सकियो भक्तपुर नपाको नगरसभा, के के भए त ?
फाल्गुन १०, २०७८, मङ्गलबार | दिउँसो ०१:२५ बजे | 60
भक्तपुर । भक्तपुर नगरपालिकाको एघारौं नगरसभा २०७८ माघ २६ गतेबाट सुरु भएको सभा फागुन १० गते मंगलबार सम्पन्न भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको एघारौं नगरसभाको आज बसेको बैठकले भक्तपुर नपाको शिक्षा ऐन २०७४ मा संशोधन गर्न बनेको विधेयक, भक्तपुर नपाको केही विनियमलाई संशोधन गर्न बनेको विधेयक २०७८ र भक्तपुर नगरपालिका, ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ मा संशोधन गर्न बनेको विधेयकलगायत सर्वसम्मतिले पारित गर्यो ।
सभामा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाईलगायतका विविध क्षेत्रमा भएका गतिविधिहरूबारे सर्वसाधारण जनतालाई छिटोछरितो र विश्वसनीय रुपमा सूचना प्रवाह गर्न सञ्चारमाध्यमहरुको प्रभावकारी भूमिका रहने बताउनुभयो ।
क्तपुर नपाका जनप्रतिनिधिहरुले जनतालाई दिएको वचन पूरा गरी कार्यकाल सफल भएको बताउनुहुँदै उहाँले सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले उत्कृष्टता हासिल गरेको बताउनुभयो ।
वर्तमान राजनीतिक परिस्थितिका कारण देशमा राजनैतिक संकट निम्तिन सक्ने खतरा रहेको औंल्याउनुहुँदै प्रमुख प्रजापतिले जनप्रतिनिधिहरूलाई जस्तोसुकै परिस्थितिमा देश र जनताको सेवामा लाग्न प्रेरित गर्नुभयो ।
सभाको विशेष समयमा सभासद्हरू सिद्धिराम अवाल, बलराम न्हिसुतु, शिव बाला, श्यामसुन्दर मातां, राजेन्द्र माक, सूर्यप्रसाद श्रेष्ठ, जितेन्द्र मुनंकर्मी र गोविन्द दुवालले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्नुहुँदै भक्तपुरको भगवतीस्थानमा बीमासहितको फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने, टौमढी र दरबार क्षेत्रमा डस्टबिनको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य बीमा कार्यक्रममा भक्तपुरमा प्रभावकारी भएको हुँदा नगर स्वास्थ्य बीमा सुरु गर्नुपर्ने, ख्वप अस्पतालमा सेवा सुविधाहरू थप्दै लानुपर्ने, ख्वप अस्पतालमा कार्यरत कर्मचारीहरूको व्यवहारमा सुधार गर्नुपर्ने, देको मिवा आवास योजनाको काम छिटो सम्पन्न गर्नुपर्ने, हनुमन्त्ते खोला सफाइ अभियान चालु राख्नुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।
सभामा देको मिवा इतापाकेबारे उठेको जिज्ञासाबारे वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले आवास योजनाको पूर्जा वितरण छिटो गर्ने तयारी भइरहेको, खानेपानी समितिका संयोजक महेन्द्र खायमलीले खानेपानी समस्या समाधानको लागि केयुकेएलसँग निरन्तर समन्वय भइरहेको र शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्य रबिन्द्र ज्याख्वले शिशुस्याहार केन्द्रको भवन सुधार गर्दै जाने, भगवतीस्थानमा रहेको जनस्वास्थ्य केन्द्रमा फार्मेसी सेवा सञ्चालन गर्न पहल गर्ने, ख्वप अस्पतालमा अन्य स्वास्थ्य सेवाहरू क्रमशः थपिँदै लाने धारणाहरू व्यक्त गर्नुभयो ।
साथै नगरसभामा भएका सम्पूर्ण गतिविधिहरुको संक्षिप्त प्रतिवेदन वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले सभासमक्ष वाचन गरेर सुनाउनुभएको थियो ।