भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवालाहरुको बैठक


चैत ९, २०७८, बुधबार | दिउँसो १२:०० बजे | 40


भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवालाहरुको बैठक

भक्तपुर । नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार बिस्का जात्रासँग सम्बन्धित सरोकारवालाहरुसँग बैठक सम्पन्न भयो ।
बैठकमा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले विगतका तुलनामा भक्तपुरको बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न हुँदै आएको बताउनुहुँदै जात्रासित सम्बन्धित सरोकारवालाहरुले आ–आफ्नो जिम्मेवारी पूरा गरे निर्धारित समयभित्र जात्रा शान्तिपूर्ण ढंगले सम्पन्न हुने बताउनुभयो ।
उहाँले आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत उल्लेख्य उपस्थित हुने बिस्का जात्रा सञ्चालन मर्यादित बनाउने हेतुले भक्तपुर नपाले सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य अगाडि बढाएको बताउनुभयो ।
बैठकबाट बिस्का जात्रा २०७८÷७९ मनाउने क्रममा नगरबासीहरुलाई आवश्यक सुरक्षा मापदण्ड अपनाई सुरक्षित रहन प्रचारप्रसार गर्ने,  बिस्का जात्रासम्बन्धी सम्पूर्ण पूजा र जात्रा समयमै सुरु र सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठी संस्थान कार्यालय भक्तपुरलाई जिम्मा दिने र जात्रासँग सम्बन्धित पूजा र आवश्यक तयारीको लागि भैल नाय, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयहरुलाई आवश्यक जिम्मेवारी दिनेलगायतका निर्णयहरु भयो ।
त्यस्तै बिस्का  जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रहरुमा तार, केबल र फाइबर नेटका केबुलहरु व्यवस्था गर्न र अन्य आवश्यक कार्यको लागि यथाशीघ्र स्थलगत अवलोकन गरी आवश्यक व्यवस्था गर्ने र यथाशिघ्र जात्रासँग सम्बन्धित सरोकारवालाहरुको बैठक बस्ने निर्णय समेत उक्त बैठकबाट भयो ।
भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माले विगतका कमीकमजोरीबाट शिक्षा लिई शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गर्न गुठी संस्थानले ध्यान दिनुपर्ने र तोकिएको समय अघि सबैले आ–आफ्नो जिम्मेवारीअनुसारको काम सम्पन्न गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।
बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, वडाध्यक्ष कुमार चवाल र प्रेमगोपाल कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, जात्रासँग सम्बन्धित सरोकारवालाहरुले बिस्का भव्य, शान्तिपूर्ण र सभ्य तरिकाले सम्पन्न गर्न आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।



Comments