भक्तपुरमा चिनिया र जापानिज भाषा तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण
चैत २३, २०७८, बुधबार | विहान ०६:४२ बजे | 35
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको आधारभूत चिनिया“ र जापानिज भाषा तालिमका प्रशिक्षार्थीहरुलाई मंगलबार एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा मार्गनिर्देश गर्नुहुँदै सांसद सुवालले आफूले सिकेको तालिमको देश र जनताको हितमा अधिकत्तम उपयोग गर्नुपर्नेमा जोड दिनुहुँदै देशको राजनीतिक र समसामयिक विषयको समेत जानकारी राख्न हौसला प्रदान गर्नुभयो ।
विभिन्न देश विदेशका भाषा प्रशिक्षणले नागरिकहरुको व्यक्तित्व विकासमा सकारात्मक भूमिका खेल्ने चर्चा गर्नुहुँदै सांसद सुवालले देशका लोपोन्मुख भाषा र संस्कृति संरक्षण गर्नु हाम्रो साझा दायित्व भएको बताउनुभयो ।
ऐतिहासिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण प्राचिन भक्तपुर नगरका सांस्कृतिक सम्पदाहरुको विशेष महत्व भएको र भक्तपुर नपाले सम्पदा संरक्षण र विकास निर्माणमा गरेका गतिविधिहरुबाट भक्तपुरको गौरव बढाएको छ, उहाँले भन्नुभयो ।
उहाँले देशको पर्यटन प्रवद्र्धनमा भाषाका तालिमहरुको महत्व रहने बताउँदै नेपाललाई स्वतन्त्र, स्वाधिन र सार्वभौम देशको रुपमा विकास गर्न नेपालमा आत्मनिर्भर अर्थतन्त्रको खाँचो रहेको बताउनुभयो । विदेशीको भरमा नेपालको विकास र समृद्धि सम्भव नहुने बताउनुहुँदै सांसद सुवालले भक्तपुर नपाले आफ्नो घोषणापत्रअनुरुप यहाँका जनतालाई विभिन्न सीपमूलक तालिमहरु प्रदान गरिरहेको कार्य प्रशंसनीय छ भन्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख राजनी जोशीले विभिन्न जात जाति र देश—विदेशका भाषा तालिमले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनुहुँदै स्वथ्य, समृद्ध र सबल नगरको रुपमा भक्तपुरलाई चिनाउने उद्देश्यका साथ भक्तपुर नपाले सम्पदा संरक्षणलाई विशेष महत्वका साथ हेर्दै आइरहेको बताउनुभयो । भक्तपुरको सन्तुलित विकासकै कारण आज देशकै नमुना नगरको रुपमा परिचित भएको बताउनुहुँदै भक्तपुर नपाप्रति यहाँका जनताहरु सद्भाव र सहयोगी भावना कदरयोग्य भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नपाबाट सञ्चालित सीपमूलक तालिमबाट धेरै नगरबासीहरु लाभान्वित भएको बताउनुहुँदै आधारभूत तालिम लिइसकेका प्रशिक्षार्थीहरुको लागि नपाले एड्भान्स तालिमको समेत व्यवस्था गर्दै आइरहेको अवगत गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, कार्यपालिका सदस्य रोशनमैंया सुवाल, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, चिनियाँ भाषा प्रशिक्षक राजेन्द्र चवाल र जापानीज भाषाका प्रशिक्षक आमिर लिबीले पनि बोल्नुभएको थियो ।