आरम्भको पुस्तक प्रदर्शनीमा नेपाल भाषाको कविता संग्रह ह्युपाया निंतिं विमोचन
चैत २२, २०७८, मङ्गलबार | विहान ११:११ बजे | 10
सत्यराम कासिछ्वा भक्तपुर । आरम्भ नेपालको आयोजनामा पुस्तक अध्ययन संस्कृतिलाई बढावा दिन तीन दिने पुस्तक प्रदर्शनीको दोस्रो दिनको पहिलो सेसनमा पुण्यराम कवांको नेपाल भाषाको कविता संग्रह “ह्युपाया निंतिं“ पुस्तक प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा ९ का वडा अध्यक्ष ज्याख्वले विमोचन गर्नुभएको छ । उक्त कार्यक्रममा ज्याख्वले सामाजिक घटनाक्रम तथा शोषित पिडित वर्गको भावनालाई मिठासपूर्ण भाषाशैलीको प्रयोग गरी जनताको चेतना स्तर बढाउने साहित्यकार पुण्यराम कवांलाई शुभकामना दिनुभएको छ । त्यस्तै देशका ३७% युवालाई उत्पादनमूलक कार्यमा लगाउन सरकारले प्रयास गर्नु भन्दा विदेश पलायन गराउने निति बनाएको भन्नुभएको छ । उक्त कार्यक्रममा नै युवा वर्गलाई गहिरिएर अध्ययन गरे सिकाई दिर्घकालिन हुने तथा रोजगारी र अध्ययनका नाउँमा जस्तोसुकै डकुमेन्ट र कागजात बनाउने गर्दा आफ्नै देशप्रति नकारात्मक सोच राख्ने प्रवृत्ति बढेको बताउनुभएको छ । कार्यक्रमका अतिथि नेपाल भाषा साहित्य तःमुञ्ज्याका अध्यक्ष आशकुमार चिकंबञ्जारले विमोचित कविता संग्रहमा कवि हराउन खोजेको तथा सरलता र गम्भीरता लाई दिई प्रगतिशील जनताको साहित्य तिर धल्केको बताउनु भएको छ । पुस्तकका रचयिता साहित्यकार पुण्यराम कवांले कविता संग्रहमा कोरिया युद्धकालमा अमेरिकी साम्राज्यवादले निम्तिएको संवेदनशीलता प्रस्तुत गरी त्यसमा भएका गीतमा स्वर संगीत दिनुहुने तथा प्रकाशन गर्न सहयोग र हौसल्ला दिने साहित्यकारहरू प्रति धन्यवाद दिनुभएको छ । त्यस्तै उहाँले २०५२ देखि २०७८ सम्मको कविताहरू संग्रह रहेको बताउनु भयो । कार्यक्रम संयोजक लक्ष्मी प्रसाद चवालले स्वागत गरेको उक्त कार्यक्रममा सभापति एवं आयोजक आरम्भ नेपालका अध्यक्ष बालकृष्ण बनमालाले धन्यवाद दिनुभएको छ । त्यस्तै कार्यक्रमको दोस्रो सेसनमा युवाहरू के पढ्छन्, कति पढ्छन् विषय माथि वार्ता तथा अन्तर्किया समेत भएको छ । तीनदिनसम्म चालू रहने पुस्तक प्रदर्शनीको दोस्रो दिन विभिन्न विद्यालयका ३ हजार भन्दा बढी विद्यार्थी र शिक्षक तथा पाठक एवं पुस्तक प्रेमीहरुको उल्लेख्य सहभागिता रहेको छ । उक्त प्रदर्शनीको अन्तिम दिन चैत २३ गते शिल्पी थियटरको सडक नाटक मञ्चन सहित समापन हुने आयोजकले जनाएको छ ।