एमसीसीविरुद्धका प्रर्दशनकारी अझै प्रहरीको नियन्त्रणमा
फाल्गुन २५, २०७८, बुधबार | दिउँसो ०१:४५ बजे | 55
भक्तपुर । एमसीसीविरुद्ध आन्दोलनमा होमिएका ८ जना प्रर्दशनकारी अझै प्रहरीको नियन्त्रणमा रहेका छन् । भक्तपुरका विभिन्न क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएका ति आन्दोलनकारीहरुलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज धरौतीमा रिहा गरिए पनि बानेश्वर प्रहरीको आदेशमा तिनीहरुलाई जगाति प्रहरीबाट बानेश्वर प्रहरीमा सारिएको छ ।
फागुन १३ गतेदेखि प्रहरी नियन्त्रणमा राखिएका ति आन्दोलनकारीहरुलाई अभद्र ब्यवहार सार्वजनिक मुद्धा अन्तर्गत जगाति प्रहरी चौकीमा राखिएको थियो । आज भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा सो मुद्धाको किनारा लगाउँदै धरौतीमा रिहा गरेको थियो । यद्यपी बानेश्वर प्रहरीको अनुरोधमा जगाती प्रहरीबाट आन्दोलनकारीहरुलाई बानेश्वर प्रहरीमा लगिएको थियो ।
भक्तपुर जिल्ला प्रशासनसँग जोडिएको मुद्धा सकिएको तर तिनीहरुसँग अरु के कस्तो केस जोडिएको छ सो बारेमा आफूलाई जानकारी नभएको भन्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तिनीहरुसँग छलफल गरी नै धरौतीमा रिहा गरेको बताइन ।
जगाती प्रहरीका सूर्यबहादुर शाहीले भने एमसीसी विरुद्ध आन्दोलनकाक्रममा प्रहरी नियन्त्रणमा रहेका सबै जनालाई बानेश्वर प्रहरीमा जम्मा गर्ने भनि सर्कुलेशन भएकाले भक्तपुरबाट बानेश्वर पठाएको बताए ।
जिल्ला प्रशासन कार्यालयमा ३ हजार ५ सय धरौती राखी रिहाका लागि जगाती प्रहरीमा पुर्याएका आन्दोलनकारीलाई बानेश्वर प्रहरी चौकीबाट छोडिने भन्दै जगाती प्रहरीबाट बानेश्वर लगिएकाहरुलाई बानेश्वर प्रहरीको हिरासतमै राखिएको कुरा आपतिजनक रहेको भन्दै नागरिक अभियान्ता अप्सरा घिमिरेले खेडव्यक्त गरेको छ । एमसीसी विरुद्ध फागुन १६ गते नेपाल बन्द घोषणा गरे लगतै फागुन १३,१४,१५ गते ७ जनालाई प्रहरीले भक्तपुरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको घिमिरेले जनाए । यसरी १४ दिन देखि प्रहरी नियन्त्रणमा रहेका आन्दोलनकारीहरु बद्री प्रसाद पराजुली, सुमन विक, राजन घिमिरे, सुरज राय, अनिल पराजुली , अनिपाल विक, दिक्पाल शाही रहेको अभियान्ता घिमिरेले बताए । प्रहरी नियन्त्रणमा राखिएका आन्दोलनकारीलाई छुटाउन लागि परेका मनिक लामा पनि फागुन १६ गते प्रहरी नियन्त्रणमा राखिएको उनले बताए । शान्तिपूर्ण आन्दोलनमा लागेकाहरुलाई यसरी प्रहरी नियन्त्रणमा राखिनु प्रजातान्त्रिक पद्धति नभएको भन्दै घिमिरेले विरोध जनाएको छ।