खाली जग्गामा संरचना बनाउनेभन्दा पार्क बनाऔ


फाल्गुन १९, २०७८, बिहीबार | दिउँसो ०३:४८ बजे | 55


खाली जग्गामा संरचना बनाउनेभन्दा पार्क बनाऔ

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ३ धारापाटीमा रहेको सिद्धेश्वर महादेव मन्दिरको उद्घाटन भएको छ । मंगलबार शिवरात्रीको अवसर पारेर महानगरका मेयर विद्यासुन्दर शाक्यले, मन्दिर उद्घाटन गर्नुभएको हो । महानगरको  जनसहभागितामा आधारित कार्यक्रमअन्तर्गत निर्माण गरिएको मन्दिर बनाउन धारापाटी सामाजिक सेवा समितिले संयोजन गरेको थियो ।
धारापाटी क्षेत्रमा साढे ३ रोपनी जग्गा संरक्षण गरेर पार्क निर्माण गरिदैछ । यही जग्गामा करिब २१ लाख ९४ हजार रुपैयाँ लागतमा मन्दिर निर्माण गरिएको हो ।  

मन्दिर उदघाटनपछि बोल्दै मेयर शाक्यले, सम्पदा पुननिर्माणको प्रगतिमा क्रमशः सुधार हुँदै गएको बताउनुभयो । ‘स्थानीय तह गठन भएपछि पहिलो कार्यकाल भएकोले स्थानीय सरकारको स्वरुप बनाउन कानून र अन्य प्रबन्धमा काम गर्नुपर्ने थियो । यति हुँदाहुँदै पनि हामीले सुरुदेखि नै सेवा प्रवाहका लागि सुविधा सम्पन्न पूर्वाधार र सम्पदा पुननिर्माणमा प्राथमिकता दिने नीति लियौँ । विकासका परिणामहरु विस्तारै आउँछन् । हामीले गरेका कामहरु धमाधम सकिँदैछन् । कतिपय कामहरु सम्पन्न हुने चरणमा छन् । यो प्रगतिलाई मैले सकारात्मक मानेको छु ।’
मेयर शाक्यले खाली जग्गामा संरचना बनाएरभन्दा पार्क बनाएर संरक्षण गर्ने नीति लिएको बताउँदै समुदाय स्तरमा समान धारणा निर्माण गर्न आग्रह गर्नुभयो ।  
शैक्षिक, धार्मिक र स्वास्थ्य क्षेत्र वडा ३ को विशेषता हो । यो विशेषतालाई जोगाउने कामलाई महत्व दिएर हामीले काम गरिरहेका छौँ । कार्यक्रममा वडा ३ का अध्यक्ष दीपक के. सी. ले भन्नुभयो, हामीले २ सय रोपनी जग्गा संरक्षण गरेर पार्क बनाएका छौँ । ८ किलोमिटर सडक विस्तार गरेका छौँ । भैरव, नारायण, शिव, दक्षिणकाली र गणेश मन्दिर निर्माण, पुननिर्माण र मर्मत सम्भार गरेका छौँ ।
त्यस अवसरमा सहभागी स्थानीयले महानगरले अघि सारेका योजनाबाट स्थानीयबासी लाभान्वित भएको प्रतिक्रिया दिएका थिए ।  

Comments