सकियो धर्मचक्र पार्क तथा पलेस्वाँ पोखरी पुननिर्माण


चैत ११, २०७८, शुक्रबार | दिउँसो ०१:३१ बजे | 45


सकियो धर्मचक्र पार्क तथा पलेस्वाँ पोखरी पुननिर्माण

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा १५ स्वयम्भू भूइँखेलमा धर्मचक्र पार्क तथा पुलेस्वाँ पोखरी उद्घाटन भएको छ । आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभएको हो । करिब १ करोड ३६ रुपैयाँ केन्द्रीय बजेट र वडाको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँ लागतमा पार्क र पोखरी निर्माण भएको हो । यसको सौन्दर्य तथा हरियाली प्रवर्धन गर्न महानगरले थप १ करोड रुपैयाँ विनियोजन गरेको छ । यो ठाउँमा पार्क बनाउन आजभन्दा २० बर्ष अघि नै सोच निर्माण गरिएको थियो ।
पार्कमा ३५ फिट अग्लो पोलमा राष्ट्रिय झण्डा राखिएको छ । पार्क उद्घाटनसँगै झण्डा पनि फहराइएको थियो । काठमाडौँ महानगरले सम्पदा क्षेत्रभित्र ३५ फिट अग्लो र अन्य कही सार्वजनिक क्षेत्रमा १०३ फिट अग्लो पोलमा राष्ट्रिय झण्डा राखिरहेको छ । यस क्रममा माइतीघर मण्डला, शान्ति वाटिकामा झण्डा राखिसकिएको छ ।  
पार्क उद्घाटन पछि बोल्दै प्रमुख शाक्यले, काठमाडौँलाई मानिसको बसोबास योग्य सांस्कृतिक सहर बनाउन लिएका नीति र बनाइएका कार्यक्रम क्रमशः सम्पन्न हुँदै गएको बताउनुभयो । ‘हामीले जे जति नीति र कार्यक्रम बनायौँ, यसमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु सबैको सहभागिता छ । यी नीति र कार्यक्रमको कार्यान्वयन विभाग र वडाहरुबाट भइरहेको छ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘सपना साझा थिए । ती पूरा गर्न सामुहिक प्रयत्न ग¥यौँ । विकासका उपलब्धीहरु क्रमशः प्राप्त हुँदै जाने हुन् । यसमा हामी सफल बन्दै गएका छौँ ।’
काठमाडौँलाई धुँवा धुलोमुक्त, बस्न लायक सांस्कृतिक सहर बनाउन महानगरको नेतृत्वमा सम्बद्ध सबै सहभागी हुनुपर्छ । कार्यक्रममा संघीय संसद सदस्य जीवनराम श्रेष्ठले भन्नुभयो, ‘परिवर्तन भएको छ । यसको व्यवस्थापनमा कार्यक्रम ल्याउनुपर्छ ।’
शासन परिवर्तनपछिको पहिलो स्थानीय सरकार भएकोले थितिका लागि कानून बनाउनमा धेरै समय खर्च भयो । महानगरका उपलब्धीका विषयमा धारणा राख्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘महामारीको समय भएकोले हामीले अन्य क्षेत्रभन्दा जनताको स्वास्थ्य सुरक्षाका कार्यक्रममा जोड दियौँ । जनता बाँचे पो पूर्वाधार र सुविधा । जनता नै नरहने अवस्था आयो भने के गर्नु?’
पलेस्वाँ पोखरीमा फुलेको कमलको फूल टिपेर स्वयम्भूमा चढाउने चलन थियो । यो १२ बर्षे सम्यक महादान गरिने पोखरी हो । ठाउँका विषयमा कुरा गर्दै वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भन्नुभयो, ऐतिहासिक पोखरी र त्यससँगै पार्क निर्माणले वडाको समृद्धि बढाएको छ ।
पार्कले भुइँ खेल क्षेत्रको आकर्षण् त बढाएको छ नै यसबाहेक स्थानीय र स्वयम्भू घुम्न आउने भक्तहरुका लागि आराम गर्ने उपयुक्त ठाउँ बनेको छ । कार्यक्रममा वडा सदस्य आनन्द गौत्तमको भनाइ थियो ।
पार्कको डिजाइन गर्दा सम्पदा क्षेत्रको पृष्ठभूमिलाई ध्यान दिइएको छ । कार्यक्रममा पूर्वाधार विकास विभागका प्रमुख राम थापाले भन्नुभयो, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षसँगै पर्यावरणीय पक्षलाई ध्यानमा राखेर पार्कको निर्माण भएको छ । पार्क करिब ३ रोपनी क्षेत्रफलमा बनेको हो ।

Comments