पत्रकार महर्जनलाई जनसेवाश्री पदवी प्रदान
बैशाख १, २०७९, बिहीबार | दिउँसो १२:२१ बजे | 45
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २० वर्षदेखि पत्रकारितामा क्रियाशील ललितपुरका पत्रकार सुनील महर्जनलाई जनसेवाश्री पदवी पञ्चमबाट विभूषित गर्नुभएको छ ।
विहीबार शीतल निवासमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति भण्डारीले महर्जनलाई सो पदवी प्रदान गर्नुभएको हो ।
गृह मन्त्रालयले राष्ट्रपति भण्डारीबाट विभिन्न विभूषण, अलङकार र पदक पाउन नामावली संविधान दिवसको अवसरमा गत असोज ३ गते आईतबार गोरखापत्रमा सार्वजनिक गरेको थियो।२०५९ सालमा महानगर दैनिकमा प्रशिक्षार्थी पत्रकार हुँदै महर्जनले २०६० साल श्रावणदेखि नेपाल समाचारपत्र दैनिक मार्फत पत्रकारिता शुरु गर्नुभएको थियो ।
महर्जनले पत्रकारिता मार्फत बुद्धधर्मको विकास, मूर्त र अर्मूृत संस्कृति, सम्पदाको संरक्षण र ललितपुरका बृहत सरोकारको विषयमा योगदान पु¥याउँदै आउनुभएको छ ।
हाल नेपाल समाचारपत्र दैनिकमा सहायक सम्पादक समेत रहनुभएका महर्जनले निजामती प्रशासन, संघीयता, स्थानीय तह विषयमा निरन्तर रिपोटिङ गर्दै आउनुभएको छ ।
यसका अतिरिक्त महर्जन नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय महासचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय सदस्यको रुपमा समावेशी पत्रकारिता र मातृभाषाको पत्रकारिता विकासमा क्रियाशील हुनुहुनुहुन्छ ।बौद्ध युवा कमिटी ललितपुरका पूर्वअध्यक्ष समेत रहनुभएका महर्जन मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको महासचिव, बुद्ध विहार पुनःनिर्माण समितिको सहसचिव समेत रहनुभएको छ । राष्ट्रिय युवा महासंघ नेपाल, ललितपुर मार्फत युवा परिचालन र नागरिक मैत्री प्रहरी प्रशासन निर्माणको अभियानमा पनि महर्जन सक्रिय रहँदै आउनुभएको छ ।