नेपाल प्राध्यापक समाज वागीश्वरीमा पुनः दाहाल


फाल्गुन २८, २०७८, शनिबार | विहान ०८:०४ बजे | 0


नेपाल प्राध्यापक समाज वागीश्वरीमा पुनः दाहाल

भक्तपुर, २८ फागुन–नेपाल प्राध्यापक समाज वागीश्वरी इकाई समितिको आयोजनामा शनिवार भएको प्राध्यापक भेलाबाट प्राध्यापक ग्याहेन्द्र प्रसाद दाहाललाई सर्वसम्मत चयन गरेको छ । चैत्र २६ गते हुने नेपाल प्राध्यापक समाजको दोस्रो राष्ट्रिय सम्मेलनको सन्दर्भमा आयोजित उक्त भेलाबाट दाहालको संयोजकत्वमा १५ सदस्यीय वागीश्वरी इकाई समितिको पुनःगठन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले उद्घाटन गर्नुहुँदै उहाँले अहिलेको शिक्षण सिकाइ ज्ञान र सिपमा आधारित हुनुपर्ने र त्यसको सही उपयोग गर्न प्राध्यापकहरुले अध्ययन अनुसन्धानलाई क्रियाशिल बनाउनुपर्नेमा जोड दिनुभयो । शिक्षासम्बन्धी किम इल सुङका सिद्धान्त हाम्रो ठाउँमा पनि शिक्षण पद्दतीमा अपनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले देशभक्त र सर्वहारा अन्तर्राष्ट्रियवादको सिद्धान्तलाई अंगिकार गरी विश्वका कुनै पनि देशमा भएका दमन, शोषण र अन्याय अत्याचार विरुद्ध लाग्न विद्यार्थीहरुलाई उत्प्रेरित गर्नुपर्ने स्पष्ट पार्नुभयो । उहाँले अनुसन्धानको महत्वबारे स्पष्ट पार्नुहुँदै वागीश्वरी कलेजले बजेटको ५% अर्थात् २८ लाख रुपैयाँ अनुसन्धानकै निम्ति लगानी गरेकोमा सबैले त्यसको सदुपयोग गर्नुपर्ने औंल्याउनुभयो । साथै व्यक्तिवादी र स्वार्थी भावनाको अन्त्य गरी उत्पादनमुखी शैक्षिक पद्दतीको विकासमा जोड दिनुहुँदै उहाँले सिद्धान्त र विचारलाई बहस, छलफल र प्रश्नोत्तरको माध्यमबाट व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । उहाँले उच्च शिक्षाको मुख्य लक्ष्य अनुसन्धान नै भएकाले हरेक प्राध्यापकहरुले अनुसन्धानमुखी कार्यमा जोड दिनुपर्ने र विद्यार्थीलाई स्वतन्त्र, सृजनात्मक र सामाजिक बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले वागीश्वरीको प्रगति हेर्न नचाहेका केही सामाजिक तत्वहरुका कारण वागीश्वरी प्रगतितर्फ जान नरोक्ने जिकीर गर्नुभयो । माओवादी, एमाले, कांग्रेसजस्ता पार्टीभित्र विचारभन्दा पदलोलुपता देखिएको तर नेपाल मजदुर किसान पार्टीभित्र पदभन्दा विचार र सिद्धान्तलाई अंगिकार गर्दै हरेक निर्वाचनलाई उपयोग गर्दै आइरहेको उहाँले बताउनुभयो । साथै उहाँले समाजलाई बाटो देखाउन र पार्टीको सिद्धान्तभित्र रही पार्टीलाई राम्रो मार्ग निर्देश गर्ने कार्यमा बुद्धिजिवी र प्राध्यापकहरुको योगदान हुने स्पष्ट पार्नुभयो । संसदीय व्यवस्थामा साँचो रुपमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका नेमकिपाले आफ्नो घोषणापत्र अनुसार स्पष्ट विचार राखेर काम गरिरहेको उहाँले औल्याउनुभयो । उहाँले वागीश्वरीलाई मानव विश्वविद्यालयको रुपमा अगाडि बढाउन सकेमा ख्वप विश्वविद्यालयको राम्रो जग वागीश्वरी हुने विश्वास गर्दै उहाँले हामीमा आकांक्षा हुनुपर्ने बताउनुभयो । हामी क्रान्तिकारी संसदवादी भएकाले संसदको उपयोग गर्दै जनताको सेवा गरिरहेको स्पष्ट पार्दै उहाँले अन्य दल वर्तमान संसदीय व्यवस्थाको दलदलमै फसेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य एवं प्र.अ. कृष्ण प्रसाद धन्छाले समाज परिवर्तनका लागि प्राध्यापकहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय विचार निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले जर्नलमार्फत अनुसन्धानात्मक लेख लेखी वृत्ति विकास गर्नुपर्ने औल्याउनुभयो । प्राध्यापकहरुको साझा प्रयासले नै विद्यार्थीको सफलता हुने बताउँदै उहाँले कुनै पनि विद्यार्थीले क्षमता अनुसारको कार्य र पेशा रोजेर जीवन निर्वाह गर्न सिकाउनुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य एवं कलेजका प्राचार्य धन कुमार श्रेष्ठले विश्वविद्यालयका परिवर्तित विभिन्न नीति नियमले पढ्न चाहेका विषयमा भर्ना हुन नपाएको हुँदा समयमै ती विषयमा विद्यार्थीहरुलाई सचेत पार्नुपर्ने बताए । उहाँले अनुसन्धानात्मक कार्यकै आधारमा विश्वविद्यालयले मूल्यांकन गर्ने भएकाले हरेक प्राध्यापकहरुले त्यस्तो लेख रचना लेख्न जोड दिनुभयो ।
केन्द्रीय कोषाध्यक्ष सुशिला कर्माचार्यले देशको जल्दोबल्दो राजनीतिक अवश्थालाई दृष्टिगत गरी यस वागीश्वरीबाट एमसीसी सम्झौता विरुद्ध निरन्तर आन्दोलनमा सरिक भएको बताउँदै उहाँले समाजको सकारात्मक परिवर्तनका लागि शिक्षक प्राध्यापक नै अग्रसर हुनुपर्ने बताउनुभयो । समाजका सदस्य निरु ताल्चाभडेलले स्वागत गर्नुभएको उक्त कार्यक्रममा समाजका अध्यक्ष ग्याहेन्द्र प्रसाद दाहालले छिमेकीलाई वास्तै नगरी टाढाको अमेरिकासँग सम्बन्ध राख्नुको परिणाम युक्रेन र रुसको युद्ध भएको चर्चा गर्दै उहाँले एमसीसी सम्झौताका कारण नेपालको स्थिति पनि त्यस्तो हुनसक्नेतर्फ संकेत दिनुभयो । भेलामा प्राध्यापक भानुभक्त हुमागाईले पनि बोल्नुभएको थियो ।
पुनर्गठित समितिको सचिवमा भानुभक्त हुमागाई, कोषाध्यक्षमा सुशिला कर्माचार्य, सदस्यहरुमा उकेश सुवाल, इन्द्र बहादुर खुलिमुली, शिव बहादुर खुलिमुली, निरु ताल्चाभडेल, नवीन प्रजापति, रविन्द्र किवानायो, राजन फेलु, अमर दली श्रेष्ठ, सुन्दर राजचल, नारायणदेवी दुवाल, बब्लुकुमार राउत, जगनाथ खतिवडा रहेका छन् ।

Comments