सकियो साइनिङ स्कुलको २९ औं बार्षिकोत्सव


चैत १, २०७८, मङ्गलबार | दिउँसो ०३:४२ बजे | 15


सकियो साइनिङ स्कुलको २९ औं बार्षिकोत्सव

भक्तपुर, १ चैत । साईनिङ ई सेकेण्डरी स्कुलको २९ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङको पकुनेपाटीस्थित सो स्कुलको २९ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण सोमबार सम्पन्न भएको हो ।
शिक्षालाई व्यावहारिक र जीवनोपयोगी बनाउँदै गुणस्तरीय शिक्षा दिइरहेको सो विद्यालयको वार्षिकोत्सवको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले गरेका थिए । कार्यक्रममा उनले समसामयिक राजनीतिक परिस्थितिबारे चर्चा गर्दै चाँगुनारायण नगरपालिकामा भइरहेको व्यथितिविरुद्ध जनताले आवाज उठाउनृुपर्ने बताए ।
उनले नगरपालिकाभर भइरहेका अवैध जग्गा प्लटिङले भविष्यमा समस्या ल्याउनेतर्फ चाँगुनारायण नगरपालिकाका जनप्रतिनीधिले नसोच्नु शंकास्पद भएको बताउँदै ती प्लानिङ स्वीकृतिका लागि जनप्रतिनीधिले आर्थिक लाभ लिएको चर्चा चलेको समेत बताए ।
उनले विद्यार्थीहरुलाई व्यवहारिक बनाउनका लागि शिक्षकहरुले भूमिका खेल्नुपर्ने र अभिभावकहरुले पनि सन्तानको भविष्यका लागि समय छुट्याउनुपर्ने चर्चा गरेका थिए ।
कार्यक्रममा कार्यक्रममा क्वालिटी स्कुलका प्रिन्सिपल तथा नेशनल प्याब्सनका केन्द्रीय सदस्य जिबी खड्का, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले कोभिड महामारीको कारण विद्यार्थीहरुमा पठनपाठनप्रति कम चासो हुन थालेकोले विद्यालयले अभिभावक शिक्षाक कार्यक्रम राख्नुपर्ने र अभिभावकले पनि विद्यार्थीको पठनपाठनमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सो विद्यालयबाट एसइइ २०७५, २०७६ र २०७७ ब्याचका विद्यार्थीलाई सम्मान तथा विद्यालयका कक्षागत रुपमा उत्कृष्ट भएकालाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक विक्रम ढुकुछुले विद्यालयको प्रगति विवरणसहित भावी कार्यक्रमबारे जानकारी दिएका थिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनीधिहरुले विद्यालयको सफलताको कामना गरेका थिए ।
कार्यक्रममा नेमकिपा भक्तपुरका अध्यक्ष न्हुच्छेभक्त फोँजू, राम दुवाललगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रम स्कुल व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर फोँजूको सभापतित्वमा भएको थियो । सोही अवसरमा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

Comments