कुखुरा चोर पनि पत्रकार बन्ने प्रबृत्ति रोक्न पूर्व आयुक्तको आग्रह
चैत ३०, २०७८, बुधबार | दिउँसो ०२:५२ बजे | 30
रमेश गिरी
भक्तपुर, ३० चैत । चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको समन्वयमा इलेक्ट्रो एम एस इन्टरनेशनल नेपाल प्रा.ली.ले आज भक्तपुरमा आयोजना गरेको पालिकाको पाँच वर्षे बिकासमा संचारकर्मीको भूमिका एवं सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले २० वर्षमा हुन नसकेको काम यो पाँच वर्षको अबधीमा जनप्रतिनिधिले गरेको बताउनु भयो ।
उहाँले चाँगुनारायण नगरपालिका क्षेत्रमा मेयरसँग उद्यमशिलता कार्यक्रममा, बैंक खाता छोरीको सुरक्षा भरिको जस्ता कार्यक्रममा देशमै नमूना बनेको भन्दै शिक्षा, स्वास्थ्य, युवा स्वरोजगार, महिला उद्यमशिलता जस्ता विषयमा नगरपालिकाले अघि सारेको कार्यक्रम निकै प्रभावकारी भएको बताउनु भयो ।
सडक, पुल, भवन, खानेपानी जस्ता भौतिक संरचनाको निर्माण तिब्र भएको बताउदै उहाँले विकास यो मात्र नभई सामाजिक आर्थिक रुपान्तरणका लागि ल्याएका परिवर्तन पनि धेरै भएको बताउनु भयो ।
नगर प्रमुख मिश्रले भन्नुभयो, “जेष्ठ नागरिकहरु एकै ठाउँमा भेला भएर जीवनदेखि जवानीसम्ममा चर्चा गर्ने मिलन चौतारी नगरपालिकाका टोल टोलमा स्थापना गर्यौ, यो निकै प्रभावकारी भएको छ, नगरपालिकाले जन्मदेखि मृत्युसम्मका मानवीय कार्यलाई सबै समुदायमा लक्षित गरि सञ्चालन गरेका छौँ ।” उहाँले पाँच वर्षका विकासलाई फर्केर हेर्दा २०० पन्नाको किताबमा पनि नहट्ने बिवरण रहेको भन्दै चुनावमा गरेको घोषणा भन्दा धेरै विकास जनताको दैलो दैलोमा पुगेको बताउनु भयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगर प्रमुख भएर जादा भाडाको चार कोठाबाट सुरु गरेको काम आफ्नै भवन बनाउनेसम्ममा पुगेको, सबै वडा कार्यालय भवन, नगर अस्पताल, स्वास्थ्य संस्थाहरु निर्माण गरेको बताउनु भयो ।
उहाँले यो पाँच वर्षको अबधीमा १२१ वटाm कार्यपालिका बैठक कुनै विवाद बिना सम्पन्न गरेको, १० वटा नगर सभा सम्पन्न गरेको, ११० किलोमिटर सडक कालोपत्र गरेको, ६५ वटा ऐन, कानून बनाएको, ३७ वटा स्कूल, ३३ वटा पुल, ८ वटा ट्रस पुल, एक झोलुङे पुल बनाएको बताउदै घोषणा पत्र भन्दा धेरैनै बढी काम सम्पन्न गरेको बताउनु भयो ।
संघीय, प्रदेश र स्थानीय सरकारको बजेटका कारण सूर्यविनायक नगरपालिकाको चौतर्फी बिकास गर्न सफल भएको भन्दै उहाँले आफ्नो कार्यकालमा गर्न हुने काम नगरेको र गर्न हुने काम कुनै पनि पार्टी नहेरी गरेको बताउनु भयो ।
त्यसअवसरमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोला, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, चानपाका प्रमुख प्रशासकीय प्रमुख हरिप्रसाद चापागाई, सूनपाका प्रमुख प्रशासकीय प्रमुख राजेन्द्रप्रसाद कँडेललगायतले पाँच वर्षमा भएको बिकासका कामहरुकोबारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त यशोधा तिमल्सिनाले सुचनाको हककोबारेमा जानकारी दिदै प्रत्येक पालिकाले सूचना माग्न आएका व्यक्तिलाई सूचना दिनु पर्ने बताउनु भयो ।
उहाँले सूचनाको हककाबारमा अझै कर्मचारीले जान्नु पर्नेमा जोड दिदै पत्रकारले सूचनाको हकलाई प्रयोगगर्नु पर्ने औल्याउनु भयो । उहाँले कुखुरा चोर पनि पत्रकार हुने नेपालको प्रबृत्ति हटाउन पर्नेमा जोड दिदै पत्रकार बन्नका लागि कम्तीमा स्नातक तह उतीर्ण हुनु पर्ने र लाइसन (अनुमति पत्र( अनिवार्य लिनु पर्ने व्यबस्था गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार पुष्करराज बुढाथोकी, क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले निर्वाचन पछि नयाँ आउने जनप्रतिनिधिले विगत पाँच वर्षका भएका राम्रा कामलाई निरन्तरता दिनु पर्ने र नराम्रा कामलाई छाडेर जानु पर्नेमा जोड दिनु भयो ।