अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुरको ऐतिहासिक न्हुपुखू (रानीपोखरी) उद्घाटन
फाल्गुन १७, २०७८, मङ्गलबार | दिउँसो ०२:५६ बजे | 35
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा जीर्णोद्धार गरिएको भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित न्हू पुखू (रानीपोखरी)को पानसमा द्वीप प्रज्ज्वलन तथा रिबन काटेर उद्घाटन गरे । सोही अवसरमा उहाँले भक्तपुर नपाबाट प्रकाशित रानी पोखरी जीर्णोद्धार २०७८ पुस्तक पनि विमोचन गरे । पोखरीको उद्घाटनसँगै भक्तपुरको ऐतिहासिक रानीपोखरी आजबाट सर्वसाधारण जनताको निम्ति खुल्ला भएको छ ।
रानीपोखरी उद्घाटन गर्दै नेता बिजुक्छेँले नेपाल उत्तर र दक्षिणको संगमस्थल भएको बताउनुहुँदै हाम्रा घरहरु, मन्दिरहरुको शैली उत्तरतिरको र मन्दिर भित्र रहेका सबै कुराहरु दक्षिणतिरको भएको स्पष्ट पारे । उनले धर्म, संस्कृति र वास्तुकलाको माध्यमबाट काठमाडौं उपत्यकालाई एक अध्ययनस्थलको रुपमा विकास गर्न सकिने बताए ।
उनले पुराना पोखरी, ढुंगेधारा, इनारलगायतको प्राकृतिक पानीको स्रोत पहिचान गरी संरक्षण गर्नुपर्नेमा जोड दिदैँ रानीपोखरीको संरक्षणले इतिहासका अध्येताहरुको निम्ति टेवा पुग्ने बताए ।
अध्यक्ष बिजुक्छेँले व्यापक जनताको विरोधबीच एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन गरी जनतालाई धोका दिने शासक दल विदेशी दलाल सावित भएको बताए ।
नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका संघीय सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीका अग्रज तथा जनप्रतिनिधिहरुले २०१९ सालदेखि नै सम्पदा संरक्षण र विकास निर्माणको काम उपभोक्ता समिति र जनताको सहभागितामा सम्पन्न गर्दै आएको बताए ।
भक्तपुर नपाले आफ्नै स्रोत र साधनबाट न्हु पुखू जीर्णोद्धार गरी देशकै लागि उदाहरणीय र उल्लेखनीय काम गरेको बताउदैँ उनले भक्तपुर नपा, नेपाली सेना र स्थानीय जनताको संयुक्त अगुवाईले गर्दा रानीपोखरी जीर्णोद्धार सम्भव भएको बताए ।
संस्कृति र सम्पदा हाम्रो परिचय भएको बताउदैँ उनले सार्वजनिक सम्पत्ति संरक्षणको जिम्मा संघ, प्रदेश र स्थानीय तहकोे होे र सम्पदा संरक्षण संवेदनशील विषय भएकोले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारको जिम्मा ठेकेदारलाई दिनु सम्पदा विनास गर्नुसरह हुने बताए ।
भूमाफियार सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउदै सांसद सुवालले भक्तपुर जिल्लामा मात्र करिब ९१ ठाउँमा विना अनुमति गैरकानुनी ढंगले प्लटिङ्ग भइरहेकोतर्फ सचेत हुनुपर्ने बताए ।
एमसीसी नेपालको संसदबाट पारित भएसँगै नेपालको सार्वभौमिकता खतरामा परेको बताउँदै उनले एमसीसी सम्झौता कार्यान्वयनसँगै नेपालको संविधान कार्यान्वयन नहुने स्थिति उत्पन्न हुने र नेपाललाई सिक्किम वा पूर्वी पाकिस्तानको स्थितिमा पुर्याउने खतरा भएको बताए ।
रानीपोखरी पुनःनिर्माणले भक्तपुरको सुन्दरता र शोभा बढाउने निश्चित भएको बताउँदै नगर प्रमुख प्रजापतिले पोखरीले पर्यटकीय नगर भक्तपुरको थप आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्दै आन्तरिक र बाह्य पर्यटकहरूको आगमनमा समेत ठूलो टेवा पु¥याउने बताए ।
नेमकिपा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले नेपालको ऐतिहासिक धरोहर र सम्पदालाई अझ नयाँपन दिई जीर्णोद्धार गर्नु समयको माग भएको बताए ।
इतिहास बोकेको भक्तपुरको रानीपोखरी जीर्णोद्धार गरी भक्तपुर नपाले देशकै लागि नमुना र उदाहरणीय कार्य गरेको बताउँदैै उनले मौलिक सम्पदालाई जीवन दिने भक्तपुर नपाको प्रयास र अभ्यासलाई इतिहास र विश्व जगतले यथोचित मूल्यांकन गर्ने बताए ।
रानीपोखरी जीर्णोद्धारमा आबद्ध सम्पूर्ण अभिनन्दनका पात्र बन्नुभएको बताउँदैै उनले उपभोक्ता समितिका पदाधिकारीहरुले मनैदेखि देशको सम्पत्ति जोगाउन लागिपरेको बताए ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारालाई सार्थक बनाउँदै ऐतिहासिक रानीपोखरीको जीर्णोद्धार सम्पन्न गरेको अवगत गराउँदै पोखरीको उद्घाटनसँगै सर्वसाधारण जनताको लागि खुल्ला हुने बताए ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राखीपोखरी प्रवेश गर्ने बाह्य पर्यटकहरुलाई न्यून शुल्क उठाउन सके पोखरी संरक्षण, सरसफाई र मर्मत सम्भारमा समेत मद्दत पुग्ने बताए ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भक्तपुर नपाले पोखरीको सम्पूर्ण जानकारी समाविष्ट पुस्तक प्रकाशन गरी उल्लेखनीय काम गरेको बताउँदै रानीपोखरी संरक्षणसँगै पोखरीको सुन्दरता अझ बढेकोे बताए ।
विशेष अदालतका पूर्व न्यायाधीशगौरीबहादुर कार्कीले नेपालका ऐतिहासिक एवम् सांस्कृतिक सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा नेपाल सरकारको प्रत्यक्ष र परोक्ष सहयोग हुनुपर्ने बताउँदै भक्तपुर नपाले विश्व सम्पदामा सूचीकृत सम्पदाहरु उपभोक्ता समितिबाट मौलिक र गुणस्तरीय ढंगले जीर्णोद्धार गर्दै आइरहेको उल्लेखनीय छ भने ।
इतिहास्विद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले ऐतिहासिक रानीपोखरी अध्ययन अनुसन्धानका क्रममा धेरै नयाँ तथ्यहरु पत्ता लागेको बताउँदै पोखरीबारे प्रतिवेदन तयार गर्ने क्रममा वैज्ञानिक ढंगबाट विवेचनात्मक अध्ययन अनुसन्धान गर्न पाएको बताए ।
राष्ट्रिय कला संग्रहालयका कार्यालय प्रमुख मोहनसिंह लामाले नेपाल सेनाको मातहतमा रहेको भक्तपुरको रानीपोखरी संरक्षण र सम्बद्र्धनमा नपाबाट गठित समितिमा बसेर काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै भक्तपुर नपाले उपभोक्ता समिति र जनसहभागितामा गरेको कार्य सराहनीय छ र पुर्खाको सम्पत्ति संरक्षण पनि भएको बताए ।
कार्यक्रममा भनपा १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले रानीपोखरी जीर्णोद्धारको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभयो भने प्राविधिक समितिका सुनिल दुवालले प्राविधिक समितिको प्रतिवेदन प्रस्तुत, भक्तपुर मासिकका सम्पादक लक्ष्मणराज जोशीले नपाबाट प्रकाशित पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेको थियो । कार्यक्रममा भक्तपुर नपाका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि सम्पदको महत्वबारे बोलेको थियो ।
कार्यक्रमका उद्घाटन अगाडि विभिन्न बाजागाजा सहित दुधपाटीबाट ¥याली गरी जनउत्साहका साथ कार्यक्रम स्थलमा पुगी उद्घाटन समारोहमा परिणत भएको थियो ।रु. २ करोड ७५ लाख ९५ हजार १९८।४० को कार्य मूल्यांकन रहेको उक्त पोखरीमा २२ टोलीका ८८४ जनाले जनश्रमदान गरेका थिए भने पोखरीको कूल खर्च २ करोड ५४ लाख ८३ हजार ५८७।४७ रहेको थियो नपाबाट प्रकाशित पुस्तकमा उल्लेख गरिएको छ । पोखरीको उद्घाटनकै अवसर पारेर आजै साँझरानीपोखरी परिसरमा दीपावली गरिएको छ