दुई वर्षपछि खुल्यो चाँंगुनारायणमा काँंग्रेस र राप्रपावीचको गोप्य सहमति (गोप्य सहमतिसहित)
बैशाख १७, २०७९, शनिबार | विहान ०८:०३ बजे | 35
भक्तपुर । नेपाली काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धोखा दिएको छ । राप्रपा भक्तपुरले आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले धोखा दिएको निश्कर्ष निकालेको हो ।
राप्रपाले २०७६ मंसिर १४ गते सम्पन्न प्रदेश सभाको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेललाई राप्रपाले सहयोग गरेको र उक्त सहयोग गरेवापत चाँगुनारायण नगरपालिका राप्रपाले नगर प्रमुख सहित ४ वटा वडा र नेपाली काँग्रेसलाई उपप्रमुखसहित ५ वटा वडा बाँडफाँड गरी निर्वाचनमा सहभागी गराउने लिखित सहमति भएको थियो ।
२०७६ मंसिर ८ गते दुई पार्टीबीच भएको सहमतिलाई नेपाली काँग्रेसले एकतर्फी भंग गरेको राप्रपाले आरोप लगाएको छ ।
शनिबार सल्लाघारीमा पत्रकार सम्मेलन गरी राप्रपा केन्द्रीय सदस्य दिनेश श्रेष्ठले सो सहमति कार्यान्वयनका लागि जिल्ला र केन्द्रीय तहमा समेत छलफल भए पनि त्यसको कार्यान्वयन जिल्ला तहबाटै नभएको बताए । उनले ती सहमतिहरूलाई राप्रपाले अक्षरस पालना भएको तर नेपाली काँग्रेसले सबै वुंदाहरू पालना नगरेको समेत बताए । उनले चाँगुनारायण नगरपालिकामा राप्रपाले सहयोग नगरेको भए नेपाली काँग्रेसका भडेल जित्नै नसक्ने राप्रपाको गुणलाई समेत बिर्सेको जनाए ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसले दिएको धोखाले मूल्य चुकाउनुपर्ने बताउँदै जिल्ला अध्यक्ष रामशरण लामिछानेले राप्रपाले काँग्रेसलाई गरेको श्रृणको व्याजसहित ऋण तिर्नुपर्ने बेलामा दिएको धोखाले काँग्रेसलाई नै हानी पुग्ने बताए ।
सोही कार्यक्रममा राप्रपाका सहमहामन्त्री एवं चाँगुनारायण नगरपालिकाका मेयरका उम्मेदवार रवीन्द्रप्रताप शाहले काँग्रेसको नियतमा खोट रहेको बताउँदै काँग्रेसले धोखा दिए पनि जनताले भने सहयोग गर्ने बताए । उनले सो सहमति भंग गरेर राप्रपालाई नभई काँग्रेसलाई नै घाटा हुने ठोकुवा गरे ।