नेमकिपाको उम्मेदबारी दुईदलीय तानाशाहीविरुद्ध ः रोहित
बैशाख १९, २०७९, सोमबार | विहान ०८:०८ बजे | 80
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले आफनो पार्टीको उम्मेदबारी नेपाली कांग्रेस र एमालेको दुईदलीय तानाशाहीविरुद्ध भएको बताएका छन् । निर्वाचन विचारको लडाई हुनुपर्ने भन्दै उनले जित्नकै लागि नेपाली कांग्रेसले नेकपा एकीकृत माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका पाँंच दलीय गठबन्धन बनाउनु र नेकपा एमालेले पनि राप्रपालगायतका दलहरुसँंग गठबन्धन गर्नु सिद्धान्तहिन राजनीति भएको बताए ।
‘राजनीति पद, पैसा र पावरको लागि गर्ने होइन, यो त देश र जनताका लागि गर्ने हो, नेपाल मजदुर किसान पार्टी ७ नम्वर वडा निर्वाचन परिचालन समिति भक्तपुरले सोमबार गरेको जनतासँंगको साक्षात्कार कार्यक्रममा विजुछेेंले भने, ‘पैसा कमाउने भए राजनीति होइन, व्यापार व्यवसायमा लाग्नुहोस् ।’
उनले यो पटकको निर्वाचन देश वचाउने कि नबचाउने भन्ने दुई पक्षको लडाई भएको बताए । एउटा पक्ष एमसीसी पास गरेर देश बेच्ने पक्षमा रहेको र अर्काे पक्ष एमसीसीकाविरुद्ध लागेर देश जोगाउने पक्षमा रहेको उनको भनाई थियो । आफूहरु एमसीसीको विपक्षीमा रहेर निरन्तर देश जोगाउने पक्षमा रहेको उनको भनाई थियो । उनले एमसीसी पास गरिसकेपछि पनि आफूहरुको विरोध निरन्तर भइरहने जनाए ।