डा राजेन्द्र कोजू   
नेपालको राजनीति तरङ्गित गरिरहेको एउटा अमेरिकन प्रोजेक्ट हो, एमसीसी । आज नेपालको राजनीति एमसीसीकै भुमरीमा रुमल्लिरहेको छ । यसको पक्ष र विपक्षमा बहस पेचिलो बन्दै छ ।
नेपालमा दल अनुसारको मत फरक मात्र होइन, प्रत्येक नेतापिच्छे फरक मत प्रकट भइरहेका छन् । एक अर्कासँग बेमेल विचार मात्र प्रकट भएका छैनन्, यसको सकारात्मक व्याख्या, नकारात्मक व्याख्या, अपव्याख्या, अलोचनात्मक टिप्पणी त बजारमा छरपष्ट भएकै छन् । यसको अलावा एमसीसीको भुमरीमा कसलाई फसाउने, कसलाई बचाउने भन्ने योजनादेखि यसलाई नेपालको राजनीतिको हतियार बनाउने तहसम्मका अभ्यासहरु खास खास नेताहरुले गरिरहेका छन् । जुन आजका दिन सतहमा आइसकेको छ ।
बडा राष्ट्रको तावेदारी गर्ने नेपालका नेताहरु र दलहरुको चेलखेल र चालहरु मिहिन ढङ्गले अध्ययन गर्न वाञ्छनीय छ । नेताहरुका द्वैध चरित्र र द्वैध मानसिकताका कारण नेपाली जनतामा भ्रम र शंका उत्पन्न भएको छ । नेपालको राजनीतिमा स्पष्टता, पारदर्शिता र इमान्दारिता नभएको तथ्य विस्तारै उदाङ्गो हुँदै गएको छ ।
राजनितिक नैतिकता, इमान्दारिताविना गरिने राजनीति जालझेल, झुठ र भ्रमको खेती मात्रै हुन्छ । कसैसँग आग्रह र पूर्वाग्रह नराख्ने हो भने घटनाक्रमले आजका दिनका. रोहितले भनेजस्तै आफूलाई ठूला भनाउँदा दलका नेताहरु ‘ट्रोजन हर्स’ सिद्धं हुने हो कि भनी शंका गर्ने आधारहरु बलियो बन्दै गएका छन् । तसर्थ, दल र नेताको पछाडि लागेर हो हो भन्दै कुद्नु अगाडि देशभक्ति भावना, देशप्रेमको भावना बोकेर राष्ट्र, देश र राष्ट्रियता बचाउन सबैले सचेतता पूर्वक सोच्न आवश्यक भइसकेको छ । प्रत्येक दलका नेताहरुलाई सबै कोणबाट विश्लेषण गर्दै शंकाको दृष्टिले सचेत भएर बुझ्न पढ्न र हेर्न अत्यावश्यक भइसकेको छ । अब दलको जित र नेताको जितको लागि होइन, देशको जितको लागि जनताको हितको लागि चुनावमा बोल्ने र भोट हाल्ने समय आएको छ । किनभने शंका सबैको लागि ग्राह्य भइसकेको छ । शंका आमा होऊन् या वुद्ध, सबैलाई गर्न मिल्छ । थोरै शंकाको द्दष्टिले हेर्दा केही लुप्त पक्षहरु उजागर हुने सम्भावना हुन सक्छ । त्यसको अर्थ सबै कुरामा शंका, अविश्वास नै गर्नुपर्छ भन्ने चाँहि होइन । यसो हुँदा पनि खतरा उत्पन्न हुन सक्छ । तर समयले, परिस्थितिले कोही पनि नेता शंकाको घेरा भन्दा बाहिर छैनन् भन्ने तथ्य स्पष्ट भइसकेको छ ।
एमसीसीको कुकुर झगडा कसरी ?
हामी मासु पसलको वरपर झुमिरहेका कुकुरहरु देख्छौं । जो अत्यन्त बलियां, हिंस्रक र आक्रामक हुन्छन् । तिनीहरु एकदुई टुक्रा मासुका चोक्ता कहिले फालिएला र मौका छोपुँला भनेर पर्खिरहेका हुन्छन् । सबै अवसरका भोका हुन्छन् । यसैबीच मासु पसलेले, काम नलाग्ने नै सही एक टुक्रा मासु फाल्दा, उक्त मासु कव्जा गर्न ती भोका कुकुरहरु छिनाझम्ती गर्छन्, एकले अर्कालाई भुक्छन्, टोक्छन् र तँछाडमछाड गर्दै लड्छन्, झगडा गर्छन् । वास्तवमा एमसीसी परियोजना, अमेरिका र नेपाली राजनीतिका नेताहरुबीचको तस्विर उपर्युक्त घटनासँग मेल खाएको देखिन्छ । सबै याल चुहाएर बसेका छन् । कसले वा कसको पालामा, कसरी कमभन्दा कम राजनीतिक क्षति हुनेगरी रकम हात पार्ने भन्ने दाउमा रहेको अवस्था हो । सबै दल र नेतासँग नेपालको गरिबीका कारण दरिद्र मानसिकता कहिँ न कहिँ छचल्किएको छ । एमसीसीको बहस अब सम्हाल्नै नसक्ने गरी जनताबीच पोखिएका कारण सबै नेता पानी माथिको ओभानो बन्न खोजेको अवस्थाको बीचमा हामी छौं । मिल्ने भए तैं चुप मैं चुप गर्थे तर परिस्थितिले एकले अर्कालाई चोरको दोषारोपण गर्दै छन् । आज खराबहरुका बीचमा कम भन्दा कम खराब रोज्नुपर्नै अवस्थाका बीच नेपाली जनता चुनावमा होमिनुपर्ने अवस्थामा पुगेको छ । खासमा पहुँच नपुगेका भाग नपुग्ने वा नपाउने साना दलहरु कागलाई वेल पाक्यो हर्ष र विस्मात भनिरहेका छन् । र ती दलका नेताहरु पनि आजका ठूला दलका नेताहरुकै हैँसियतमा हुन्थे भने तिनीहरु पनि हुन्न हुन्न भन्दै टाउको हल्लाउने तर मौका पाउँदा दश भाग घिच्न रस्साकस्सी नै गर्छन् भन्ने बुझ्न अब नेपाली जनतालाई धेरै सोच्नु पर्दैन ।
चुनाव र एमसीसी
एमसीसीको बहस पेचिलो बन्दै जाँदा वैशाख ३० गते स्थानीय चुनावका घोषणा भैसकेको छ । चुनावका लागि एमसीसी राम्रै मसला बन्ने देखिन्छ । चुनावमा एकले अर्कालाई राम्रैसँग पुग्ने गरी गाली बेइज्जत गरी भाषण गरी जनताको ताली खान र भोट बटुल्न एमसीसी ट्रेण्डिङ्गमा पुग्ने देखिन्छ ।
यहीबीच चुनाव आउन ९३ दिन बाँकी रहँदा प्रचण्डको पोल खोल्न शुरु भैसकेको छ । सामाजिक सञ्जालमा नेपाली राजनीतिको फोहरको दुर्गन्ध फैलिन थालेको छ । एकले अर्काको कमजोरीलाई उदाङ्गो पार्ने कसरत शुरु गरिसकेका छन् । सबैका कर्तुतहरु समयसंगै छत्ताछुल्ल बन्न थालेका छन् । अहिले चुनाव नसकिएसम्म एमसीसी परियोजनाको जति विरोध गरे पनि चुनावपछि सबैको राष्ट्रवादको खोपडी उदाङ्गो हुनेछ । चुनाव अगाडि जति देशभक्ति र राष्ट्रवादको गीत गाए पनि चुनावपछि यो सहयोग रकम नै हो, विकास परियोजनाका लागि दिएको सहयोग रकम नै हो भनी परिवर्तित राजनीति प्रणालीको खर्च व्यवस्थापन र विकास परियोजनाका लागि दिएको सहयोग रकम नै हो भनी एमसीसीलाई स्वीकार्ने योजनामा नै छन् यी शासक दलहरु । एमसीसीको हल्ला चुनावसम्म पक्षमा जति गरे पनि, वा विपक्षमा जति गरे पनि, अन्ततः चुनावपछि यी शासक दलहरुले स्वीकार गर्ने निश्चित छ । जनताले भोट हाल्ने यी दलहरुलाई हुन्, यी नेतााहरुलाई नै हुन् । किनभने यी दलहरुसँग संगठित कार्यकर्ता छन्, क्रियाशील सदस्य लाखौंमा छन् । अरु असंगठित नागरिकको संख्या जति ठूलो भए पनि चुनावमा प्रभाव पार्नसक्ने ल्याकत राख्दैनन् ।
एमसीसीबारे जनमत संग्रहः कुरा हावादारी
राजनीतिक वृत्तमा एमसीसीको विषयमा जनमत संग्रह गर्नुपर्ने हावादारी कुरा चल्न थालेका छन् । गनेचुनेका नेताहरुको मुखबाट यी कुराहरु बाहिर आएको सुन्दा अचम्म लागेको छ । जनमत संग्रह राष्ट्रिय महत्व, दूरगामी महत्वका कुनै विषय र एजेण्डामा निर्णय गर्न जनताको अभिमत बुझ्न गरिने चुनाव वा प्रजातान्त्रिक व्यवस्था हो । राजनीतिक प्रणाली, व्यवस्था र संविधानसँग वाझिएका विषयहरुमा जनमत विभाजित भएमा सो विषयमा निर्णय गर्न सरकारले जनमत संग्रह गर्न सक्छन् । तर फाल्तु विषयहरुमा, अरु देशसँग आर्थिक अनुदान लिने कि नलिने भन्ने जस्ता स–साना विषयहरुमा समेत जनमत संग्रह गर्दै जाने हो भने चुनाव मात्रै गरेर नेपालको आर्थिक अवस्था धराशायी हुने अवस्था आउन बेर लाग्दैन । त्यसकारण यो बेतुकको तर्क हो ।
चित्र र चरित्रमा फरक
नेपाली राजनीतिको सबैभन्दा खतरनाक शत्रु भनेको नेताको चित्र र चरित्रमा मेल नखानु हो । सिद्धान्त र व्यवहारमा कुनै पनि तालमेल नखाने अवस्था बारम्बार देखिने गरेको छ । पार्टीका सिद्धान्त अनुसारको स्कूलिङ्ग र व्यवहार गर्नुका सत्ता आफू शक्ति र सत्तामा पुगेपछि सैद्धान्तिक विचलन, साँस्कृतिक विचलन आउने गरेको थुप्रै उदाहरणहरु छन् । तसर्थ राम्रो चित्र भएका, समाजले आशा गरेका, समाजले पत्याएका नेताहरु नै पछि आएर राजनीतिक हुने गरेको हो । वर्षौं लगाएर तयार गरिएका नेताहरु क्षणभरमा पतन हुने गरेका छन् । यसले सिंगो, समाज, राष्ट्र र देशलाई घाटा हुने निश्चित छ ।

...

All Comments.......


Please Login/Register To Comments