ख्वप कलेजबारे धेरै झुठो नबोल्न आग्रह


बैशाख १८, २०७९, आइतबार | विहान ०६:३५ बजे | 50


ख्वप कलेजबारे धेरै झुठो नबोल्न आग्रह

भक्तपुर । देशकै प्रतिष्ठित ख्वप कलेजबारे धेरै झुठो नबोल्न यहाँंका प्राध्यापकहरुले आग्रह गरेका छन् । १३३ औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार देकोचा भक्तपुरस्थित कलेजमा भएको प्रबचन कार्यक्रममा उनीहरुले एउटा राम्रो शैक्षिक संस्थाको विषयमा जथाभाबी रुपमा कपोलकल्पित भ्रमहरु नछर्न चेतावनीसमेत दिए ।
केही दिन अगाडि भक्तपुरमा भएको एउटा कार्यक्रममा नेकपा एमालेका नेता महेश वस्नेतले कलेजमा पढाउने शिक्षकहरु अयोग्य भएको सार्वजनिक भाषण गरेका थिए । उनले कलेज कुन कानुन अन्तर्गत सञ्चालित हो ? भनी प्रश्न पनि गरेका थिए । साथै उनले सरकार बलियो भएको भए कलेज बन्द गराउनसक्ने पनि बताएका थिए ।
ख्वप मावि, ख्वप कलेज र शारदा क्यामपसको संयुक्त आयोजनामा भएको कार्यक्रममा कलेजका प्राध्यापकहरुले अयोग्य शिक्षकशिक्षिकाहरुले पढाएका विद्यार्थीहरु पटकपटक कसरी त्रिभुबन विश्वविद्यालय टपर भए ? भनी प्रश्न गरेका थिए । पढाउने मात्रै आफूहरुले भएको स्पष्ट पार्दै उनीहरुले प्रश्नपत्र अर्कैले बनाउने, कापी जाँंच पनि अर्कैले गर्ने अवस्थामा अयोग्य शिक्षकले पढाएका विद्यार्थी कसरी पटकपटक नेपाल टप भए ? भनी प्रश्न गरे । उनीहरुले कलेजकाबारे जथाभाबी नबोल्न र यसलाई राजनीतिक मुद्धा नबनाउन पनि आग्रह गरे ।
कार्यक्रममा कलेजका प्राचार्य रुपक जोशीले कलेज देशकै उत्कृष्ट भएकै कारण पटकपटक कलेजका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय टप भएको स्मरण गरे । उनले कलेजको ख्यातिकै कारण झण्डै देशभरका विद्यार्थी कलेजमा अध्ययन गरिरहेको पनि जनाए ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले आफूले महेश वस्नेतद्धारा लेखिएको भनिएका ‘महेशको म’ नामक पुस्तक अध्ययन गरेको र त्यस पुस्तकमा लेखकले बहसमा झुटो कुरोलाई पनि सत्य बनाउनुपर्ने कुरा आफूलाई मन नपरेको तर राजनीतिमा त्यही गर्नुपरेको विषय उल्लेख भएको बताए । यही कारण वस्नेतले आफनो राजनीतिलाई टिकाउन कलेजबारे झुठो बोलेको विषय उनकै पुस्तकबाट खुलेको प्राचार्य श्रेष्ठको तर्क थियो । वस्नेत पदीय हिसावले उच्च पदमा पुगे पनि उनको बौद्धिकता भने नभएको भन्दै उनले दुःख व्यक्त गरे ।
कार्यक्रममा कलेजका उपप्राचार्य डा राजेशकुमार श्रेष्ठ, परीक्षा शाखा प्रमुख विष्णुप्रसाद किसी, प्रशाशनका उमा भट्टलगायतले कलेजबारे भएनभएको भ्रम जनतामा नछर्न चेतावनी दिए ।

Comments