महिलालाई समान होइन, विशेष अधिकार दिनुपर्छ
फाल्गुन २८, २०७८, शनिबार | विहान ०४:२६ बजे | 135
भक्तपुर । महिलाहरुलाई पुरुष सरह हरेक क्षेत्रमा अघि बढाउन पुरुषहरुले नै वातावरण बनाउनुपर्नेमा भक्तपुरका सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले महिलाहरुलाई समान अधिकार भन्दा पनि विशेष अधिकार दिनुपर्नेमा जोड दिएका छन् ।
११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा शुक्रवार भक्तपुरमा आयोजित ‘नेपालमा महिलाको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले समान अधिकार दिएर मात्र होइन, समान व्यवहार गरेर महिलालाई अघि बढाउन जोड दिएका हुन् ।
कार्यक्रममा प्रस्तुतीकरण गर्दै राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले समान अधिकार भए पनि निर्णय प्रक्रियामा महिलाको सहभागिता न्यून रहेको बताउनुभयो । उहाँले मिर्गौला दाताहरुमध्ये ७२ प्रतिशत महिला रहेको जानकारी दिँदैं छोरीको जन्मदेखि नै विभेद् र भेदभाव हुने गरेको पाइएको बताउनुभयो । उहाँले जबसम्म पोषण र घर व्यवहारमा समान पहुँच हुँदैन, तबसम्म महिलाहरु पीडित भइरहने अवस्था रहेको बताउनुभयो ।
राज्यको आरक्षणको व्यवस्थाले हरेक क्षेत्रमा महिलाको संख्या बृद्धि हुँदै गएको भएता पनि न्यायको पहुँचमा महिलाहरु पुग्न नसकेको, हिँसाका घटनामा मेलमिलाप गराउन बाध्य पार्ने, पिडकको पक्षमा निर्णय हुने समस्या रहेको बताउनुभयो ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले महिला सशक्तिकरणका लागि सबै क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकतालगायतका समस्या रहेकाले राजनीतिक दलहरुले पनि यसबारेमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले प्रशासनकोतर्फबाट महिलालाई न्याय दिने सवालमा कुनै कमी हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले भक्तपुरमा महिलामाथि हुने हिंसाको अवस्थाकाबारेमा जानकारी दिदैं जिल्लामा घरेलु हिँसाको हिस्सा अत्यन्त ज्यादा रहेको बताउनुभयो । उहाँले आर्थिक, सामाजिकलगायतका कारणले महिलामाथि हिँसा हुने गरेको पाइएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक सभापति रमेश खड्काले महिलाहरु आफुपनि सक्षम छु भन्ने भावनाले हरेक क्षेत्रमा पुरुषसरह अघि बढ्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका उपाध्यक्ष रोजिना थापाले महिलाहरुले सुत्केरी भएकै कारण कामबाट निकालिनु परेको, काम छोड्न बाध्य हुनुपरेको अवस्था रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव संजीप घिमिरे, पत्रकारहरु मैंया त्वानावासु, कृष्ण किसी, नविना खर्वुजा, लक्ष्मी गारु, रेणु त्वानावासुलगायतले महिलाहरुले घरव्यवहारदेखि कार्यस्थलसम्म हुने गरेका विभेदका घटनाहरुकोबारेमा चर्चा गर्नुभएको थियो ।