नेता बिजुक्छेँद्वारा गय् भिंद्यो हनुमन्त्ते पुल उद्घाटन
फाल्गुन २१, २०७८, शनिबार | विहान १०:१२ बजे | 25
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं. ७ स्थित गय् भिंद्यो हनुमन्त्ते पुल उद्घाटन गर्नुभयो । शनिबार आयोजित एक समारोहबीच नेता बिजुक्छेँले गय् भिंद्यो हनुमन्त्ते पुल उद्घाटन गर्नुहुँदै शिलापत्र अनावरण पनि गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले नेपालमा विदेशीसँग मागेर देश विकास गर्ने गलत प्रवृत्ति हावी भइरहेको बताउनुहुँदै देश विकासको नाममा माग्ने प्रवृत्ति विकास हुँदा देशको सार्वभौमिकता नै खतरामा पर्दै गइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले आफ्नै स्रोत र साधनको उपयोग गर्दै विकास निर्माणका गतिविधिहरु सञ्चालन गरी देशकै उदाहरणीय नगरपालिकाको रुपमा आफ्नो परिचय कायम गरेको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले सम्पदा संरक्षण तथा विकास निर्माणमा भक्तपुर नगरपालिकाले गरेको पारदर्शी काम उल्लेखनीय भएको बताउनुभयो ।
भक्तपुरका जनप्रतिनिधिको सक्रियता र इमानदारिताले गर्दा भक्तपुर आज देशकै नमुना नगरको रुपमा विकसित भएको हो, उहाँले भन्नुभयो ।
भक्तपुर नपाले नगरबासीहरुको हितको निम्ति नयाँ नयाँ नीतिहरु बनाउँदै लानुपर्ने बताउनुहुँदै उहाँले सडक छेउका फुटपाथ बनाउने र व्यवस्थापन गर्ने, ठाउँठाउँमा सवारी पार्किङको व्यवस्था गर्नेलगायतका कामहरुलाई प्राथमिकतामा राखेर अगाडि बढनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिबाट विकास निर्माणको काम गर्ने भक्तपुर नपाको पहिलेदेखिको परम्परा भएको बताउनुहुँदै भक्तपुर नपाले सार्वजनिक सम्पत्ति संरक्षणमा जोड दिँदै आएको बताउनुभयो ।
नगरपालिकाको अगुवाई र स्थानीय जनताको सहभागितामा निर्मित भक्तपुरकै ठूलो गय् भिंद्यो पुल निर्माणबाट स्थानीय जनताहरुको आवागमनमा समेत सहज भएको र पुल निर्माणसँगै यस ठाउँको आकर्षण बढेको छ, प्रमुख प्रजापतिले भन्नुभयो ।
देशघाती एमसीसीको प्रसंग जोड्दै उहाँले जनता राजनैतिक रुपमा सचेत नभए देश नै नरहने खतरा हुने उल्लेख गर्नुहुँदै शासक दलले सत्ताको लोभमा गरेका देशघाती कामको सचेत जनताले विरोध गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
गय् भिंद्यो हनुमन्त्ते खोला पुल उद्घाटन उपभोक्ता समितिका कोषाध्यक्ष नारायणप्रसाद कवांले पाँच चरणमा उपभोक्ता समितिबाट निर्मित पुल निर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै भक्तपुर नपाको रु. ३ करोड २ लाख ४४ हजार ९६४।१२ र बागमती प्रदेशबाट रु. १ करोड आर्थिक सहयोगमा निर्मित उक्त पुलको कूल खर्च रु. ४ करोड २ लाख ४४ हजार ९६४।१२ रहेको अवगत गराउनुभयो ।
कार्यक्रममा नेमकिपा ७ वडा गोल्मढीका इन्चार्ज बलराम गोसाइँले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने उपभोक्ता समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद ढुकुछुले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सोही अवसरमा प्रमुख अतिथि बिजुक्छेँले गय् भिंद्यो पुल निर्माण उपभोक्ता समिति, अनुगमन समितिका पदाधिकारीहरुलाई प्रशंसा पत्र प्रदान गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमा बिजुक्छेँ (रोहित)ले गय् भिंद्यो पुल २०७५ असार २ गते शिलान्यास गर्नुभएको थियो ।