सकियो महेन्द्र विद्याश्रमको अभिभावक दिवस तथा अभिनन्दन समारोह
चैत १२, २०७८, शनिबार | विहान ११:१७ बजे | 60
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महेन्द्र विद्याश्रमको ३७ औं स्थापना दिवसको अवसरमा आयोजित अभिभावक दिवस तथा अभिनन्दन समारोह शनिबार सम्पन्न भयो । सोही अवसरमा प्रमुख अतिथि प्रजापति र अतिथिहरुले एसईई २०७६ ब्याचका विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै इमानदार र जेहेनदार विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई पनि कदर पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले ३० वर्षअघिको भक्तपुरको शैक्षिक अवस्था दयनीय भएको बताउनुहुँदै अहिले भक्तपुर नेपालकै उत्कृष्ट शैक्षिक गन्तव्यस्थलको रुपमा विकास भइरहेको र नेपालका उत्कृष्ट विद्यार्थी समेत यहाँ उत्पादन भइरहेको बताउनुभयो ।
कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम बनाइ नगरभित्र सञ्चालित विद्यालयहरुमा पठनपाठन गर्दै भक्तपुरको इतिहास, भूगोल, कला—संस्कृति, सम्पदा, मौलिक सीप तथा प्रविधि र विभिन्न पक्षका विशिष्ट व्यक्तित्वहरुको जीवनीबारे जानकारी दिने प्रयास गर्दै आएको बताउनुहुँदै प्रमुख प्रजापतिले नगरपालिकाले धिमाय्, धाँ, बाँसुरी र यो वर्ष पछिमा बाजा प्रतियोगिताको आयोजना गरी नयाँ पुस्तामा पुस्तान्तरण गर्ने अभियान सफल भएको बताउनुभयो ।
देशभक्त र क्षमतावान विद्यार्थी उत्पादन गर्नेतर्फ विद्यालयले ध्यान पु¥याउनुपर्ने भन्दै उहाँले भक्तपुरका सामुदायिक विद्यालय र कलेजले स्तरीय शिक्षा प्रदान गर्दै आइरहेको चर्चा गर्नुभयो । सम्पदाको महत्वबारे विद्यार्थीहरुलाई अवगत गराउनुपर्ने धारणा राख्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरले लोपोन्मुख सम्पदा, स्थानीय खेललगायतलाई जीवन्त राख्ने प्रयासहरु गर्दै आएको छ भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुरका विद्यार्थीहरुलाई भक्तपुरमा उच्च शिक्षा हासिल गराउने उद्देश्यले नगरपालिकाले सातवटा शैक्षिक सञ्चालन गरेको बताउनुहुँदै सरकारले निजी विद्यालय सञ्चालनमा जोड दिएकै कारण सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर खस्कँदै गएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् महेन्द्र विद्याश्रमका संस्थापक महेन्द्रप्रसाद मास्केले कोभिडले शिक्षा क्षेत्रमा परेको असर बिस्तारै हट्दै गइरहेको हुँदा विद्यार्थीहरु उत्साहित देखिएको बताउनुहुँदै विद्यालयलाई समयको मागअनुसार कक्षा १२ सम्म अध्ययन अध्यापन गराउन आवश्यक तयारी भइरहेको अवगत गराउनुभयो ।
कार्यक्रममा महेन्द्र विद्याश्रमका प्रिन्सिपल अनिल श्रेष्ठले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै विद्यालयले समय र परिस्थितिअनुसार यहाँका अध्ययनरत विद्यार्थीहरुलाई युगसुहाउँदो शिक्षा प्रदान गरिरहेको बताउनुभयो । उहाँले हाल विद्यालयमा कूल ५३७ जना विद्यार्थीहरु अध्यनरत रहेको बताउनुहुँदै आफ्नो देशप्रति बफादार हुन प्रेरित गर्दै जीवनउपयोगी ज्ञान र सीपहरु प्रदान गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षक प्रतिनिधि पद्मराज सुवेदी, विद्यार्थीका तर्फबाट ललिस्मिता भूजु र अभिभावकका तर्फबाट प्रतिनिधि सरस्वती गिरीले विद्यालयको शैक्षिक विशेषताबारे आफ्नो धारणा राख्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।