सल्लाघारीस्थित मुपुज्व गणेश मन्दिर उद्घाटन


फाल्गुन २४, २०७८, मङ्गलबार | विहान ०६:०९ बजे | 65


सल्लाघारीस्थित मुपुज्व गणेश मन्दिर उद्घाटन

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित मुपुज्व गणेश मन्दिर उद्घाटन र शिलापत्र अनावरण मंगलबार गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै मुपुज्व टोल सुधारको पहल, भक्तपुर नपा र स्थानीय जनताको आर्थिक तथा भौतिक सहयोगमा गणेश मन्दिर पुनःनिर्माण भएको खुशी व्यक्त गर्नुहँुदै पुनःनिर्माण तथा जीर्णोद्धार भएका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाको निरन्तर संरक्षण र मर्मत सम्भार गर्नुपर्ने आवश्यकता औंल्यानुभयो ।
निर्वाचित जनप्रतिनिधिहरु इमानदार भए देश र समाज निर्माणमा टेवा पुग्ने बताउनुहुँदै उहाँले जनताको साथ र सहयोगले भक्तपुरको चौतर्फी विकास निर्माणमा मद्दत पुगेको बताउनुभयो ।
भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने कोसिस भक्तपुर नपाले गरिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले नपाले उपभोक्ता समितिमार्फत पुरानो प्रविधि प्रयोग गरी मौलिक शैलीमा यहाँका सम्पदाहरुलाई पुनःजीवन दिने काम गरिरहेको छ भन्नुभयो ।
देशको खरबौं बजेट सीमित ठेकेदारहरुको हातमा पुग्नु गलत भएको बताउनुहुँदै उहाँले भक्तपुर नपाले विकास निर्माणका सबै कामहरुमा उपभोक्ता मोडललाई नै जोड दिँदै आएको चर्चा गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुरको सल्लाघारीमा अवस्थित रानीपोखरी सर्वसाधारणको निम्ति खुल्ला भएको, भाजुपोखरी पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेको र नःपली सिर्जना नगरको इसानेश्वर मन्दिर मौलिक शैलीमै निर्माण गर्ने तयारीमा जुटेको बताउनुभयो ।
इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरका सांस्कृतिक एवम् पुरातात्विक सम्पदाहरु जीर्णोद्धार र पुनःनिर्माणमा भक्तपुर नपासँग सहकार्य गरी काम गर्ने अवसर मिलेकोमा गौरवान्वित महसुस भएको बताउनुहुँदै भक्तपुरको सांस्कृतिक पुनःजागरणमा भक्तपुर नपाले गरेको कामहरु उल्लेखनीय भएको र भक्तपुर नपा नेपालकै आदर्श नगर बन्न सफल भएको छ भन्नुभयो ।
च्वङा गणेश विकास संस्थाका अध्यक्ष लक्ष्मीनारायण राजलवटले सल्लाघारीमा च्वङा गणेश विकास समितिको भूमिकामाथि प्रष्ट पार्दै मुपुज्व गणेश मन्दिर निर्माणमा सहयोग गर्ने सबैमा धन्यवादज्ञापन गर्नुभयो ।
मुपुज्व टोल सुधार समितिका सचिव कृष्णगोविन्द मुलगुठीले मन्दिर निर्माणबारे जानकारी तथा आय व्यय प्रस्तुत गर्दै मन्दिर निर्माणमा जम्मा रु. ३७ लाख ४४ हजार ६०४ रुपैयाँ खर्च भएकोमा विभिन्न संघ संस्था र चन्दादाताहरुबाट रु. २६ लाख ६७ हजार ३ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको अवगत गराउनुभयो । उहाँले मन्दिर पुनःनिर्माणमा रु. १०,००० भन्दा माथिको सहयोग गर्ने संघ, संस्था तथा दाताहरुको नाम शिलापत्रमा उल्लेख गरेको अवगत गराउनुभयो ।
कार्यक्रममा १ नं. वडाका वडा सदस्य सूर्यप्रसाद श्रेष्ठ, मुपुज्व टोल सुधार समितिका अध्यक्ष शारदाभक्त वैद्य, समितिका उपाध्यक्ष रामलक्ष्मी राजलवट र सहसचिव कृष्ण गारुले पनि बोल्नुभएको थियो ।
सोही अवसरमा नगर प्रमुख प्रजापतिले समितिका पदाधिकारी तथा चन्दादाताहरुलाई प्रशंसा पत्र वितरण गर्नुभएको थियो ।
    


Comments