सन्दर्भ शहीद दिवस ः गान्धी सहादत दिवसको सन्दर्भमा ...
माघ १६, २०७८, आइतबार | विहान ०२:०९ बजे | 20
सुनील सापकोटा
इतिहासमा रुची राख्नेहरु सबैलाई जानकारी भएको विषय होला की सन् ३० जनवरी १९४८ का दिन मोहनदास करमचन्द गान्धी अर्थात सबैले चिन्ने महात्मागान्धीले शहादत प्राप्त गरेका थिए । त्यो दिन भारतकै एक भारतीय नागरिक नथूराम गोडसेद्वारा उनको हत्या भएकोले त्यस दिनलाई भारत लगायत विश्वका अधिकाँश देशहरुमा गान्धी शहादत दिवसको रुपमा मनाईदै आएको पाइन्छ ।
“महात्मागान्धीको हत्या हुने उक्त दिन आजभन्दा ७४ वर्ष अघि, सधै झै सूर्योदय पूर्वनै वहाँ व्यूझिनु भयो र परमपिता परमेश्वरको प्रार्थनाको तयारीमा रहनु भयो । त्यसपछि सदाझै वहाँलाई भेट्न आउनेहरुसँग भेँटघाट गर्न थाल्नुभयो । लामो अनसन पछि एक—दुई दिन अघिमात्र वहाँ पूर्णरुपले स्वस्थ हुनु भएको थियो । भेँटन आउने मानिसहरुसँग कुरा गर्दागर्दै आज आफ्नो कम्पाउण्ड भित्रको प्राथना सभामा जान वहाँलाई हतार भईरहेको थियो । यता वहाँको प्रतिक्षामा घडी हेरेर बसेका वहाँका अनुयायीहरु आज ढिलो भएकोमा छटपटाई रहेका थिए । यो कुराको महशुस गान्धी जी लाई पनि भयो र भारत सरकारको गृहमन्त्री सरदार बल्लभभाई पटेलसँग प्रार्थना सभामा जान ढिलो भएको कुरा बताई पटेलबाट छुट्टीई प्राथना सभामा जान कोठा बाहिर निस्कीनुभयो । त्यसपछि वहाँले प्रार्थना सभामा जान आफ्नो सहयोगी आभा र मनुको साथ काँधमा हात राखेर प्रार्थना सभा स्थलतिर जाँदाजाँदै गर्दा वहाँका प्रतिक्षामा बसेका मानिसहरुको भिँडले वहाँलाई घेरे । त्यस भिँडमा गान्धी जी को हत्यारा पनि रहेको थियो । त्यहीबेला हत्याराले नमस्कारको मुद्रामा विस्तारै वहाँको सामुन्नेमा झुक्यो र भन्यो — “ नमस्कार गान्धीजी ! संगै रहेकी मनुले सोँची उ सायद गान्धी जी को चरण स्पर्श गर्न चाहन्छ । मनुले नम्रताका साथ हात उठाएर बाटोबाट उसलाई हटाउन खोज्दै भनिन् , “भाई, आज अलि अवेला भयो ”। त्यसैवेला नथूरामले आफ्नो बायाँ हातले मनुलाई जोडले घकेल्यो । उनी लड्खडाउँदै पर पुगिन । नथूरामको दाहिने हातमा कालो ब्यारेल पेस्तोल चम्कियो । उसले तीन पटक घोडा थिच्यो । प्रार्थना सभाको मैदानमा तीन धमाका भयो । नथूराम गोडसे विफल भएन । मनुले उनको खद्दरको सेतो धोतीमा रगत देखि । गान्धी जी ले यति मात्र भन्न सके — “ हे ! राम ” । त्यसपछि उनी निर्जीव भएर मनुको नजिक भूईमा विस्तारै लडे । चेतनाका अन्तिम क्षणमा उनले आफ्नै हत्यारालाई नमस्कार गरे । त्यो बेला ५ बजेर १७ मिनेट भएको थियो ।
जो भारत माथि गान्धीले आफ्नो जीवन न्यौछावर गरेका थिए, तिनै मध्ये एकले उनको जीवन लियो । सूलीमा एक अर्का इशा ( क्राइष्ट ) चढेको त्यो घटना विश्वको इतिहासमा शुक्रबारकै दिन घट्यो । यसै शुक्रवारका दिन इशा मशिहलाई पनि १००९ वर्ष पहिले मारिएको थियो । उनले त्यसबेला मर्ने बेलामा भनेका थिए — “ हे पिता ! मलाई माफ गर ।” उपरोक्त कुरा “ फ्री डम एट मिड नाइट “ भन्ने अंग्रेजÞी पुस्तकमा उल्लेख गरिएको छ ।
अर्को गान्धी हत्या किन ? भन्ने किताबमा उल्लेख भए बमोजिम नाथूराम गोडसेले अदालतमा बयान दिँदा —“ मेरो जीवनको अन्त्य त्यसै समय भएको थियो जब मैले गान्धी माथि गोलि प्रहार गरे । तसपश्चात मलाई लाग्दछ मानौ म समाधीमा छु र अशक्त जीवन विताई रहेको छु , म मान्दछु कि गान्धीले देशको लागि ठूलो कष्ट उठाउनु भएको छ । जसका कारण म वहाँको सेवा प्रति नतमस्तक छु तर देशको यस सेवकलाई पनि जनतालाई धोका दिएर मातृभूमिको विभाजन गर्ने अधिकार मेरो विचारमा थिएन भन्ने मलाई लाग्छ । म कुनै प्रकारको दया चाहन्न । यो पनि चाहन्न की मेरा तर्फबाट पनि कसैले दयाको माँग गरिदियोस् । आफ्नो देश प्रति भक्तिभाव राख्नु यदि पाप हो भने म स्वीकार गर्दछु की मैले उक्त पाप गरेको छु । यदि यो पुण्य हो भने म त्यसबाट प्राप्त पुण्यप्रति मेरो विनम्र अधिकार छ । मेरो विश्वास दृढ छ की मेरो कार्यनीतिका दृष्टिबाट पूर्णरुपमा उचित छ । मलाई यस कुरामा अलिकति पनि शंका छैन की भविष्यमा कुनै समय सच्चा इतिहासकारले इतिहास लेख्यो भने तिनीहरुले मेरो कार्यलाई उचित ठहर्याउनेछन् ”
यदि गान्धी जी को हत्यारा कुनै मुसलमान रहेछ भने त पुरै भारत भयानक रुपमा रक्तपातमा परिणत हुने आशंका लाई दृष्टिगत गरी अल इण्डिया रेडियाका तत्कालिन निर्देशकले एक असाधारण तर विवेकपूर्ण निर्णय लिएका थिए त्यसबेला । उनले त्यसवेला नहतारिकन गान्धीजी को हत्यागर्ने नथूराम गोडसे हिन्दु मात्र नभई एक ब्राम्हण पनि हो भन्ने समाचार सम्प्रेसण गराएका थिए । यो समाचारले सारा भारत स्तव्ध भएको थियो । जवाहरलाल नेहरुले शोक—सन्देशमा भने— त्जभ ष्निजत जबक नयलभ . वास्तवमा भन्ने हो भने त्यो ज्योती भारतको मात्र नभएर सारा संसार कै थियो । जो त्यस दिन एकाएक गुम्यो । संसारका विभिन्न स्थानहरुबाट हजारौ व्यक्तिहरुको धमाधम श्रद्धाञ्जली आयो , जसमा विभिन्न देशका राजा, महाराजा, राष्ट्रपति, प्रधानमन्त्री लगायत संसारका ख्यातिप्राप्त व्यक्तिहरु थिए । नाटककार जर्ज बर्नार्ड शा ले आफ्नो अविस्मरणिय शोक सन्देशमा भनेका थिए — “गान्धी जी को हत्याबाट यो थाहा हुन्छ की असल हुनु कति खतरनाक छ ” ।
एकसरो कपडा बेरिएको, हातमा लठ्ठी लिएको, दुब्लो पातलो शारीरिक संरचना भएको सात्विक पुरुषका रुपमा त्यस्ता व्यक्तित्व जो भारतको समानुपातिक बाँडफाँडमा एउटा भारतियको भागमा एउटा च्यादर र एउटा धोती भन्दाबढी कपडा पर्दैन भन्ने धारणा बनाई त्यसभन्दा बढी वस्त्र आफुले प्रयोग नगर्ने सिद्धान्तमा अडिग थिए र जसले भारत स्वतन्त्र भएपछि काँग्रेसको साधारण सदस्यता समेत परित्याग गरेका थिए। जो कुनै पद, प्रतिष्ठा र पैसामा पछि लागेनन् , भारतका अधिकाँश केटाकेटीहरु शिक्षाबाट विमुख छन भने म पनि आफ्नो छोराछोरीहरुलाई आम भारतिय केटाकेटीहरु सरह स्कूल नपठाई राख्छु भनी आफ्नो छोराछोरीहरुलाई स्कूलबाट बञ्चित राखे , त्यस्ता महान पुरुषलाई स्वतन्त्रता संग्राममा लडेका एक स्वतन्त्रता सेनानी भारतिय नथूराम गोडसेले हत्या गरेको थियो जो विश्व इतिहासमानै आश्चर्यजनक घटना थियो । प्रायः हत्या र हिँसा जस्ता वारदातहरु खासगरी पृथक विचारधारा धर्मानुयायी व्यक्ति र समूह बीच घटने गर्दछ । तर अचम्मको कुरा यहाँ के थियो भने दुबै व्यक्ति ( हत्यारा र हत्या हुने व्यक्ति ) भारतिय स्वतन्त्रता संग्राम लडेका आर्य समाजी व्यक्तिहरु थिए ।
भारत र पाकिस्तानका हिन्दुहरु माथि मुसलमानहरुद्वारा भएको हिँसा र आक्रमण, विभाजित पाकिस्तानलाई ५५ करोड रुपैया नदिने भारतिय नेताहरुको निर्णयलाई गान्धी जी ले अनसन गरेर दवाव दिई उक्त पैसा भारतबाट पाकिस्तानलाई दिलाएका थिए । भारत र पाकिस्तानको विभागजनमा गान्धी जी को स्वीकृती हुनु का साथै मुसलमानहरुको आलोचना तथा विरोध गान्धी जी ले नगर्नु आदि कारण र दोष नथूराम गोडसेले गान्धी माथि लगाउँदै यही कारणबाट गान्धी जी को हत्या गर्नु परेको कुरा उनले थुनामा रहँदा अदालतमा बयान दिएको थियो ।
नथूराम गोडसे एउटा यस्तो व्यक्तिलाई हिन्दु अतिवाद र साम्प्रदायिकताको जहररुपी नशामा हत्या गर्न पुग्यो , जो भारतमा मात्र नभई गान्धी संसारकै सन्त पुरुष थिए। उनी अध्यात्मिकतावादी एउटा इश्वरीय दूत थिए । उनको भारत छोडो आन्दोलनले सत्य र अहिँसाको प्रयोगबाट ब्रिटिश उपनिवेसिक शासनबाट भारतलाई स्वतन्त्रता दिलाएको थियो । भारत स्वतन्त्र भएपछि गान्धिले कुनैपनि राजनीतिक दल र कुनैपनि सरकारी पद धारण गरेनन । वरु, भारतका सम्पूर्ण जनताहरुको सेवाका लागि सावरमतिका किनारमा झूपडीको आश्रम बनाएर जनसेवामा लागे । उनले भारतिय जनताको गरीबी, अज्ञानता र अन्धविश्वाससंग जुझ्ने र समबृद्धी मार्गमा हिडनको लागि “ ग्राम स्वराज र स्वावलम्बन” को आन्दोलन चलाए । स्वावलम्बन र स्वदेशी अर्थतन्त्रलाईनै भारतको आर्थिक सिद्धान्त बनाउनु पर्छ अनि मात्र देश विकासको फल सबै जनताहरुमा समानरुपले वितरण हुन्छ भन्ने उनको आर्थिक नीति रहेको थियो । ठूल—ठूला उद्योगधन्दाहरुको पक्षमा उनी थिएनन् । घरेलु तथा कुटिर उद्योग र सहकारी खेतीद्वारा मात्र भारतको गरीबी निवारण हुन्छ भन्ने पक्षमा थिए । सबैले रोजगारी पाउने र उत्पादनको वितरणको पहुँच सबैमा पुग्नुका साथै प्राकृतिक पर्यावरण सन्तुलन पनि कायम रहन्छ भन्ने मान्यता राख्थे । हरेक भारतियले “सादा जीवन, उच्च विचार ” राख्नुपर्छ भन्ने मान्यता पनि राख्थे । यस बाहेक उनले आम भारतियहरुको नैतिक मूल्य मान्यता र अनुशासनलाई पनि ठूलो जोड दिएर सो कुराहरु पालना गराउने तर्फ क्रियाशिल थिए।
अन्त्यमा गान्धी जी को बारेमा जति लेख्दा पनि कमै हुन्छ । गान्धी दर्शन र गान्धीवादले राजनैतिक, आर्थिक, सामाजिक, नैतिक,मानवीय र आध्यात्मिक विचारहरु प्रवाह गरेको पाइन्छ । त्यसलाई एउटा मेरो सानो लेखको अंशबाट प्रस्ट्याउन सकिदैन् । तसर्थ, हाम्रो देशको शहिद दिवस तथा छिमेकी मुलुक भारतको गान्धी शहादत दिवसको यस पूनित अवसरमा म हाम्रा देशका ज्ञात अज्ञात शहिदहरु र महात्मागान्धी प्रति हार्दिक श्रृद्धाञ्जली अर्पण गर्न चाहन्छु ।