भक्तपुरमा ७९ जनाले फिर्ता लिए उम्मेदबारी


बैशाख १७, २०७९, शनिबार | विहान ०९:०२ बजे | 45


भक्तपुरमा ७९ जनाले फिर्ता लिए उम्मेदबारी

एक हजार एक जनाले उम्मेदवारी दिएको भक्तपुर जिल्लाको स्थानीय तहको निर्वाचनमा ७९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाए अनुसार यसरी उम्मेदवारी फिर्ता लिनेहरुमा चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका २।२ जना र मध्यपुर थिमीका १ जना प्रमुखका उम्मेदवार समेत थिए । अन्य नाम झिकेका उम्मेदबारहरु वडाध्यक्ष र वडासदस्यहरु मात्रै रहेको जिल्ला निर्वाचन अधिकारी नरेन्द्रप्रसाद न्यौपानेले बताए । न्यौपानेका अनुसार अन्तिम नामावली प्रकाशनका क्रममा एउटै पार्टीबाट सिफारिस दोहरीएका भक्तपुर नगरका १ र सूर्यविनायक नगरका १ जना वडाध्यक्षको उम्मेदबारी समेत बदर गरिएको छ ।
यसरी उम्मेदवारी फिर्ता हुनेहरुमा भक्तपुर नगरपालिकाका १५ जना, चाँगुनारायण नगरपालिकाका २२ जना, मध्यपुर थिमी नगरपालिकाका २० जना र सूर्यविनायक नगरपालिकाका २२ जना गरी ७९ जना उम्मेदवारका आकांक्षिहरु थिए । पार्टीगत उम्मेदवारहरुलाई पार्टीकै निर्वाचन चिन्ह र स्वतन्त्र उम्मेदवारहरुलाई आज साँझसम्ममा सम्बन्धित निर्वाचन कार्यालयबाट निर्वाचन आयोगले तोकिएको चिन्हहरु मध्येबाट उम्मेदबारले छानेको निर्वाचन चिन्ह प्रदान गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जनाए ।


Comments