जनताको अत्यावश्यक बस्तुहरु राज्यले वितरण गर्नुपर्छ : सांसद सुवाल


चैत १९, २०७८, शनिबार | दिउँसो ०१:५९ बजे | 35


जनताको अत्यावश्यक बस्तुहरु राज्यले वितरण गर्नुपर्छ : सांसद सुवाल

भक्तपुर । जनताको अत्यावश्यक बस्तुहरु राज्यले वितरण गर्नुपर्छ । उक्त भनाई संघीय सांसद प्रेम सुवालले धन्यवाद कार्यक्रममा बताउनु भयो । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनमा २०७४ सालको स्थानीय निर्वाचनमा विजयी जनप्रतिनिधिहरुको पाँच बर्षे कार्यकालमा १० वडामा भएका विभिन्न गतिविधिहरुमा निरन्तर सहयोग गर्नुहुने महानुभावहरुलाई धन्यवाद ज्ञापन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् संघीय सभासद प्रेम सुवालको प्रमुख आतिथ्यतामा शनिबार कमलबिनायक बैंक्वटमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रेम सुवालले भक्तपुर नगरपालिकामा नेमकिपाको घोषणापत्र र जनताको सुझाब अनुसार कार्य भएको एउटै मात्र नगरपालिका रहेको बताउँदै एमाले ४० प्रतिशत, कांग्रेसले ३३ प्रतिशत, माओवादीले १५ प्रतिशत स्थानीय तहमा निर्वाचित हुँदा समेत काम नगरेको बरु घोषणा पत्रमा उल्लेख गरे अनुसार उल्टा कार्य गरेको बताउनुभयो । उहाँले नेमकिपाले शिक्षा, स्वास्थ्य, सफा, सांस्कुतिक नगर, सम्पदा संरक्षण र पारदर्शी नगर बनाउने सोचले जीवनको महत्वपूर्ण समय नगर र नगरबासीको सेवामा समर्पित गरेको बताउँदै १५ बर्ष जनप्रतिनिधि विहिन समयमा पनि अप्रत्यक्ष रुपमा भक्तपुर नगरलाई सहयोग गरेको बताउनुभयो ।
उहाँले कांग्रेसको घोषणपत्रमा युवा उद्यम कोष भएको तर उद्योगधन्दा सबै निजिकरण र ध्वस्त गरेर युवाहरुलाई उद्यम गर्न बञ्चित गरेको, कृषि उद्यमशीलता भन्ने युवाहरुलाई विदेश पठाउने, सतप्रतिशत साक्षार भन्दा थप शिक्षित बनाउने तर्फ ध्यान दिनुपर्ने, माध्यामिक तहसम्म पूर्ण निःशुल्क शिक्षा भने तर निजि स्कूल कायम राखेको र गुणस्तरीय शिक्षा लिन निजि विद्यालय जान बाध्य पारेको, अस्पताल र खानेपानी गुणस्तर भनेतापनि पानीको हाहाकार, धुलो नियन्त्रण, प्लाष्टिक नियन्त्रण भने विश्वको धुलो प्रदुषण भएको काठमाण्डौ उपत्यका बनाएको बताउनु भयो । नेका प्रजातन्त्रपछि बढी सरकारमा जाने पार्टी भएर पनि काम नगर्ने पार्टी सावित भएको उहाँले बताउनु भयो ।
त्यस्तै समृद्धि गाउँ नगर र गाउँ गाउँमा सिंह दरवार भन्ने तर गाउँ नगर समृद्धि नबनाई गाउँ गाउँमा भ्रष्ट्राचार भएको समाचारहरु आएको उहाँले बताउनु भयो । एमालेले आफ्नो गाउँ आफै बनाऔं भनेतापनि सबैलाई शहर केन्द्रीत गर्दा शहरहरुमा प्रदुषण भएको, फोहरको समस्या, पानीको हाहाकार भएको र देशको सन्तुलित विकास नभएको, एक घर एक रोजगार, शिक्षितलाई काम भनेता पनि शिक्षित बेरोजगार कति छ भने कुरा म्यादि प्रहरी भर्नाबाट उजागर भएको, बालविवाह र बहु विबाह रोक्न नसकेको उहाँले बताउनु भयो । उहाँले नेमकिपाले भक्तपुर नगरलाई मात्र हेरेको सूर्यविनायक, चाँगु र मध्यपुरलाई नहेरेको गुनासो आएको तर निर्वाचनमा अरुपार्टीलाई जिताएर नेमकिपाले काम गरेन भन्नु भ्रम छर्नु हो भन्नुभयो । नेमकिपा निर्वाचित भएको सबै ठाउँमा जनताको सेवा गरेको र विकास निर्माणमा पारदर्शी ढंगले काम गरेको छ भन्नुभयो ।
उहाँले प्रम शेरबहादुर देउवा भारत भ्रमण गएर ओहदालाई विर्सेर भारतीय जनता पार्टीको कार्यालयमा भेट गरेको सार्वभौम देशमाथिको भारतको थिचोमिचो भएको बताउनुभयो । उहाँले भारतले नाकाबन्दी गर्दा संसदमा नेमकिपाले आवाज उठाउँदा चुनावमा हार्ने डर छैन भनि अरुपार्टीले जिज्ञासा राखेकोबाट अरु पार्टी चुनावमा हराइदेलाकी भनि भुपरिवेष्टिठ देशको पारवहान अधिकार बारे बोल्न डराएको बताउनुभयो । उहाँले भारतसंगको मल सम्झौताको बारेमा बोल्दै भारतको संविधानमा त्यहाँका किसानलाई नपुगेसम्म विदेशमा मल निर्यात गर्न नपाउने भएकोले विदेशबाट किनेर नाफा लिएर नेपालमा बेच्ने हो भन्नुभयो ।
उहाँले अहिले लोडसेडिङ्ग भएको भारतले विजुली कटौतिले भएको बताउँदै एमसिसिले नेपालको लागि होइन भारतमा विजुली लान प्रशारण लाइन हो साथै एमसिसिमा राष्ट्रघाटी बुँदाहरु बताउनुभयो । नेपाली कांग्रृेस सर्मथित तेल ढुवानी व्यवासायीहरुले आन्दोलन गरेर पेट्रोलियम पदार्थको हाहाकार सुरु गरेको छ सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेसले नै जनतालाई दुख दिई रहेको यो ज्वलन्त उदाहरण भएको बताउनुभयो । उहाँले त्रिभुबन विश्व विद्यालयमा ३६ वटा विभागमा तालाबन्दी नेकाको विद्यार्थी संघ नेबिसंघले तालाबन्दी गरेर जनताको छोराछोरी पढ्नबाट बञ्चित गरेको बताउनुभयो । उहाँले दार्चुलमा नेपालतिर ५ मिटर मिचेर ग्याविनवाल र बाटो बनाएको तर्फ र विभिन्न ठाउँमा बाँध बनाएकोबारे भारत सरकारसंग छलफल गर्न हुनु पर्ने भ्रमण तर त्यस्तो नहुने शेरबहादुरलाई सभापति निर्वाचित गरिदिएकोमा धन्यवाद दिन गएको बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि उपप्रमुख रजनी जोशीले देशभरी भक्तपुर नगरको जुन स्थान प्राप्त गरेको छ त्यो जनताको साथ र सहयोगले नै हो भन्नुभयो । उहाँले घोषणापत्रको अक्षरस पालना गरी कार्य गरेको र विगतमा जनप्रतिनिधिहरुले तयार गरेको आधारलाई अगाडि बढाएको बताउनुभयो । उहाँले २१ औं शताब्दिमा शिक्षा विना अगाडि बढ्न नसक्ने भएकोले शिशुस्याहारदेखि कलेज नगरपालिकाले संचालन गरेको त्यसको प्रतिफल स्वरुप हरेक वडामा सय जनाको हाराहारीमा इन्जिनियरहरु तयार भएको, उच्च शिक्षा हासिल गर्न कतै भौतारिन नपरोस र डाक्टर पढाउन ख्वप विश्वविद्यालयको माग गरिरहेको बताउनुभयो । समाजवाद उन्मुख नगरपालिकाको रुपमा भक्तपुरलाई अगाडि बढाएको बताउँदै शिक्षा, स्वास्थ्यमा जोड दिएको बताउनुभयो ।
उहाँले सम्पदा संस्कृति, रितिरिवाज, लवाईखवाई सिकाउन स्थानीय पाठ्यक्रममा ख्वपको पहिचान राखेर नयाँपुस्ताले सिक्दै गरेको छ भन्नुभयो । कला संस्कृति नयाँपुस्तामा हस्तातरण गर्न प्रतियोगिताहरु संचालन गरेको र हालै आयोजना गरेको पछिमा बाजामा ७ बर्षको बालकले राम्रोसंग प्रस्तुत गरेबाट नयाँपुस्तमा हस्तातरण भएको अनुभुति समेत भएको र राजनीतिशास्त्र, इतिहास, भुगोल पढ्नेलाई निःशुल्क छात्रबृति दिएको, आर्थिक अभावका कारण पढाईबाट बञ्चित हुन नपरोस् भनेर पाँचलाखसम्म ऋण अनुदान दिएको, घरदैलो नर्सिङ्गसेवादेखि अस्पतालसम्म संचालन गरी स्वास्थ्य क्षेत्रमा समेत जनताको सेवा गरेको बताउनुभयो ।
कार्यक्रम वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने पूर्व उपमेयर चैत्यराज शाक्य, चन्द्रबहादुर उलकल र जितेन्द्र मुनांकर्मीले पनि बोल्नु भएकोथियो । कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरुले विभिन्न उपभोक्ता समितिमा बसेर काम गरेका महानुभावहरु, कोरोनाको समयमा सहयोग गर्नेहरु र स्वयम्सेवकहरु , वडाको विभिन्न बाजा खलहरु, स्वास्थ्य स्वयम् सेविकहरु, खेलकुद समिति र खेलकुदमा सहयोग गर्नेहरुलाई धन्यवाद पत्र प्रदान गरेको थियो ।

Comments