पञ्चकन्या मावि ३६ औं वर्षमा ः सरकारी विद्यालय गुणस्तरीय भए देशको ख्याती फैलन्छ


चैत १०, २०७८, बिहीबार | दिउँसो ०३:०२ बजे | 5


पञ्चकन्या मावि ३६ औं वर्षमा ः सरकारी विद्यालय गुणस्तरीय भए देशको ख्याती फैलन्छ

सन्जिब दुलाल
भक्तपुर । सरकारी विद्यालय गुणस्तरीय भए देशको ख्याती फैलन सरोकारवालाहरुले बताएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडाल स्थित पञ्चकन्या माध्यमिक विद्यालयको ३६ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले सरकारी विद्यालय सुधार नभएसम्म देश विकास नहुने बताएका हुन् ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले शिक्षा–स्वास्थ्य निःशुल्क र स्वदेशमा रोजगारीको व्यवस्था नभएसम्म देश समृद्द नहुने बताउनुभएको थियो ।
भक्तपुर नगरपालिकाले एक घर एक स्नातकको लक्ष्य राखेर शैक्षिक संस्थाहरू सञ्चालन गरेको हो, यहाँका सबै जनता मिलेर पञ्चकन्या माविलाई पनि कलेजसम्म विकास गर्न सकिन्छ, उहाँले भन्नुभयो ।
सोही अवसरमा विद्यालयमा निर्मित ४ कोठे भवनको पनि उद्घाटन गरिएको थियो । विद्यालयका निवृत्त शिक्षकहरुलाई समेत सम्मान गरिएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद दुलालले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना रहेको सुनाउनुभयो  ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले भन्नुभयो  ‘ आजको युग विज्ञान र प्रविधिको युग भएकाले डिजिटल शिक्षण सिकाइमा जोड दिने तथा गुणस्तरीय, व्यवहारिक, सीपमूलक शिक्षालाई जोड दिन एसइइ पश्चात तीन वर्षे प्राविधिक शिक्षा सञ्चालनका लागि पहल अगाडि बढाउने योजना रहेको छ ।’
उहाँले कार्यक्रममा १८ बुँदे भावी योजना प्रस्तुत गर्दै विद्यालय शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन विज्ञान प्रयोगशालालाई थप व्यवस्थित गर्ने, विद्यालयमा बगैंचा बनाउने, कम्प्युटर शिक्षालाई प्रभावकारी बनाउने, विद्यार्थी भर्नादर बढाउने, शिक्षकको क्षमता अभिवृद्धि गर्नेलगायतका योजना सुनाउनुभएको थियो ।

वि.सं. २०४२ साल चैत ९ गते स्थापित सो विद्यालयमा हाल ३ सय बढी विद्यार्थी अध्ययनरत छन् भने कर्मचारीसहित २३ शिक्षक अध्यापनरत छन् ।
सोही कार्यक्रममा निवृत्त शिक्षकहरु सन्तराम दुलाल, शम्भुप्रसाद दुलाल, केदारप्रसाद काफ्ले, लक्ष्मण कार्की, सञ्जना सापकोटा दुलाललगायतलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव तिमिल्सिनाको सभापतित्वमा भएको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र नेमकिपाका प्रेमकुमार श्रेष्ठ, एमालेका राजेश खड्का, माओवादीका मदन श्रेष्ठ, राप्रपाका अर्जुन कार्की, विद्यालयका संस्थापक शिलनाथ दुलाल, साहित्यकार हरिहर तिमिल्सिना, वडा नं. ८ का वडाध्यक्ष परासर सापकोटा, सहायक प्रअ प्रकाश तजले, पूर्व प्रअ सन्तराम दुलाल, वरिष्ठ इन्जिनियर अजयकुमार शाह लगाएतविद्यालयमा अध्ययनरत विद्यार्थीले पनि विद्यालयको विषयमा आफ्नो कुरा राख्नुभएको थियो ।

Comments