मध्यपुर थिमिमा कांग्रेसको वागी उम्मेदबार
बैशाख १४, २०७९, बुधबार | विहान १०:०९ बजे | 50
मध्यपुर थिमि । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । मध्यपुर थिमि नगरपालिका वडा न.१ निवासी प्रजापतिले नेपाली काँग्रेसका उम्मेदवारविरुद्ध आफूले उम्मेदवारी दिएको सार्वजनिक गरेका छन् ।
उनले भनेका छन् ’नेपाली काँग्रेसले मध्यपुर थिमि वडा नं. १ को टिकट वितरण गर्दा भेदभावपूर्ण तरिकाले वितरण गरेको र साविक लोकन्थली गाविसको वडा नं. ४ (अरनिको राजमार्ग दक्षिण) जुन काँग्रेसको गढको रुपमा परिचित छ, सो क्षेत्रलाई पुरै उपेक्षा गरी एउटा वडा सदस्य समेत नदिए पछि उम्मेदवारी दिएको हु ।’
उनले सामाजिक संजालमा लेखेका छन् ’यस क्षेत्रका तमाम मतदाताहरूको अपमान भएको महशुस गरी नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको अध्यक्ष पदलाई समेत दाउमा राखी मैलै वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरी मैदानमा उत्रेको छु ।’
प्रजापति २०७७ चैत २५ गते भएको पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए । काङ्ग्रेस सो वडामा बाबुकाजी डगोललाई आधिकारिक उम्मेदवार बनाएको छ । यता, पत्रकार महासंघ भक्तपुर शाखाले प्रजापतिको पद के हुने ? भन्दै केन्द्रमा निर्णयार्थ पत्र पठाएको छ ।
महासंघको यहीँ बैशाख ८ बसेको बैठकले कुनैपनि बहालवाला पदाधिकारी वा सदस्य स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएमा उसको पद स्वत रिक्त हुने सर्कुलर नै जारी गरेको थियो ।