सलमान खानलाई खर्चिने ठूलो रकम रोजगार सृजना गर्ने क्षेत्रमा लगानी होस्
बैशाख ९, २०७९, शुक्रबार | विहान ११:१९ बजे | 20
सत्य राम कासिछ्वा
७ महिनाभन्दा कम अवधिमा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै हिमालको सफल आरोहण गरेका कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक निर्मल पुर्जा र ओडीसी इन्टरटेनमेन्ट प्रबन्ध निर्देशक सीमान्त गुरुङले बलिउड अभिनेता सलमान खान लगायत थुप्रै भारतीय कलाकार एवं विश्व चर्चित डिस्कभरि च्यानलका होस्ट बियर ग्रिल्ज पनि ल्याउने तयारी गरेका छन् ।
हुन त २ वर्ष अघि नै बलिउड अभिनेता सलमान खान ‘दबङ रिलोडेड टुर’ का लागि नै काठमाडौं आउने तय भएको नेकपा विप्लव समूहको विरोधका कारण स्थगित भएको थियोे ।
दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’ का लागि ओडीसी इन्टरटेनमेन्ट प्रबन्ध निर्देशक सीमान्त गुरुङले सलमानलाई नेपाल ल्याउन लागेको कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए । कार्यक्रमका लागि पाँच हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट मूल्य तोकिए तापनि नेपाली युवाहरू त्यो कार्यक्रममा सरिक हुन निकै लालायित र आतुर हुन्छन् । तर आफ्नो देशप्रति माया र स्नेह प्रकट गर्ने चेष्टा पनि गर्दैनन्, हिजोआजका युवाहरू ।
कुल १८ करोड खर्च हुने अनुमान गरिएको उक्त कन्सर्ट दशरथ रंगशालामा हुने बताइएको छ । यस कन्सर्टका लागि सलमानलाई मात्र ४ करोड ८० लाख रुपैया पेमेन्ट गरिएको छ । सलमानसँग करिब १०० जनाको जम्बो टोली नेपाल आउँदैछ । उनीहरुमध्ये नौ जना सेलिब्रिटी रहनेछन् । अन्य डान्सर र वाद्यवाधकहरुले १०–१५ लाखको अनुपातमा पारश्रमिक लिएका छन् । सलमानको टोलीलाई आउने जाने र बस्ने सम्पुर्ण ब्यवस्था आयोजक आफैले गर्नेछ । सलमान खान आउने भनिए पछि उक्त कन्सर्टको सुरक्षाका लागि २ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
भारतीय बलिउड सुपर स्टार सलमान खान जेठ १४ गते नेपाल आउने भएका छन् । जसका लागि १८ करोड को बजेट छुट्टयाइएको छ। करिब २ महिना अघि देखि पर्चा पम्प्लेट तथा अन्य छापा माध्यमबाट जोडतोडका साथ प्रचारप्रसार गरिरहेको छ । जसमा करिब आधा अर्बभन्दा बढी मनोरञ्जन क्षेत्रमा खर्च हुँदै आएको छ ।
सरकारले दिने सुरक्षासँगै आफ्नो तर्फबाट पनि ७–८ सय जनाको ‘सेक्यूरिटी’ र २–३ सय जना स्वयम्सेवक परिचालन गरिने छ । सलमानको कन्सर्टका लागि टिकटको मूल्य निकै महंगो छ । न्यूनतम पाँच हजारदेखि २५ हजार रुपैयाँको टिकट राखिएको हो । आयोजकले टिकट विक्रीबाट मात्रै ३०–३५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।
२०७२ को अमानवीय नाकाबन्दी गर्ने भारतीय व्यवहार र नेपालको स्वाधीनतालाई कुल्चिएर आफ्नो देशको प्रान्तीय राज्य मान्ने तथा नेपालको प्राकृतिक स्रोत सम्पदा अतिक्रमण गर्ने सोच भएका भारतीय कलाकार सलमान खान नेपालमा सम्मानका साथ ल्याउन खोज्दा प्रतिव्यक्ति न्यूनतम पाँच हजारदेखि २५ हजार रुपैयाँको टिकट राखिएको छ। आयोजकले टिकट विक्रीबाट मात्रै ३०–३५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ । जसको केही % पनि दिन दुःखीहरु प्रति बाँडिएको हुँदैनन् । र सामाजिक कल्याणकारी काममा समेत खर्च गर्ने मनसाय आयोजकको छैन ।
यसरी विदेशी पाहुनालाई स्वागत गर्ने र मनोरञ्जन दिने नाउँमा गरिने खर्चले नेपालको आम्दानी झन् खस्किएको हुन्छ । हुन त पाहुना हाम्रा अतिथि हुन्, अतिथिले कहिल्यै नि पैसा वा पारिश्रमिक माग्दैन बरू त्यसको सेवा गरे फलिफाप हुन्छ भन्ने मान्यता नेपाली समाजमा अझै पनि छ । तर ओडीसी इन्टरटेनमेन्टका प्रबन्धक र हिमाल आरोही निर्मल पुर्जाले आफ्नो स्वार्थका लागि नेपालमा युवाहरूलाई उत्पादनमूलक काममा भन्दा बढी मनोरञ्जनमा भुलाउन उद्यत देखिन्छ ।
नेपाली सुरक्षा संयन्त्रलाई समेत खटाएर नेपालको सार्वभौमसत्तामाथि लात हान्न भारतीय कलाकार अग्रसर हुँदा नेपाली कलाकारको मौन समर्थनले नेपाली कलाकारले नै राष्ट्रियता मान्न तयार नभएको देखियो ।
यसरी १८ करोड बजेट र प्रतिव्यक्ति २५ हजार सम्म तिर्ने व्यक्तिहरुको तथा प्रचारप्रसारको ठुलो रकम एउटा विशेष रोजगार सृजना गर्ने क्षेत्रमा लगानी गरेको भए केही हजार युवाहरूलाई उत्पादनमूलक तालिम सहित स्वदेशमै स्वरोजगार दिन सकिन्छ । जसले आर्थिक प्रणालीको विकासमा थप सहयोग पु¥याउने देखिन्छ