भ्याली बोर्डका सदस्यहरुबाट भयो सिस्नेरी खानेपानी आयोजनाको स्थलगत अवलोकन


चैत ७, २०७८, सोमबार | दिउँसो ०१:०२ बजे | 45


भ्याली बोर्डका सदस्यहरुबाट भयो सिस्नेरी खानेपानी आयोजनाको स्थलगत अवलोकन

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी समितिका सदस्यहरुले मकवानपुरको सिस्नेरी खानेपानी आयोजनाको ड्याम निर्माण हुने स्थलको अवलोकन गर्नुभयो ।
भ्याली बोर्डका अध्यक्ष तथा काठमाडौं महानपाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानपाका अध्यक्ष चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोदावरी नपाका प्रमुख गजेन्द्र महर्जन, मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ तथा काठमाडौं र ललितपुर महानपाका वडाध्यक्षसहितको टोलीले सिस्नेरी खोलाको सोमबार स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको हो ।
बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी छिटोभन्दा छिटो भक्तपुरमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिनुहुँदै सिस्नेरी खानेपानी आयोजनाले उपत्यकाको खानेपानी आपूर्तिमा सहज हुने बताउनु भयो ।
काठमाडौं उपत्यकाका लागि मेलम्चीको विकल्पका रुपमा सिस्नेरी आयोजना नेपालकै दोस्रो ठूलो आयोजना हुने बताउनुहुँदै प्रमुख प्रजापतिले उपत्यकामा जनसंख्या वृद्धिसँगै खानेपानीको हाहाकार बढिरहेको हुँदा समयमै अन्य श्रोतहरुको पहिचान गरी कामलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
बोर्डका अध्यक्ष विद्यासुन्दर शाक्यले सिस्नेरी खानेपानी आयोजना आफैमा गौरवको आयोजना भएको बताउनुहुँदै उपत्यकाको खानेपानी समस्या समाधानको लागि आयोजनाले सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।
त्यस्तै ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले सिस्नेरी खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न गर्न सके धेरै राहत हुने भन्दै आयोजनाको काममा कुनै ढिलासुस्ती गर्न नहुने बताउनुभयो ।  
अवलोकनका क्रममा भ्याली बोर्डका सचिव डा. सञ्जिव विक्रम राणाले मेलम्ची खानेपानी आयोजनाको विकल्पको रुपमा सिस्नेरी खानेपानी आयोजना अगाडि बढाइएको जानकारी दिनुहुँदै उपत्यकाको ललितपुरभित्र खानेपानी आपूर्ति गर्ने आयोजनाको मुख्य उद्देश्य रहेको प्रष्ट पार्नुभयो ।
उहाँले सिस्नेरी खानेपानी आयोजनाको अनुमानित लागत रु. २० अर्ब रहेको बताउनुहुँदै आयोजनाले ६० मिटरको ड्याम निर्माण गरी करिब ७.८ अर्ब लिटर बराबरको पानी अट्ने क्षमतासहितको ड्याम बन्ने बताउनुभयो ।
भीमफेदी गाउँपालिका र इन्द्रसरोबर गाउँपालिकामा अवस्थित सिस्नेरी आयोजना ५ देखि ७ वर्षसम्ममा सम्पन्न गरिसक्ने योजना रहेको बताउनुहुँदै सचिव राणाले जनसंख्या वृद्धिसँगै खानेपानीको हाहाकार हुन सक्ने अवस्थालाई मध्यनगर गर्दै बोर्डले मेलम्चीको वैकल्पिक आयोजनाको रुपमा यसलाई अगाडि ल्याएको बताउनुभयो ।
सोही क्रममा भ्याली बोर्डको टोलीले कुलेखानी ड्यामको समेत अवलोकन गरेको थियो ।

Comments