?


बैशाख २०, २०७९, मङ्गलबार | विहान १०:४२ बजे | 60


ललितपुरको उपमेयरमा अजरमान जोशीको उम्मेदवारी किन?

ललितपुरमा अजरमान जोशीको उपस्थिति बिना कुनै सभा, समारोह नै हुँदैन कि भन्ने सम्म प्रश्न अहिले पनि जनमानसमा उठ्ने गर्दथ्यो।जुनसुकै कार्यक्रममा जोशीको सक्रिय सहभागिता हुने गरेकोले जनमानसमा सहज र स्वभाविक रुपमा सो प्रश्न उठेको थियो ।
ति नै जोशी अहिले ललितपुर महानगरपालिकाको उपमेयरका स्वतन्त्र उम्मेदवार बनेका छन् । ललितपुरको हस्तकला र पर्यटन विकासको माध्यमबाट आर्थिक रुपान्तरणको जग बसाल्न जीवनको आधा समय खर्चिनुहुने जोशीको उम्मेदवारीले चुनावी परिदृश्य थप रोचक तुल्याएको छ ।
 निर्वाचन अधिकृतको कार्यालयले गत शनिबार उहाँलाई खरायो चुनाव चिन्ह दिएको छ। सधै पैदल हिड्न रुचाउने जोशी अहिले चुनावी परिणाम आफ्नो पोल्टामा पार्न खरायौ झै दौडिरहनुभएको छ ।
महानगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा (माओवादी) केन्द्रबीच गठबन्धन बनेको छ।यस्तो स्थितिमा जनतामा भिजेको,व्यापक सम्पर्क सञ्जाल भएको र सामाजिक व्यक्तित्वको उम्मेदवारीले विभिन्न राजनीतिक दलका उपमेयरका उम्मेदवारलाई कडा टक्कर दिएको छ ।
दुई पार्टीबीच गठबन्धन हुँदा मोबाईलमा ब्यालेन्स वा एक बैंकबाट अर्को बैंकमा नगद ट्रासन्फर भए झै एक अर्काको पार्टीको मत आकर्षित हुन्छ कि हुँदैन भन्ने कौतुहलता सर्वसाधारणमा कायमै छ।यस्तो बेला जोशीको उम्मेदवारले उपमेयरको चुनावी आकंलनको अंकगणित फेरिएको छ । उपमेयरमा नेकपा माओवादी (केन्द्र) बाट बाबुराज बज्राचार्य, एमालेबाट मञ्जली (आस्था) शाक्य, राप्रपाबाट स्वर्णीमा शाक्यले उम्मेदवारी दिनुभएको छ।
 सिंगो जीवन सामाजिक क्षेत्रमा बिताएका जोशीको उपमेयरमा उम्मेदवारीले सर्वसाधारण जनतामाझ निकै उत्साहको वातावरण थपेको ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सविन श्रेष्ठको भनाई छ । ‘दलहरुबीच आफ्नो नितान्त गुट, वैयक्तिक र सत्ता स्वार्थको राजनीतिले गर्दा जनता निराश भइरहेको बेला सामाजिक व्यवहारबाट जनताको सेवक रुपमा प्रमाणित व्यक्तिले उम्मेदवारी दिएको सन्दर्भले हामीलाई हौस्याएको छ । ’ पूर्व अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
२०४९ सालदेखि २०७४ सालसम्म ललितपुर उद्योग वाणिज्य संघमा सक्रिय रहेका जोशी संघको २०६८ र २०७० मा गरी दुई पटक अध्यक्षमा निर्वाचित भएका थिए। त्यससंगै प्रहरी र प्रशासनलाई जनमैत्री, जवाफदेही र उत्तरदायी बनाउने कार्यक्रममा जोशीको संयोजन र अगुवाईको भूमिका रह्यो।जोशीकै अगुवाईमा महानगरीय प्रहरी प्रभाग मंगलबजारको भवन निर्माण भएको थियो ।
‘ उद्योगी व्यवसायीको हकहितसंगै सामाजिक कार्यमा लामो समय काम गर्दै जाने क्रममा साथीभाई , शुभेच्छुकहरुको सल्लाह र सुुझाव अनुसार नगर बनाउन मैले उम्मेदवारी दिएको हुँ ।’ जोशीले भन्नुभयो ‘ नागरिक समाज, आम उद्यमी व्यवसायी, सर्वसाधारण जनता मात्र नभई राजनीतिक दलमा लागेका इमान्दार कार्यकताहरु पनि पार्टीभित्रको गतिविधि, नेता विशेष, गुट विशेषको कामले वाक्क दिक्क भइसकेका छन्।यस्तो बेला राजनीतिप्रति भरोसा र विश्वास जगाउने काम गर्नु अपरिहार्य रहेको छ । त्यसैले मैले उम्मेदवारी दिएको हुँ ।’
२०६९ फागुणमा भएको भएको ललितपुर महोत्सव, पाटन दरबार क्षेत्रमा पहिलो पटक १३ वटा सिसिटीभी राख्ने कार्य, २०७२ सालको भूकम्पपछि राहत वितरण त्यस लगतै भूकम्पबाट क्षतिग्रस्त सम्पदा संरक्षण र पुनःनिर्माण कार्य जोशीलाई आम मानिस सम्झिराख्ने कार्यहरु हुन्।
संघमा सक्रिय भूमिका पछि जोशीले नागरिक मैत्री प्रहरी प्रशासनको अभियान, श्री शान्ति विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भई काम गर्नुभएको थियो। हाल ललितपुरको नख्खुमा निर्माण भइरहेको मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको निर्माणमा क्रियाशील हुनुहुन्छ।
‘ काम र व्यवहारबाटै जनताले परीक्षण गरिसकेकोले मेरो सोच र व्यवहार सबैलाई थाहा छदैँछ। पेसवर राजनीतिक कार्यकतालाई पटक पटक हेरिसक्यों।अब सामाजिक व्यक्तिलाई एकचोटी हेर्नुहोस् ।’  जोशीले भन्नुभयो ।

Comments