सूर्यमढीमा निर्वाचन परिचालन समिति गठन


बैशाख ४, २०७९, आइतबार | विहान ०१:०३ बजे | 50


सूर्यमढीमा निर्वाचन परिचालन समिति गठन

भक्तपुर, ३ बैशाख– नेपाल मजदुर किसान पार्टी, सूर्यमढी प्रारम्भिक समितिको आयोजनामा शनिवार समसामयिक राजनीतिक प्रशिक्षण तथा कार्यकर्ता भेला सम्पन्न भयो । मादल चिन्हमा छाप राखी नेमकिपाका उम्मेदवारहरुलाई अत्यधिक बहुमतले जिताउनका लागि काशिलाल प्रजापतिको संयोजकत्वमा निर्वाचन परिचालन समिति, सूर्यमढी एकाई गठन भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी जिल्ला समितिका अध्यक्ष एवं वाग्मति प्रदेश सभासद सुरेन्द्रराज गोसाईले अनैतिक, अराजनीतिक, असैद्धान्तिक र अवैचारिक सत्ता गठबन्धनले राजनीतिक अपराध जन्माएको बताउनुभयो । उहाँले माओवादी, एमाले, कांग्रेस जस्ता पार्टीको विभिन्न नाम रहेपनि पूँजीवादी विचार नै अँगालेको स्पष्ट पार्नुभयो । साथै एमसीसीका समर्थकहरु हाम्रो पहिलो शत्रु भएकाले तिनीहरुलाई यस निर्वाचनबाट परास्त गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक चुनावमा पैसा बाड्ने, विभिन्न प्रलोभन देखाएर जनताको आँखामा छारो हाल्ने सत्तासिन दलको व्यवहार कहिल्यै नसुध्रिने भएकाले जनता सचेत हुनुपर्ने अन्यथा फेरि पनि दुःख पाउने बताउनुभयो ।साथै सैद्धान्तिक रुपमा स्पष्ट अडान र विचार बोकेको एउटै मात्र पार्टी नेमकिपा रहेको औंल्याउनुभयो ।
पार्टी नगर समितिका प्रतिनिधि राम प्रजापतिले जनतासँग जोडिने प्रक्रिया चुनाव भएकोले राजनीतिक रुपमा सचेत र संगठित पार्नु आवश्यक रहेको बताउनुभयो । उहाँले नेमकिपा मात्र देश र जनताको पक्षमा उभिएको स्पष्ट पार्नुभयो ।
नेमकिपा केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पूँजीवादी व्यवस्थामा विकृति विसंगति व्याप्त हुने भएकाले समाजवादी व्यवस्थाको निम्ति राजनीतिक सिद्धान्तमा आधारित पार्टीको आवश्यकता रहेको चर्चा गर्दै वर्गीय र सैद्धान्तिक रुपमा अस्तित्वमा नरहेको राजनीतिक दल काम नलाग्ने बताउनुभयो । वडाको मतदाताबारे जानकारी गराउँदै उहाँले अन्य नगरपालिकाभित्र राजनीतिक अस्थिरता र खिचातानीकै कारण कुनै पनि काम सम्पन्न गर्न नसकेको जानकारी दिनुभयो । साथै उहाँले जनताको दैनिक जिविकोपार्जनसँग सम्बन्धित निर्वाचन भएकाले सबैलाई आफ्नो मताधिकारबारे बुझाउनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष दिलभक्त कोजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा काशिलाल प्रजापति, लक्ष्मी प्रसाद कुसीलगायतले बोलेको थियो ।


Comments