वडा नं. १ मा भक्तपुर नगरपालिकाले दियो धन्यवाद
चैत २५, २०७८, शुक्रबार | विहान ११:५४ बजे | 30
भक्तपुर नपा वडा नं. १ को आयोजनामा बिहीबार वडामा क्रियाशील उपभोक्ता समिति, अनुगमन समितिका पदाधिकारी तथा विपद् व्यवस्थापनमा खटिनुभएका स्वास्थ्यकर्मी र स्वयम्सेवकहरुलाई धन्यवाद पत्र वितरणको आयोजना गर्यो । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले धन्यवाद पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले विदेशीसँग भिख मागेर बनाएका सम्पदाहरुबाट खुशी हुनुभन्दा आप्mनै पौरखमा जीर्णोद्धार र पुनःनिर्माण भएको सम्पदाहरुप्रति गर्व गर्ने बताउनुहुँदै नेमकिपाले आत्मनिर्भर भएर बाँच्न सिकाएको महत्वपूर्ण शिक्षा हो भन्नुभयो ।
उहाँले भन्नुभयो, भूकम्पपछि नेपाल सरकार र जर्मनी सरकारबीच भक्तपुरको सम्पदा पुनःनिर्माणको लागि रु.१ अर्ब २० करोड सहयोग सम्झौता भएकोमा सम्झौताका बुँदाहरु हाम्रो हितमा नभएको कारण हामीले त्यो सहयोगलाई अस्वीकार गर्यौं । जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई सबै सम्पदाहरु उपभोक्ता समितिमार्पmत पारदर्शी ढंगले गुणस्तरीय काम सम्पन्न गर्दै आएका छौं ।’
खानेपानी समस्या समाधानको निम्ति भक्तपुर नपाले नगरका सम्भव भएका विभिन्न ठाउँहरुमा डीप बोरिङ गरी वडा वडामा खानेपानी सहज वितरणको व्यवस्था मिलाउँदै आएको बताउनुहुँदै उहाँले नगरबासीहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखी वडा वडामा नियमित रुपमा पाठेघर र स्तन क्यान्सर परीक्षण शिविर, दन्त शिविर तथा आँखा शिविरहरु सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाको विकास निर्माणका कामहरुमा निःस्वार्थ सेवा गरेका सबैमा धन्यवादज्ञापन गर्नुहुँदै भक्तपुर नपाका जनप्रतिनिधिले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाउँदै आएको छ भन्नुभयो ।
कार्यक्रममा वडा सदस्यद्वय सूर्यप्रसाद श्रेष्ठ र गंगालक्ष्मी बमनु, नेक्रायुसंघ १ वडा एकाइ समितिका अध्यक्ष लक्ष्मीसुन्दर सुवाल, नेक्रामहिला संघका विकुलक्ष्मी कोजु, नपली सिर्जजना नगरका सम्झना प्रेमीले पनि बोल्नुभएको थियो ।