भक्तपुर नगरपालिकाको पाँच वर्ष ः नगरवासीको नाउमा नगर प्रमुख सुनिल प्रजापतिको सम्बोधन
बैशाख ९, २०७९, शुक्रबार | विहान १०:४६ बजे | 20
भक्तपुर नगरवासी दाजुभाई तथा दिदीबहिनीहरू,
भक्तपुर देशकै सानो नगरपालिकामध्ये एक हो । यस नगरको कूल क्षेत्रफल ६.८८ वर्ग कि.मी. मात्र छ । पछिल्लो जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार भक्तपुर नगरपालिकाको जनसङ्ख्या ७८,८५४ र मतदाता सङ्ख्या ५७,२७० रहेको छ । यो नगर हाल १० ओटा वडामा विभाजित छ । यस नगरमा कृषकहरूको बाहुल्यता छ । जनसंख्याको बृद्धिसँगै यहाँ कृषि योग्य जग्गा जमिन कम हुँदै गएको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकामा हामी भारी मतले विजयी भयौँ । भक्तपुरका जनताले नेमकिपाका प्रमुख सुनिल प्रजापतिलाई २५,७३० मत र उपप्रमुख रजनी जोशीलाई २५,७११ मत दिएर विजयी बनाउनु भयो । निकटम प्रतिद्वन्दी नेकाका प्रमुख उम्मेदवारले ६,५६० मत र उपप्रमुखले ६,५८७ मत मात्र प्राप्त गर्नु भएको थियो । भक्तपुरवासी जनताले नेपाल मजदुर किसान पार्टीलाई अपार माया र विश्वास गरी नगर प्रमुख र उपप्रमुखसहित सम्पूर्ण वडामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउनु भयो र पाँच वर्षसम्म जनताको सेवा गर्ने अवसर दिनुभयो । हाम्रो कार्यकालमा नगरपालिकाको तर्फबाट जे जति कामहरु भए ती सबै कामहरुमा भक्तपुरवासी दाजुभाइ दिदीबहिनीहरुको निरन्तर साथ र सहयोग प्राप्त भयो । हामी सम्पूर्ण जन प्रतिनिधिहरुको तर्फबाट भक्तपुरवासी जनताप्रति हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछौँ ।
हामीले २०७४ साल जेठ ७ गते सपथ ग्रहण गरी सोही मितिदेखि नगर र
नगरवासीहरुको हितलाई केन्द्रमा राखी काम गर्दै आयौँ । १५ वर्षसम्म जनप्रतिनिधिविहीन अवस्था, २०७२ सालको भूकम्पबाट पूरै नगर क्षत विक्षतको स्थिति, नयाँ संविधान र सङ्घीयता कार्यान्वयन गर्नु पर्ने बेला निर्वाचित भएको हँुदा हाम्रो सामु विकास निर्माणलगायत थुप्रै चुनौतीहरु थिए । इमानदारीपूर्वक जनताको सेवा गर्ने भावनाले जनताकै साथ र सहयोगमा विकास निर्माणलगायत जनताका सरोकारका कामलाई प्राथमिकतामा राखी अगाडि बढ्यौं । यस अवधिमा हामीले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाई लगायत नगर र नगरवासीहरूको जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरुका साथै थुप्रै विकास निर्माणका कामहरु सम्पन्न ग¥यौं । ङातापोल्हँ मन्दिर, भैरवनाथ मन्दिर, नृत्य वत्सला मन्दिर, न्हू पुखू (रानी पोखरी) लगायतका सम्पदाहरुको पुनःनिर्माण÷जीर्णोद्धार सम्पन्न हुनु हाम्रो कार्यकालका उल्लेख्य कामहरु हुन् ।
‘कला—संस्कृतिको नगर’, ‘नाचगानको राजधानी’ उपनाम पाएको यस
नगरलाई पछिल्लो चरणमा जर्मन वास्तुविद् नील गुत्सोले ‘संसारको जीवित सङ्ग्रहालय’ भनी परिभाषित गर्नु भएको छ । आकारले सानो यो नगरलाई ‘ज्ञान विज्ञानको केन्द्र’, पर्यटकीय गन्तव्यस्थल बनाउने हाम्रा अग्रजहरुले सुरु गर्नुभएको अभियानलाई हामीले निरन्तरता दिँदैछौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको भविष्यको कल्पना गर्दै २०५९ असोजमा ‘सय वर्षपछिको भक्तपुर’ नामक एक पुस्तक प्रकाशित गर्नुभयो । त्यो पुस्तकलाई हामी जनप्रतिनिधिहरुले काम गर्ने पथप्रदर्शक मानेर काम गर्दै आयौं । हामी भक्तपुरलाई सफा, सुन्दर र शान्त नगरको रुपमा विकास गर्ने कोसिस
गर्दैछौं । जनताको साथ र सहयोगले काम गर्न हामीले सहज महसुस गरेका
छौं । जनप्रतिनिधि, कर्मचारी र जनताबीचको राम्रो समन्वयले भक्तपुर नगर आजको अवस्थामा आई पुग्न सम्भव भएको हो ।
हामीले स्थानीय तहको स्वायत्ततालाई विशेष ध्यान दिएका छौँ । स्वायत्तता माथि कहीं कतैबाट हुने हस्तक्षेपलाई हामीले अस्वीकार गर्दै आयौँ । सङ्घीयता संविधानले अङ्गीकार गरी सक्दा पनि सिंहदरबारमा बस्ने पदाधिकारीहरुले एकात्मक सोच त्याग्न सकेनन् । स्थानीय तहले गर्ने विभिन्न काममा बाधा हाल्ने र स्वतन्त्र रुपमा काम गर्न नदिई स्थानीय तहलाई विभिन्न नाउँमा नियन्त्रण गर्न खोजे । केन्द्र र प्रदेशले स्थानीय तहलाई दिने विशेष अनुदानमा वृद्धि गर्नुको सट्टा संघीयता र संविधानको भावनाविपरीत सशर्त र समपूरक बजेटमा वृद्धि गर्ने नीति लिए । स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार नदिई केन्द्र र प्रदेशले कर्मचारी नियुक्ति गरी पठाउनु, प्रदेशले कर्मचारीको सरुवा बढुवा गर्नु र स्थानीय तहले तलब खुवाएका शिक्षकहरुलाई केन्द्र मातहत राख्नु स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप हो । आर्थिक ऐन, नियमावली विपरीत स्थानीय तहलाई उपभोक्ता समितिमार्फत काम गराउन रोक लगाउन सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रालयले परिपत्र गर्नु, निरन्तर सञ्चालन भइरहेको ख्वप बहुप्राविधिक अध्ययन संस्थानलाई ‘आफ्नै’ १०० शøयाको अस्पताल नभएको भनी शिक्षा मन्त्रालयले नर्सिङको भर्नामा रोक लगाउनु केन्द्र सरकारका जनविरोधी कामहरु हुन् । यस्ता थुप्रै चुनौतीहरुबीच भक्तपुर नगरपालिकाले जनताको हितलाई ध्यानमा राखी काम गर्दै आयो ।
भक्तपुर नगरपालिकाको आय–व्ययसम्बन्धी विवरण हरेक वर्ष जनता समक्ष प्रस्तुत गर्दै आएका छौँ । यस आर्थिक वर्ष २०७८।७९ को आय व्यय र नगरपालिकामा हामी निर्वाचित भएदेखि हालसम्म गरेका केही महŒवपूर्ण गतिविधिहरु र विकास निर्माणलगायतका विषयमा नगरवासीहरुको जानकारीको निम्ति संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्छौँ ः
खर्चतर्फ ः
यस नपाको आ.व. २०७८।७९ मा चालु खर्च शीर्षकमा रु. १,१०,२२,१७,२०० (एक अर्ब दश करोड बाइस लाख सत्र हजार दुई सय) र पुँजीगत खर्च शीर्षकमा रु. ८२,९७,८२,८०० (बयासी करोड सन्तान्नब्बे लाख बयासी हजार आठ सय) गरी कूल रु. १,९३,२०,००,००० (एक अर्ब त्रियानब्बे करोड बीस लाख) विनियोजन भएकोमा आ.व. २०७८।७९ को वैशाख ७ गते सम्ममा चालु शीर्षकतर्फ रु. ६९,८३,६२,००२ (उनान्सत्तरी करोड त्रियासी लाख बैसठ्ठी हजार दुई) मात्र खर्च भई विनियोजित रकमको ६३.३५ प्रतिशत खर्च भएको छ भने पुँजीगत शीर्षकतर्फ रु. ३२,३१,५१,६९४ (बत्तीस करोड एकत्तीस लाख एकाउन्न हजार छ सय चौरानब्बे) खर्च भई विनियोजित रकमको ३८.९४ प्रतिशत खर्च भएको छ । यस आ.व.मा कूल विनियोजित बजेटको ५१.१४ प्रतिशत रकम खर्च भइसकेको छ ।
आयतर्फ ः
आन्तरिक स्रोततर्फ चालु आ.व. २०७८।७९ को वैशाख ७ गतेसम्म करीब ९ महिनाको अवधिमा १४ करोड ६७ लाख राजश्व सङ्कलन भयो । गत वर्ष सोही अवधिमा करिब रु. ९ करोड ६२ लाख सङ्कलन भएको थियो । यस वर्ष रु. ५ करोड ५ लाखले राजश्व सङ्कलन वृद्धि भएको छ । पर्यटनतर्फ गत वर्षको तुलनामा रु. २ करोड ५ लाखले वृद्धि भयो भने गैर पर्यटनतर्फ रु. ३ करोड वृद्धि भएको छ । यस आ.व. २०७८।७९ मा गैर पर्यटनतर्फ विभिन्न कर दस्तुरमा रु. १६ करोड अनुमान गरिएकोमा वैशाख ७ गतेसम्मको ९ महिनाको अवधिमा रु. १२ करोड १२ लाख (७५ प्रतिशत) सङ्कलन भयो । पर्यटन शुल्कमा आ.व. २०७८।०७९ मा रु. १० करोड अनुमान गरिएकोमा कोभिड १९ महामारीको कारण २०७९ वैशाख ७ गतेसम्ममा रु. २ करोड ५५ लाख मात्रै सङ्कलन भयो । यो पर्यटन तर्पm लक्ष्यको २५.५ प्रतिशत हो ।
शिक्षाः
शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएको भक्तपुर नगरपालिकाले ‘एक घर एक स्नातक’ अभियानलाई पूर्णता दिने क्रमलाई निरन्तरता दिँदै थप विकासको निम्ति आवश्यक व्यवस्था गर्दै आयो । कुनै पनि नगरवासी विद्यार्थी आर्थिक कारणले उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नहोस् भनी नगरपालिकाले गरिब विद्यार्थीलाई रु. ५ लाखसम्म शैक्षिक ऋण प्रदान गर्ने नीतिअनुसार हाल ३१४ जना शैक्षिक ऋण लिएर उच्च शिक्षा अध्ययनरत छन् । नपाद्वारा सञ्चालित कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि वार्षिक करिब ३ करोड रुपैयाँ बराबर छात्रवृत्ति प्रदान गर्दै आएको र इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषा तथा संस्कृति पढ्ने नगरवासी विद्यार्थीहरुलाई वार्षिक थप लाखौँ रुपैँया बराबर छात्रवृत्तिको व्यवस्था गर्दै आएको जानकारी गराउन चाहन्छौँ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम बनाई नगरभित्र सञ्चालित सबै विद्यालयहरुमा लागू गर्दै आएका छौँ । यसरी सबै कक्षाको पाठ्यक्रम बनाई लागू गर्ने सम्भवतः भक्तपुर पहिलो नगरपालिका हो । स्थानीय पाठ्यक्रममार्फत नयाँ पुस्तालाई भक्तपुरको इतिहास, भूगोल, कला—संस्कृति, सम्पदा संरक्षण, मौलिक सीप तथा प्रविधि र विशिष्ट व्यक्तित्वहरुको जीवनीबारे जानकारी दिने प्रयास गर्दै आएका छौँ । शैक्षिक गुणस्तर माथि उठाउन कक्षा ५ र ८ को नगरस्तरीय
परीक्षाको बन्दोबस्त र सामूदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि समय समयमा दिँदै आएको सहयोगको अतिरिक्त थप भौतिक सुधार गर्न आर्थिक सहयोग प्रदान गरेका छौँ ।
भक्तपुर नपाद्वारा सञ्चालित ७ ओटा शैक्षिक संस्थाहरुमा हाल ७२ जिल्लाका करिब ७ हजार विद्यार्थी अध्ययनरत छन् । सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता केही हदसम्म हामीले पूरा ग¥यौँ । ख्वप इन्जिनियरिङ कलेज पूर्वाञ्चल विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त ११७ कलेजहरुमध्ये सर्वोकृष्ट घोषणा गर्दै २०७६ सालमा सम्पन्न २६ औँ वार्षिक जयन्ती तथा रजत महोत्सवमा पूर्वाञ्चल विश्वविद्यालयले सम्मान ग¥यो भने २०७८ सालमा
स्नातकोत्तरमा उक्त विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीमध्ये ख्वप इन्जिनियरिङ कलेजका इ. सन्तोष कटुवाल सर्वोत्कृष्ट हुन सफल भयो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप इन्जिनियरिङ कलेजले पनि गुणस्तरीय प्राविधिकहरु उत्पादन गर्दै आएको छ । २०७८ सालमा उक्त कलेजमा अध्ययनरत छात्र रमण श्रेष्ठ त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये सर्वोत्कृष्ट हुन सफल भएको छ । हरेक वर्ष भक्तपुर नगरपालिकाले ती दुई कलेजबाट ४३२ जना इन्जिनियरहरु उत्पादन गर्दै र विभिन्न विषयमा स्नातकोत्तर तहसम्म शिक्षा प्रदान गर्दै आएका छन् ।
विद्यार्थीमा पठन संस्कृतिको विकासको लागि जनज्योति पुस्तकालयलाई सुविधासम्पन्न बनाउनुका साथै वडा वडामा रहेका पुस्तकालयहरूलाई पनि थप व्यवस्थित गर्ने प्रयास ग¥यौँ । पुस्तकालय समितिको प्रतिवेदनको आधारमा आवश्यकता अनुसार प्रत्येक वडामा सञ्चालित पुस्तकालयहरुलाई आर्थिक सहयोगको नीति बनाई लागू गर्दैछौं । भक्तपुर नगर भित्र सञ्चालित सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर विकासको लागि समय समयमा अनुगमनको व्यवस्था गर्दै आएका छौँ ।
स्वास्थ्य ः
नगरवासीहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पताललाई १०० शøयाको बनाउने तयारी अगाडि बढायौँ । हाल २५ शøयाको स्वीकृति प्राप्त उक्त अस्पतालले दैनिक ६०० जनाभन्दा बढी बिरामीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ । इन्टरनल मेडिसिन, हाडजोर्नी, स्त्री रोग, बाल रोग, दन्त रोग, नाक–कान–घाँटी, छालालगायतमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको उक्त अस्पताल सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दैछौँ । ख्वप अस्पतालले आ.व. २०७७÷७८ मा ४० जिल्लाका १,१२,०२२ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्यो भने २०७८÷७९ को ९ महिनामा १,२५,९८५ जनालाई उपचार सेवा प्रदान गरेको छ भने श्वासप्रश्वास पुनस्र्थापना केन्द्रले २७६ जनालाई सेवा प्रदान गरेको छ । जनताको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने हाम्रो उद्देश्य अनुसार अस्पतालले दैनिक ११ घण्टा ओपिडी सेवा प्रदान गर्दै आएकोमा सार्वजनिक बिदाका साथै शनिबारमा समेत
सेवा प्रदान गर्दै आएको छ । वडा वडामा स्वास्थ केन्द्रहरु निर्माण गरी
नगरवासीहरूलाई छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्ने नीतिअनुसार भक्तपुर नपा वडा नं. २ व्यासी, वडा नं. ५ भगवती स्थान र वडा नं. १ सल्लाघारीमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरी सेवा प्रदान गर्दै आएकोमा वडा नं. १० मा पनि आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइरहेको छ ।
कोरोना भाइरसको महामारीको कारण भक्तपुरवासीहरुले पनि निकै पीडा भोग्नुप¥यो । जनताको समस्या सम्बोधन गर्न
नगरवासीहरुकै सहयोगमा भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरी सम्पूर्ण नगरवासीलाई निःशुल्क अक्सिजन वितरण गर्दै आएको छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार खोप नै कोरोना रोगबाट बच्ने भरपर्दो उपाय भएको तथ्यलाई ध्यानमा राखी वडा वडामा खोप केन्द्रहरु स्थापना गरी व्यापक रुपमा खोप अभियान चलायौँ । भक्तपुर नगरपालिकाले हालसम्म मोर्डना २५,४०१, भेरोसेल १,१७,११०, कोभिशिल्ड १५,९९७ र जोनसन ३,८९६ गरी कोभिड सम्बन्धी जम्मा १,६२,४०४ तथा टाईफाईड २७,३११ मात्रा समेत गरी यस अवधिमा कूल १,८९,७१५ मात्रा खोप लगाइसकेको छ ।
त्यसैगरी नगरस्तरीय नागरिक आरोग्य केन्द्रले साउनदेखि चैत्र मसान्तसम्मको ९ महिनामा १,८५४ बिरामीलाई आयुर्वेदिक उपचार सेवा प्रदान गर्यो भने सामुदायिक आँखा केन्द्रबाट विगत ९ महिनामा २०,५८२ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ ।
नगरवासीहरुको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्न घरदैलो नर्सिङ
सेवा सुरु गरिएकोमा त्यसलाई अझ प्रभावकारी बनाउँदै लाने प्रयास गर्दैछौँ । कडा रोगहरु मुटु, मस्तिष्कघात, क्यान्सर, मृगौला रोग लागेकाहरुलाई पहिले प्रति व्यक्ति रु. १०,०००।– का दरले आर्थिक सहयोग प्रदान गर्दै आएकोमा हाल रु. १५,०००।– आर्थिक सहयोग गर्दै आएका छौँ । विगत ९ महिनामा १६७ जना बिरामीहरुलाई जम्मा रु. २५,०५,००० आर्थिक सहयोग प्रदान गरियो । आ.व. २०७५÷७६ देखि हालसम्म कूल ६४५ जना बिरामीहरुलाई जम्मा रु ७१,८०,०००।– आर्थिक सहयोग प्रदान गरिएको छ ।
ज्येष्ठ नागरिकहरुको लागि आदर निकेतन सञ्चालनका लागि भक्तपुर नपा वडा नं. ६ अँचा पोखरी परिसरमा भवन निर्माण भइरहेको छ । वडा वडामा नियमित रूपमा पाठेघर र स्तन क्यान्सर परीक्षण, दन्त शिविर, हाडजोर्नी तथा आँखा शिविरहरु सञ्चालन गर्दै आएका छौँ ।
सम्पदा तथा कला–संस्कृति संरक्षण र विकास निर्माण ः
‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नारालाई सार्थक बनाउन हामी प्रयासरत छौँ । पुर्खाले सिर्जेका सम्पदाहरु हाम्रा अमूल्य निधि हुन् । त्यसको संरक्षण र सम्बद्र्धन गर्नु हाम्रो कर्तव्य हो । जनप्रतिनिधिको रुपमा हामी निर्वाचित भएपछि भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धारमा जोड दियौँ । जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीति लियौँ । उपभोक्ता समितिमार्फत काम गराउँदा स्थानीय श्रोत साधन तथा सीप र प्रविधिको प्रयोग हुने, सम्पदाप्रति अपनत्व कायम हुने, गुणस्तरीय निर्माण हुने र स्थानीय जनताले रोजगारी पाउने भएको हुँदा नगरपालिकाले आन्तरिक श्रोतबाट हुने अधिकांश विकास निर्माणका कामहरुलाई उपभोक्ता समितिमार्फत गर्दै आएको हो । अहिले कतिले यसलाई ‘ख्वप मोडल’ पनि भन्ने गरेका छन् । सम्पदा पुनःनिर्माण र जीर्णोद्धारको काम ठेक्काबाट गर्न नहुनेमा हामी स्पष्ट छौँ । यद्यपि सङ्घ र प्रदेशको बजेटबाट हुने अधिकांश काम ठेक्काबाट सम्पन्न गर्नुपर्ने हाम्रो बाध्यता हो । जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्पmत पारदर्शी ढङ्गले गुणस्तरीय काम सम्पन्न गर्दै आयौँ । यही नै हाम्रो विशेषता हो ।
हामी विदेशीसँग सहयोग मागेर बनाएका सम्पदाहरुबाट खुशी हुनुभन्दा
आप्mनै पौरखमा जीर्णोद्धार र पुनःनिर्माण भएको सम्पदाहरुप्रति गर्व गर्छौँ ।आत्मनिर्भर भएर बाँच्ने नेमकिपाले सिकाएको महŒवपूर्ण शिक्षा हो । भूकम्पपछि नेपाल सरकार र जर्मनी सरकारबीच भक्तपुरको सम्पदा पुनःनिर्माणको लागि रु. १ अर्ब २० करोड (१ करोड युरो) सहयोग सम्झौता भएकोमा सम्झौताका बुँदाहरु हाम्रो हितमा नभएको कारण हामीले त्यो सहयोगलाई स्वीकार गरेनौं ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त र अन्य गरी १३८ भन्दा बढी सम्पदाहरुमध्ये अधिकांश सम्पदाहरुको जीर्णोद्धार र पुनःनिर्माण सम्पन्न भएका छन् । २६ ओटा मन्दिर, ४२ ओटा पाटी, ८ ओटा द्यःछें, ४ ओटा प्रवेशद्वार, ११ ओटा पोखरी, ७ ओटा इनार, ८ ओटा सत्तल पाटी, ७ ओटा ढुङ्गेधारा र ९ ओटा अन्य गरी हालसम्म १२२ ओटा सम्पदाहरूका जीर्णोद्धार सम्पन्न भएका छन् । यसबीच खौमा ढोका, वत्सला मन्दिर पुनःनिर्माण, ङातापोल्हँ र भैरवनाथ मन्दिर जीर्णोद्धार सम्पन्न भयो भने गय्ःभिन्द्यो पुल, भनपा १ स्थित रानीपोखरी र छिपा ताँ पुनःनिर्माण सम्पन्न भएका छन् । त्यसैगरी बाराही पुल, हनुमानघाट पुल, ब्रम्हायणी पुल, धाँलाखुसी र लिवाली पुल निर्माणाधीन अवस्थामा छन् । भक्तपुरको दूधपाटीदेखि च्याम्हासिंहसम्म नगरको मूल सडक, बाराही स्थान र नगरका विभिन्न ठाउँमा समेत गरी ६.२४ कि.मी. ढुङ्गा छपाइ, १०.५० कि.मी. इँटा छपाइ र कमलविनायक, तुमचो दुगुरे र लिबाली आवास योजनालगायतका विभिन्न सडकहरुमा गरी करिब १८.४६ कि.मी. कालोपत्रे गर्ने काम सम्पन्न भयो । भनपा वडा नं. ७ मा सुधारिएको शव दाहगृह र भाज्या पुखूको पुनःनिर्माण कार्य अन्तिम चरणमा छ । लक्ष्मीनरसिंह मन्दिर, इखालाछी मठ निर्माणाधीन अवस्थामा छन् भने खोला सुधार र ऐतिहासिक महŒवका घाट सुधारका कामहरु भइरहेका छन् ।
नगरभित्रका अमूर्त सम्पदाहरुको संरक्षणको लागि हरेक वर्ष एउटा विधाको सांस्कृतिक प्रतियोगिता गर्ने निर्वाचन घोषणापत्रअनुसार पहिलो वर्ष बाँसुरी, दोश्रो वर्ष धाँ, तेश्रो वर्ष धिमाय् र पाँचौं वर्ष पछिमा बाजा प्रतियोगिता सम्पन्न ग¥याँै । चौथो वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण २०७७ सालमा प्रतियोगिता गर्न सम्भव भएन । प्रतियोगिता सँगै हरेक वर्ष सांस्कृतिक गुरुहरुको सम्मान गर्दै आएका छौँ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ९(३) बमोजिम नगरको
पुरानो सहरलाई सीमाङ्कन गरी सांस्कृतिक क्षेत्र घोषणा गरी पुरानो शहरलाई जीवन्तता दिन जोड दियौँ । प्राचीन नगरको संरक्षण गर्न सांस्कृतिक क्षेत्रमा घर जग्गा स्थानीयवासीहरूबीच मात्रै खरिद–बिक्री गर्ने कानुनी व्यवस्था गरिएकोमा केही सम्पदा विरोधीहरुले सर्वोच्च अदालतमा नगरपालिकाको निर्णयलाई चुनौती दिँदै मुद्दा दिएपछि अदालतको अन्तरिम आदेशको कारण त्यो कार्यान्वयनमा बाधा
पुगेको छ । अदालतले सम्पदा संरक्षणको पक्षमा निर्णय दिने अपेक्षा गर्दछौं ।नगरको मौलिक स्वरुप बचाइ राख्न परम्परागत शैलीमा घर बनाउने घर धनीहरुलाई मोहडामा लाग्ने काठ, इँटा र झिँगटीको लागि हुने खर्चको ३५ प्रतिशत अनुदान प्रोत्साहन स्वरुप प्रदान गर्दै आएका छौँ । हालसम्म जम्मा ४२ ओटा घरलाई रु १ करोड २३ लाख ८४ हजार ९९८ रुपैयाँ अनुदान प्रदान गरिसकेका छौँ ।
भनपा वडा नं. ५ स्थित जगन्नाथ क्षेत्र संरक्षणको लागि डा.
पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा गठित जगन्नाथ क्षेत्र अध्ययन तथा उत्खनन समितिले २०७९ वैशाख ५ गते प्रतिवेदन बुझाइसकेको छ । उक्त क्षेत्रको उत्खनन गर्न प्रतिवेदनले सहयोग गर्ने आशा गर्छौँ ।
बजार अनुगमन ः
उपभोक्ताको हितलाई ध्यानमा राखेर नगरपालिकाले नियमित बजार अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा पसल नवीकरण नगरिएको, सरसफाइमा कमी, नियमानुसार नापतौल नवीकरण नभएको, मिसावट सामग्री र म्याद नाघेका वस्तुहरु बिक्री गर्ने गरेको, अखाद्य तेल रंग प्रयोग भएको, खाद्य मापदण्ड पालना नगरी वस्तुहरुको बिक्री वितरण गर्ने, औषधी जन्य वस्तुहरुको अनुगमन गर्दा अनियमितता पाइएको हुँदा त्यस्ता व्यापारीहरुलाई नियमानुसार
कारबाही गर्दै आएका छौँ । सडक पेटीमा जथाभावी सामान बेच्ने, तोकिएको भन्दा बढी मूल्य असुल गर्ने र गुणस्तरहीन सामान बेचविखन गर्नेहरुलाई पनि कानून बमोजिम कारबाही गर्दै व्यवस्थित गर्ने प्रयास गर्दै आयौँ ।
खेलकुद ः
हरेक वर्ष एउटा खेलको अन्तर नगर खेलकुद प्रतियोगिता सम्पन्न गर्ने निर्वाचन घोषणापत्रमार्पmत प्रतिबद्धता गरे अनुसार खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ । पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष क्रमशः भलिबल, कराँते, एथलेटिक्स र बुद्धिचाल प्रतियोगिता सम्पन्न ग¥यौँ भने पाँचौ वर्षमा विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण अन्तर नगर खेलकुद प्रतियोगिता गर्न सम्भव नभए पछि वडा वडामा खेलकुद गतिविधि सकृय बनाउने उद्देश्यले प्रत्येक वडामा एक एक ओटा खेल प्रतियोगिता सम्पन्न ग¥यौँ । जस्तोसुकै प्रतिकूलताबीच पनि हामीले खेलकुद गतिविधिमा कुनै कमी आउन दिएनौँ ।
हरेक वर्ष अन्तर विद्यालय खेलकुद प्रतियोगिता पनि सम्पन्न गर्दै आएका छौं । सबै नागरिकहरुलाई खेलकुदको माध्यमबाट स्वस्थ राख्ने प्रयास गर्नुका साथै प्रत्येक वडामा व्यायामशालाहरु स्थापना गरी शारीरिक व्यायाम नागरिक जीवनको एक महŒवपूर्ण हिस्सा बनाउने प्रयास ग¥याँै । हालसम्म नगरका हरेक वडामा २ ठाउँमा र कलेजहरुमासमेत गरी २३ ठाउँमा खुल्ला व्यायामशालाहरु स्थापना गरी नगरवासीहरूलाई व्यायामका अवसरहरु प्रदान गर्दै आएका छौं । भलिबल, फूटबल, बक्सिङ, जिम्नेस्टिक, टेबुल टेनिस र कराँते गरी विभिन्न ६ ओटा खेलको नियमित प्रशिक्षणका साथै विद्यालयहरुमा खेलकुद प्रशिक्षण दिन पूर्णकालीन प्रशिक्षकको व्यवस्था गर्दै आएका छौं । विद्यालयहरुमा छात्राहरुका लागि आत्मरक्षासम्बन्धी तालिमलाई पनि निरन्तरता दिंदैछौँ । वडा वडामा खेलकुद समितिहरु गठन गरी युवाहरुलाई खेलकुद गतिविधिमा सहभागी बनाउने हाम्रो प्रयास जारी छ । कमलविनायक कभर्ड हलमा बक्सिङ रिङको व्यवस्था गरिएको छ ।
भनपा वडा नं. ८ स्थित लिवालीमा खेलकुद कभर्ड हल निर्माण सम्पन्न भयो भने वडा नं. १० मा टेबुल टेनिस कभर्ड हल निर्माणाधीन अवस्थामा छ । खेलाडीहरुको चाहनालाई ध्यानमा राखी आवश्यकताअनुसार कभर्ड हल निर्माण कार्यलाई जोड दिँदैछौँ ।
हरेक वर्ष खेलाडी सम्मान कार्यक्रम गर्दै आएका छौँ भने कोभिडको समयमा अनलाइन मार्पmत व्यायाम प्रशिक्षण दियौँ ।
सरसफाइ तथा वातावरण सुधार ः
फोहोरमैला व्यवस्थापन हाम्रो ठूलो चुनौती हो । जस्तोसुकै अप्ठेरो स्थितिमा पनि नगरको सरसफाइमा कमी आउन दिएनौँ । हनुमन्ते खोला र कासान खोला सुधारको लागि फोहोरलाई प्रशोधन गर्न नगरको दुई ठाउँमा सल्लाघारी र हनुमानघाटमा उपचार पोखरी निर्माणको लागि पहल ग¥यौँ र हाल ती उपचार पोखरीहरु निर्माणाधीन छन् । नेपाल सरकार आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) सँगको सहयोग र समन्वयमा भइरहेको उक्त कामले तीव्रता पाउँदैछ ।
नगरको वातावरण सुधारको लागि सडकका किनारामा रुख रोप्ने, पुराना शहरका महŒवपूर्ण सम्पदा क्षेत्रमा हरियाली प्रबद्र्धन गर्ने तथा हरेक महिनाको १ र १५ गते नियमित सर–सफाइको आयोजना गरी भक्तपुरलाई स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने काममा जोड दिंदै आएका छौँ । ‘एक विद्यालय, एक सम्पदा सर सफाइ’ नीतिलाई लागू ग¥यौँ । कोभिड महामारीको समयमा पनि सुरक्षा नीति अपनाई सरसफाइलाई निरन्तरता दियौँ ।
खानेपानी ः
खानेपानी भक्तपुर नगरको स्थायी समस्या जस्तै बनिरहेको छ ।
खानेपानीको आप्mनै श्रोत नहुनु, नगरकोट र बोडेको पानीको भर पर्नुपर्ने कारणले नगरवासीहरुले खानेपानीको ठूलो समस्या भोग्दै आएका छन् । सम्भव भएका विभिन्न ठाउँहरुमा ११ ओटा डीप बोरिङ गरी वडा वडामा खानेपानी सहज वितरणको व्यवस्था मिलाउँदै आयौँ । खानेपानीको स्थायी समाधानको लागि मेलम्चीको भर पर्नु बाहेक हामीसित अर्को विकल्प छैन । त्यसको निम्ति निरन्तर प्रयास जारी छ । हाल कटुञ्जेमा ट्याड्ढी निर्माण कार्य सम्पन्न भइसकेको छ । खानेपानीको अस्थायी समस्या समाधान गर्न समय समयमा नगरपालिकाले ट्याङ्करबाट पानी वितरण गर्दै आएको छ । खानेपानी वितरणको लागि पाइप सुधार गरिएको छ ।
क्यान्सर अस्पताल सरकारी स्वामित्वमा ः
भक्तपुर नगरपालिका वडा नं. १ स्थित सार्वजनिक जग्गामा निर्मित भक्तपुर क्यान्सर अस्पताल केही वर्ष अघिसम्म एउटा एनजीओले संचालन गर्दै आएको थियो । सरकार, विदेशी अनुदान र नगरपालिकाको जग्गामा सञ्चालित उक्त अस्पतालका संचालकहरुले सबै निजी सम्पत्तिको रुपमा ब्रम्हलुट गरी अकुत सम्पत्ति कमाइरहेको र अस्पतालमा भइरहेको व्यापक भ्रष्टाचार सार्वजनिक भएपछि नगरपालिकाले सरकारी स्वामित्वमा ल्याउन पहल ग¥यो । लामो विवादपछि अन्ततः उक्त अस्पताल सङ्घीय सरकारको मातहतमा गएको छ । त्यसबाट जनतालाई सस्तो र गुणस्तरीय उपचार सेवा प्राप्त भइरहेको छ । भक्तपुर क्यान्सर अस्पताल सरकारीकरण हुनु हाम्रो कार्यकालको एउटा महŒवपूर्ण उपलब्धि हो । त्यस्तै भक्तपुर अस्पताल व्यवस्थापन समितिमा नगरपालिकाको प्रतिनिधित्व भएपछि क्रमशः सुधार हुँदै गयो । गत वर्ष उक्त अस्पताल बागमती प्रदेशकै उत्कृष्ट घोषित भयो । सरकारी स्वामित्वमा रहेका अस्पतालहरुमा सुधार भएमा जनतालाई स्वास्थ्य उपचारमा सहज पुग्ने भएको हुँदा हाम्रो ध्यान त्यसमा केन्द्रित भयो ।
सहकारी सम्बन्धमाः
भक्तपुर नगर भित्र सञ्चालित १५४ ओटा सहकारीहरुलाई सहकारी सिद्धान्तअनुसार सञ्चालन गर्न नगरपालिकाले समय समयमा अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा देखिएका कमी कमजोरी सुधारको लागि सुझावहरु दिने र त्यसको कार्यान्वयन गराउने प्रयास गर्दै आएको छ । साथै भक्तपुर नगरपालिकाको सहकारी ऐन विपरीत नगरपालिकाको स्वीकृति बिना सञ्चालित बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई कानून विपरीत सञ्चालन नगर्न सचेत पार्ने काम पनि गर्दै आएका छौँ ।
देको–मिवा–इतापाके आवास योजना ः
भक्तपुर नगरलाई व्यवस्थित शहरको रूपमा विकास गर्न भनपा वडा नं. २ र ६ मा १६५४ रोपनीमा देको मिवा इतापाके आवास योजना सञ्चालन भइरहेको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी भएको उक्त योजनामा जनताको गुनासो सम्बोधन गर्ने क्रममा र कोभिडको कारणले केही ढिलाई हुन गएको हो । यद्यपि चरणबद्ध रूपमा जग्गा फिर्ता दिने काम अगाडि बढाइएको छ । हाल जग्गा फिर्ता गर्ने क्रम चालू छ । जनताका समस्याहरुलाई क्रमशः सम्बोधन गर्दै अगाडि बढिरहेका छौँ ।
प्रकाशन तथा सञ्चार ः
भक्तपुर नगरपालिकाका हरेक गतिविधिबारे जनतालाई जानकारी दिने उद्देश्यले मासिक ‘भक्तपुर’, नेपाल भाषाको पाक्षिक ‘ख्वप पौ’
निरन्तर प्रकाशित गर्दै आएका छौँ । त्यसैगरी अनलाइन पत्रिका ‘भक्तपुर खबर डट कम’, ‘भक्तपुर म्युनिसिपालिटी’ फेसबुक पेज र भक्तपुर एफएम मार्फत ‘ख्वप सः’ कार्यक्रमलाई पनि निरन्तरता दिएका छौँ ।
नगरपालिकाद्वारा महŒवपूर्ण सम्पदाहरु जीर्णोद्धारपछि त्यसका सम्पूर्ण विवरणसहित ‘भैरवनाथ मन्दिर जीर्णोद्धार (२०७६)’, भक्तपुरका विभिन्न पक्षबारे जानकारी दिने
उद्देश्यले स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्री ‘ख्वपको पहिचान’ भाग १ (२०७६), पुनःनिर्माण र जीर्णोद्धार
गरिएका सम्पदाहरुको संक्षिप्त विवरणसहित फोटो पुस्तक ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्घार –२०७७’, भक्तपुर नपाले गरेका अभ्यासहरुलाई समेटेर प्रकाशित गरेको ‘हाम्रो अभ्यास’ (२०७७), ‘ङातापोल्हँ जीर्णोद्धार—२०७७’, ‘ख्वपको पहिचान भाग २ (२०७८)’ प्रकाशित भइसकेको छ भने भाग ३ प्रकाशोन्मुख अवस्थामा छ । त्यसैगरी यस वर्ष ‘वत्सला मन्दिर जीर्णोद्धार—२०७८’, ‘न्हू पुखू (रानी पुखू) जीर्णोद्घार २०७८’ र ‘संचार माध्यममा भक्तपुर नगरपालिका (२०७८)’ पुस्तक प्रकाशित भइसकेको छ । त्यसैगरी भक्तपुरका विभिन्न पक्ष समेटिएका महŒवपूर्ण पुस्तकहरु प्रकाशित गर्दै जाने नीति लिएका छौँ । यसले भविष्यमा भक्तपुरबारे बुझ्न र अध्ययन अनुसन्धान गर्न चाहनेहरुको लागि मद्दत मिल्ने हाम्रो विश्वास छ ।
निजी आवास पुनःनिर्माण ः
२०७२ सालको भूकम्पले झण्डै ८ हजार घरमा आंशिक र पूर्ण क्षति भएको थियो । तीमध्ये ७,६५६ परिवारको लाभग्राही सूची प्रकाशन भएकोमा ५६८१ लाभग्राहीले अनुदान सम्झौता गरेको, ५,६८० परिवारले पहिलो किस्ताबापत रु. ५०,०००।– पाए भने हालसम्म दोस्रो किस्ता लिनेहरुको सङ्ख्या २,३९८ र तेस्रो किस्ता लिनेहरुको सङ्ख्या २,२३० रहेको छ ।
सीपमूलक तालिमहरु ः
युवाहरुलाई सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउनेतर्फ भक्तपुर नपाले निरन्तर जोड दिँदै आएको छ । कृषिसम्बन्धी माटो परीक्षण, कीटनाशक औषधिको प्रयोग, उन्नत जातको वीउबाट उत्पादन तथा कृषि प्राविधिक नर्सरी सम्बन्धी, च्याउ खेती, बेमौसमी तरकारी
खेतीसम्बन्धी तालिमहरुलाई निरन्तर सञ्चालन गर्दै आएका छौँ । सिजनअनुसार किसानहरुको लागि उन्नत जातको बीउ वितरण गर्दै आएकोमा हालसम्म धान ७४,००० केजी, गहुँ ३५००० केजी र आलु ४०,००० केजी बीउ वितरण गरिसकेका छौँ भने यो वर्ष थप २०,००० केजी धानको बीउ खरिद गरेर वितरण भइरहेको छ ।
नगरपालिकाले चिनियाँ भाषा (५ समूह) १५० जना, जापानी भाषा (२ समूह) ६० जना, नेपाल भाषा (२ समूह) ६१ जना काष्ठ कला (२ समूह) ७० जना, पाक शिक्षा (३ समूह) ७५ जना, बुटिक (२ समूह) ५५ जना, हेयर कटिङ (१ समूह) १८ जना, फोटोग्राफी (२ समूह) ६२ जना, रेडियो प्रस्तोता (२ समूह) ६४ जनालाई सीममूलक तालिम सम्पन्न गरेको छ । त्यसै गरी बेसिक (५ समूह) १८८ जना र एडभान्स सिलाइ (४ समूह) ८८ जनालाई तालिम प्रदान गरेको छ भने कृषि प्राविधिक (२२ जना), वेमौसमी तरकारी खेती (३० जना), गड्यौला मल बनाउने÷कौसी खेती (३० जना), च्याउ खेती (३० जना), माटो परीक्षण÷धान बाली सम्बन्धी ४० जना र नर्सरी खेती (३० जना) समेत गरी हालसम्म १००३ जनाले तालिम पाइसकेका छन् । यसमा वडाहरूमा सञ्चालित तालिमहरू समावेश गरिएको छैन ।
कानुन निर्माणः
हामी पाँच वर्षको निम्ति निर्वाचित भएकोमा पदावधिको अन्तिम चरणमा छौँ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार यस अवधिमा १० ओटा नियमित र १ ओटा विशेष गरी ११ ओटा नगरसभाहरू सम्पन्न भए । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको आवश्यकता अनुसार नगर सभाबाट २२ ओटा ऐन, ३ ओटा नियमावली, ६ ओटा विनियम, १२ ओटा कार्यविधि, ४ ओटा निर्देशिका र १ ओटा नीति गरी हालसम्म ४८ ओटा कानुन निर्माण गरी कार्यान्वयन गर्दै आएका छौँ ।
न्यायिक समितिः
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम उप प्रमुख रजनी जोशीको संयोजकत्वमा गठित न्यायिक समितिले २०७४ देखि २०७८ सम्म २०२ ओटा मुद्दा दर्ता भएकोमध्ये १६३ ओटा फर्छयौट भई ३९ ओटा फर्छयौट हुन बाँकी रहेको जानकारी गराउन चहान्छौँ ।
अपाङ्गताको परिचयपत्र वितरण ः
२०७६ असार २ गतेदेखि २०७८ चैत्र २१ गतेसम्म भक्तपुर नगर क्षेत्रभित्रका अपाङ्गता भएका ५७५ जना व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र प्रदान गरियो । त्यस्तै भनपाका १० वटै वडा कार्यालय, पर्यटन शाखा र जनज्योति पुस्तकालयका सहयोगी कर्मचारीहरुलाई एक महिने स