आधारभूत विद्यालय समितिको २३ औं वार्षिकोत्सव सम्पन्न
फाल्गुन २६, २०७८, बिहीबार | विहान ११:२४ बजे | 20
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आधारभूत विद्यालय समितिको २३ औं वार्षिकोत्सव कार्यक्रम बिहीबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले आधारभूत तह विद्यार्थीहरुको शैक्षिक जग भएको हुँदा त्यसमा सुधार ल्याउन नगरपालिकाले समय समयमा आर्थिक तथा भौतिक सहयोगकाको क्रम जारी रहेको बताउनुभयो ।
शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै भक्तपुर नगरपालिकाले ‘एक घर एक स्नातक’ अभियानलाई पूर्णता दिने क्रमलाई निरन्तरता दिँदै आएको बताउनुहुँदै उहाँले गरिब विद्यार्थीलाई शैक्षिक ऋण, इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषा र संस्कृति पढ्ने नगरबासीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको चर्चा गर्नुभयो ।
भक्तपुरको शैक्षिक विकासमा यहाँ विद्यालयहरुको शैक्षिक स्तरले महत्वपूर्ण योगदान पुर्याएको बताउनुहुादै उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाले जोड दिँदै आएको छ भन्नुभयो ।
महाकाली सन्धीजस्तै देशघाती एमसीसी सम्झौता पनि नेपालको हितमा नभएको उल्लेख गर्नुहुँदै उहाँले शासक दलहरुले गरेका देशघाती सन्धी सम्झौताहरुबारे विद्यार्थीहरुलाई सचेत र संगठित गर्दै लानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमका सभापति एवम् आधारभूत विद्यालय समितिका अध्यक्ष दिपक माकले समितिको प्रगति विवरण प्रस्तुत गर्दै समितिले स्थापनाकालदेखि नै आफ्नो उद्देश्य प्राप्त गर्न विविध गतिविधि गर्दै आएको र शिक्षकको पेशागत हकहित सुरक्षित गर्न विद्यालयको स्तरवृद्धिमा सामूहिक प्रयास गर्दै आइरहेको बताउनुभयो ।
माध्यमिक विद्यालय समितिका संस्थापक सदस्य तथा प्रथम अध्यक्ष विश्वराम कवांले शिक्षकहकरुले विद्यार्थीहरुलाई शिक्षाको ज्योति दिई समाज परिवर्तनमा विशेष योगदान गर्ने हुँदा शिक्षकहरुको सम्मान आवश्यक भएको औंल्याउनुभयो ।
कार्यक्रममा समितिका संस्थापक सदस्य जीवनराज राजोपाध्यायले समितिको विकास र उद्देश्यमाथि प्रष्ट पार्नुभयो भने समाजसेवी हिमालयश्वरलाल मूल, सहसचिव मधुमाया प्रधान र शिक्षक सूर्य फोँजुले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
सोही क्रममा वार्षिकोत्सवकै अवसर पारेर माध्यमिक विद्यालय समितिले अनिवार्य तथा स्वेच्छिक अवकाश प्राप्त, नवनियुक्त तथा माध्यमिक विद्यालय समितिका संस्थापक सदस्यहरुलाई सम्मान गरेको थियो । साथै विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयीहरुलाई पनि मेडल र सम्मान पत्र प्रदान गरेको थियो ।