नेकको मुद्धा विशेष अदालतमा दर्ता, काराबाही होला त लम्वोदरमाथि ?


माघ २७, २०७८, बिहीबार | साँझ ०४:०२ बजे | 65


नेकको मुद्धा विशेष अदालतमा दर्ता, काराबाही होला त लम्वोदरमाथि ?

काठमाडौ । नेपाल इन्जिनीयरिङ कलेज (नेक) चाँगुनारायणका सञ्चालक लम्बोदरकुमार न्यौपानेसहितका सञ्चालकले कलेजको १५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरी मनि लाउन्ड्रिङ गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ । विभागका सूचना अधिकारी विनोदकुमार दाहालका अनुसार ती सञ्चालकले सामाजिक संस्थाको आम्दानी ठगी गरेर थप आर्जन गरेको अनुसन्धानबाट देखिएपछि बिहीवार विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।
सञ्चालक लम्बोदर न्यौपानेले १२ करोड ४४ लाख १२ हजार सात सय ५५ रुपैयाँ, रामराज उपाध्याय र इन्दिरा उपाध्याय समेतले १ करोड २५ लाख ३८ हजार ६२ रुपैयाँ, उपेन्द्र गौतमले २ करोड २९ लाख ६७ हजार दुई सय ११ रुपैयाँ ठगीको कसूर गरी सम्पत्ति आर्जन गरेको अभियोगपत्रमा उल्लेख छ ।
सञ्चालकहरू लवराज भट्टराईले २ करोड ७९ लाख ५५ हजार ६ सय रुपैयाँ, सञ्चालक सूर्यबहादुर केसीकी पत्नी प्रेमकुमारी केसीले २ करोड ३४ लाख २१ हजार पाँंच सय रुपैयाँ, हरिप्रसाद पाण्डेले २ करोड ४३ लाख ४९ हजार दुई सय सात रुपैयाँ, दिपकप्रसाद भट्टराईकी पत्नी इल्या दीक्षित भट्टराईले ३६ लाख ५९ हजार रुपैयाँ आपराधिक कसूरबाट आर्जन गरेको उल्लेख छ ।
सातै जना प्रतिवादीको छुट्टाछुट्टै बिगो रकम कायम गरी बिगोको तेब्बर रकम जरिवाना तथा कसूरको मात्रा अनुसार २ देखि १० वर्षसम्म कैद सजायको माग गरिएको छ ।
यसरी गरिएको देखियो ठगी
२०५१ सालमा नेपाल इन्जिनीयरिङ कलेज स्थापना भएको थियो । सञ्चालक लम्बोदरकुमार न्यौपानेसहिताले कलेजको स्थापना गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट इन्जिनीयरिङ पढाउने सम्बन्धन पाएको कलेज २०५६ सालमा सामाजिक संस्थाको रूपमा दर्ता भएको थियो ।
चाँगुनारायण गाविसका ६ सय जना व्यक्तिको हस्ताक्षरसहित सार्वजनिक एक सय ७४ रोपनी जग्गा इन्जिनीयरिङ कलेजको भोगाधिकारका लागि दिने भनेपछि कलेजलाई सार्वजनिक जग्गा भोगाधिकारका लागि दिइएको थियो ।

शुरूमा ललितपुरको कुपण्डोलमा सञ्चालन भइरहेको कलेजले चाँगुनारायणमा संरचनाहरू निर्माण गर्न थालेको थियो । सार्वजनिक जग्गा समेत भोगाधिकार गर्न पाउने भएपछि २०६० सालमा संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सामाजिक संस्थाको रूपमा कलेज दर्ता भएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सूचना अधिकारी विनोदकुमार दाहालका अनुसार सञ्चालक न्यौपानेले फेरि प्रालिको रूपमा संस्थाको स्वामित्व परिवर्तन गराएर ठगी गरेका थिए ।
कलेजबाट हुने गरेको आम्दानी न्यौपानेले प्रालि बनाएर डेढडेढ करोड रकम सञ्चालकहरूले आ–आफ्नो निजी खातामा जम्मा गरेका थिए । सामाजिक संस्थाबाट भएको आम्दानीको रकम सञ्चालकहरूले आ–आफ्नै निजी खातामा निजी आर्जनको स्वरूपमा जम्मा गरेपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा उजुरी परेको थियो ।
सञ्चालक हरिप्रसाद पाण्डेले नै अन्य सबै सञ्चालकलाई प्रतिवादी बनाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सीआईबी समेतमा उजुरी दिएका थिए ।
सामाजिक संस्थालाई निजीमा रूपान्तरण गरी संस्थाको आम्दानी निजी खातामा राखेर ठगी गरेको सीआईबीको अनुसन्धानबाट समेत देखिएको थियो । गैरनाफामूलक संस्थाको हैसियतमा दर्ता भएर सञ्चालित कलेजको कोषको रकम अध्यक्ष न्यौपानेसहितका सञ्चालकले बेइमानीका नियतले लिने र खाने उद्देश्यले ठगीको कसूर गरेको भन्दै भक्तपुर जिल्ला अदालतले समेत ठहर गरेको थियो ।
रकम ठगी गरेको कसूर स्थापित भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत अनुसन्धान थालेको थियो । विभागले गरेको अनुसन्धानबाट समेत कसूर अपराध गरी आर्जन गरेको सम्पत्तिको गैरकानूनी स्रोत एवं सो कसूरबाट प्राप्त सम्पत्तिलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐन २०६४ अनुसार निषेधित गतिविधिहरू एवं आपराधिक कार्यहरू गरी कसूर गरेको भन्दै विभागले समेत बिहीवार मुद्दा दर्ता गरेको हो ।

Comments