आज श्री राम नवमी


चैत २०, २०७८, आइतबार | विहान ०५:१६ बजे | 30


आज श्री राम नवमी

               
सुनील सापकोटा
हाम्रो आर्य संस्कृतिको शिखर पुरुष श्री राम चैत्र शुक्ल नवमी तिथिमा हजारौं बर्ष अघि जन्मिनु भएकोले भोलि  वहाँको जन्म दिन मनाइदै छ । वहाँ मिथक हो वा इतिहास त्यो त मलाई थाहा  भएन । तर हजारौं साल देखि हिन्दु धर्म , संस्कृति एवं परम्पराको वहाँ पहिलो एउटा यस्तो ब्यक्ती हो  जसलाई हाम्रा पुर्खाले एउटा मर्यादा पुरुषोत्तमको रुपमा मान्दै आए। हाम्रो धर्मशास्त्रहरु वा रामायणको अध्यन गर्दा राम एउटा प्रखर योद्धा , कुशल शासक , एक पत्नी निष्ठ , सुन्दर र बौध्दिक ब्याक्तित्वका धनीको रुपमा पाइन्छ । जुन सामाजिक मूल्यमा र मान्यताहरुमा वहाँले आफ्नो काम र कर्तव्यहरुको पालन गर्नु भयो त्यस्को गुण गान आज पनि गरिंदै छ ।
हुनत त्यो कालमा वहाँले निर्बाह गरेको केही  काम र कर्तव्यका भूमिकाहरुको अहिले केही मानिसहरुले आलोचना न गरेका पनि होइनन् । जस्तैः शुपर्णखाको अपमान , सिताको अग्नि परिक्षा र परित्याग , आफ्नो ब्यक्तिगत स्वार्थको लागि बाँदरहरु को राजा वालीको छल द्वारा हत्या आदि। हुन त वहाँ लाई एउटा ईश्वरको रुपमा हेरेको हुँदा येस्तो लागेको होला पनि । तर वहाँ लाई एउटा राजा र मनुष्यको रुपमा मात्र सम्झिने  हो भने वहाँले त्यो काल खण्डमा  निर्वाह गरेका भूमिकाहरु समय सापेक्ष थियो पनि होला । हामी हिन्दूहरु को एउटा कमजोरी के छ भने हामी शिखर पुरुषहरु लाई देवत्वकरण गरेर हेर्छौ । शायद वहाँको आलोचना गर्नेहरु लाई त्यस्तो लागेको होला भन्ने मलाइ लाग्छ । वहाँले शासन गरेको  राज्य अयोध्या ,  त्यो बेलाको  भारत बर्षको अरु साना साना राज्यहरुको प्रमुख शासन केन्द्र पनि थियो।
अयोध्या अर्थात जित्न न सकिने स्थान । तर पछी वहाँको वंशले अयोध्या लाई सम्हालेर राज्य गर्न सकेनन् । वहाँको वंशमा अग्निवर्ण जस्ता  कामुक राजा भए पछी सूर्य वंशको पनि पतन भयो।
त्यस्तै भगवान् श्री कृष्णको यदु बंश पनि श्री कृष्ण छँदै आपसमा युद्ध गरेर समाप्त भएका  थिए। त्यो बेला  श्री कृष्णको कुरा  उनका छोरा नातिहरुले सुनेनन्।  इश्वरका छोरा नाति भनेर पनि हुदो रहेनछ ।  समय र नियतीको नियम आफ्नै हुन्छ । कुराहरु त थुप्रै छन । धेरै न लेखुँ होला।
अन्त्यमा , सबैमा श्री राम नवमीको शुभकामना ..

Comments