सन्दर्भ शहीद दिवस ः गान्धी सहादत दिवसको सन्दर्भमा ...


माघ १६, २०७८, आइतबार | विहान ०२:०९ बजे | 20


सन्दर्भ शहीद दिवस ः गान्धी सहादत दिवसको सन्दर्भमा ...

सुनील सापकोटा
 इतिहासमा रुची राख्नेहरु सबैलाई जानकारी भएको विषय होला की सन् ३० जनवरी १९४८ का दिन मोहनदास करमचन्द गान्धी अर्थात सबैले चिन्ने महात्मागान्धीले  शहादत प्राप्त गरेका थिए  । त्यो दिन भारतकै एक भारतीय नागरिक नथूराम गोडसेद्वारा  उनको  हत्या भएकोले त्यस दिनलाई भारत लगायत विश्वका अधिकाँश देशहरुमा गान्धी शहादत दिवसको रुपमा मनाईदै आएको पाइन्छ ।
 “महात्मागान्धीको हत्या हुने उक्त दिन आजभन्दा ७४ वर्ष अघि, सधै झै सूर्योदय पूर्वनै वहाँ व्यूझिनु भयो र परमपिता परमेश्वरको प्रार्थनाको तयारीमा रहनु भयो । त्यसपछि सदाझै वहाँलाई भेट्न आउनेहरुसँग भेँटघाट गर्न थाल्नुभयो । लामो अनसन पछि एक—दुई दिन अघिमात्र वहाँ पूर्णरुपले स्वस्थ हुनु भएको थियो । भेँटन आउने मानिसहरुसँग कुरा गर्दागर्दै आज आफ्नो कम्पाउण्ड भित्रको प्राथना सभामा जान वहाँलाई हतार भईरहेको थियो । यता वहाँको प्रतिक्षामा घडी हेरेर बसेका वहाँका अनुयायीहरु आज ढिलो भएकोमा छटपटाई रहेका थिए । यो कुराको महशुस गान्धी जी लाई पनि भयो र भारत सरकारको गृहमन्त्री सरदार बल्लभभाई पटेलसँग प्रार्थना सभामा जान ढिलो भएको कुरा बताई पटेलबाट छुट्टीई प्राथना सभामा जान कोठा बाहिर निस्कीनुभयो । त्यसपछि  वहाँले प्रार्थना सभामा जान आफ्नो सहयोगी आभा र मनुको साथ काँधमा हात राखेर प्रार्थना सभा स्थलतिर जाँदाजाँदै गर्दा वहाँका प्रतिक्षामा बसेका मानिसहरुको भिँडले वहाँलाई घेरे  ।  त्यस भिँडमा गान्धी जी को हत्यारा पनि रहेको  थियो । त्यहीबेला हत्याराले नमस्कारको मुद्रामा विस्तारै वहाँको सामुन्नेमा झुक्यो र भन्यो — “ नमस्कार गान्धीजी !  संगै रहेकी मनुले सोँची उ सायद गान्धी जी को चरण स्पर्श गर्न चाहन्छ । मनुले नम्रताका साथ हात उठाएर बाटोबाट उसलाई हटाउन खोज्दै भनिन् , “भाई, आज अलि अवेला भयो ”। त्यसैवेला नथूरामले आफ्नो बायाँ हातले मनुलाई जोडले घकेल्यो । उनी लड्खडाउँदै पर पुगिन । नथूरामको  दाहिने हातमा कालो ब्यारेल पेस्तोल चम्कियो । उसले तीन पटक घोडा थिच्यो । प्रार्थना सभाको मैदानमा तीन धमाका भयो । नथूराम गोडसे विफल भएन । मनुले उनको खद्दरको सेतो धोतीमा रगत देखि । गान्धी जी ले यति मात्र भन्न सके — “ हे ! राम ” ।  त्यसपछि उनी निर्जीव भएर मनुको नजिक भूईमा विस्तारै लडे । चेतनाका अन्तिम क्षणमा उनले आफ्नै हत्यारालाई नमस्कार गरे । त्यो बेला ५ बजेर १७ मिनेट भएको  थियो ।
 जो भारत माथि गान्धीले आफ्नो जीवन न्यौछावर गरेका थिए, तिनै मध्ये एकले उनको जीवन लियो । सूलीमा एक अर्का इशा  ( क्राइष्ट ) चढेको त्यो घटना विश्वको इतिहासमा शुक्रबारकै दिन घट्यो । यसै शुक्रवारका दिन इशा मशिहलाई पनि १००९ वर्ष पहिले मारिएको थियो । उनले त्यसबेला मर्ने बेलामा भनेका थिए — “ हे पिता !  मलाई माफ गर ।” उपरोक्त  कुरा “ फ्री डम एट मिड नाइट “ भन्ने अंग्रेजÞी पुस्तकमा उल्लेख गरिएको छ ।
अर्को  गान्धी हत्या किन ? भन्ने किताबमा उल्लेख भए बमोजिम नाथूराम गोडसेले अदालतमा बयान दिँदा —“ मेरो जीवनको अन्त्य त्यसै समय भएको थियो जब मैले गान्धी माथि गोलि प्रहार गरे । तसपश्चात मलाई लाग्दछ मानौ म समाधीमा छु र अशक्त जीवन विताई रहेको छु , म मान्दछु कि गान्धीले देशको लागि ठूलो कष्ट उठाउनु भएको छ । जसका कारण म वहाँको सेवा प्रति नतमस्तक छु तर देशको यस सेवकलाई पनि जनतालाई धोका दिएर मातृभूमिको विभाजन गर्ने अधिकार मेरो विचारमा थिएन भन्ने मलाई लाग्छ । म कुनै प्रकारको दया चाहन्न ।  यो पनि चाहन्न की मेरा तर्फबाट पनि कसैले दयाको माँग गरिदियोस् । आफ्नो देश प्रति भक्तिभाव राख्नु यदि पाप हो भने म स्वीकार गर्दछु की मैले उक्त पाप गरेको छु ।  यदि यो पुण्य हो भने म त्यसबाट प्राप्त पुण्यप्रति मेरो विनम्र अधिकार छ । मेरो विश्वास दृढ छ की मेरो कार्यनीतिका दृष्टिबाट पूर्णरुपमा उचित छ । मलाई यस कुरामा अलिकति पनि शंका छैन की भविष्यमा कुनै समय सच्चा इतिहासकारले इतिहास लेख्यो भने तिनीहरुले मेरो कार्यलाई उचित ठहर्याउनेछन् ”
यदि गान्धी जी को हत्यारा  कुनै मुसलमान रहेछ भने त पुरै भारत भयानक रुपमा रक्तपातमा परिणत हुने आशंका लाई दृष्टिगत गरी अल इण्डिया रेडियाका तत्कालिन निर्देशकले एक असाधारण तर विवेकपूर्ण निर्णय लिएका थिए त्यसबेला । उनले त्यसवेला नहतारिकन गान्धीजी को  हत्यागर्ने नथूराम गोडसे हिन्दु मात्र नभई एक ब्राम्हण पनि हो भन्ने समाचार सम्प्रेसण गराएका थिए । यो समाचारले सारा भारत स्तव्ध भएको थियो । जवाहरलाल नेहरुले शोक—सन्देशमा भने— त्जभ ष्निजत जबक नयलभ .  वास्तवमा भन्ने हो भने त्यो ज्योती भारतको मात्र नभएर सारा संसार कै थियो । जो त्यस दिन एकाएक गुम्यो । संसारका विभिन्न स्थानहरुबाट हजारौ व्यक्तिहरुको धमाधम श्रद्धाञ्जली आयो , जसमा विभिन्न देशका राजा, महाराजा, राष्ट्रपति, प्रधानमन्त्री लगायत संसारका ख्यातिप्राप्त व्यक्तिहरु थिए । नाटककार जर्ज बर्नार्ड शा ले आफ्नो अविस्मरणिय शोक सन्देशमा भनेका थिए — “गान्धी जी को हत्याबाट यो थाहा हुन्छ की असल हुनु कति खतरनाक छ ” ।
 एकसरो कपडा बेरिएको, हातमा लठ्ठी लिएको, दुब्लो पातलो शारीरिक संरचना भएको सात्विक पुरुषका रुपमा त्यस्ता व्यक्तित्व जो भारतको समानुपातिक बाँडफाँडमा एउटा भारतियको भागमा एउटा च्यादर र एउटा धोती भन्दाबढी कपडा पर्दैन भन्ने धारणा बनाई त्यसभन्दा बढी वस्त्र  आफुले प्रयोग नगर्ने सिद्धान्तमा अडिग थिए  र जसले भारत स्वतन्त्र भएपछि काँग्रेसको साधारण सदस्यता समेत परित्याग गरेका थिए। जो कुनै पद, प्रतिष्ठा र पैसामा पछि लागेनन् , भारतका अधिकाँश केटाकेटीहरु शिक्षाबाट विमुख छन भने म पनि आफ्नो छोराछोरीहरुलाई आम भारतिय केटाकेटीहरु सरह स्कूल नपठाई राख्छु भनी आफ्नो छोराछोरीहरुलाई स्कूलबाट बञ्चित राखे , त्यस्ता महान पुरुषलाई स्वतन्त्रता संग्राममा लडेका एक स्वतन्त्रता सेनानी भारतिय नथूराम गोडसेले हत्या गरेको थियो जो विश्व इतिहासमानै आश्चर्यजनक घटना थियो । प्रायः हत्या र हिँसा जस्ता वारदातहरु खासगरी पृथक विचारधारा  धर्मानुयायी व्यक्ति र समूह बीच घटने गर्दछ । तर अचम्मको कुरा यहाँ के थियो भने दुबै व्यक्ति ( हत्यारा र हत्या हुने व्यक्ति ) भारतिय स्वतन्त्रता संग्राम लडेका आर्य समाजी व्यक्तिहरु थिए ।
 भारत र पाकिस्तानका हिन्दुहरु माथि मुसलमानहरुद्वारा भएको हिँसा र आक्रमण, विभाजित पाकिस्तानलाई ५५ करोड रुपैया नदिने भारतिय नेताहरुको निर्णयलाई गान्धी जी ले अनसन गरेर दवाव दिई उक्त पैसा भारतबाट पाकिस्तानलाई दिलाएका थिए  । भारत र  पाकिस्तानको  विभागजनमा गान्धी जी को स्वीकृती हुनु का साथै मुसलमानहरुको आलोचना तथा विरोध गान्धी जी ले नगर्नु आदि कारण र दोष  नथूराम गोडसेले गान्धी माथि लगाउँदै यही  कारणबाट  गान्धी जी को हत्या गर्नु परेको कुरा उनले थुनामा रहँदा अदालतमा बयान दिएको थियो  ।
 नथूराम गोडसे एउटा यस्तो व्यक्तिलाई हिन्दु अतिवाद र साम्प्रदायिकताको जहररुपी नशामा हत्या गर्न पुग्यो ,  जो भारतमा मात्र नभई गान्धी  संसारकै सन्त पुरुष थिए। उनी  अध्यात्मिकतावादी एउटा इश्वरीय दूत थिए  । उनको  भारत छोडो आन्दोलनले सत्य र  अहिँसाको प्रयोगबाट ब्रिटिश उपनिवेसिक शासनबाट भारतलाई स्वतन्त्रता दिलाएको  थियो । भारत स्वतन्त्र भएपछि गान्धिले   कुनैपनि राजनीतिक दल र कुनैपनि सरकारी पद धारण गरेनन । वरु, भारतका सम्पूर्ण जनताहरुको सेवाका लागि सावरमतिका किनारमा झूपडीको आश्रम बनाएर जनसेवामा लागे  । उनले  भारतिय जनताको गरीबी, अज्ञानता र अन्धविश्वाससंग जुझ्ने र समबृद्धी मार्गमा हिडनको लागि “ ग्राम स्वराज र स्वावलम्बन” को आन्दोलन चलाए  । स्वावलम्बन र स्वदेशी अर्थतन्त्रलाईनै भारतको आर्थिक सिद्धान्त बनाउनु पर्छ  अनि मात्र देश विकासको फल सबै जनताहरुमा समानरुपले वितरण हुन्छ भन्ने उनको  आर्थिक नीति रहेको थियो ।  ठूल—ठूला उद्योगधन्दाहरुको पक्षमा उनी थिएनन्  । घरेलु तथा कुटिर उद्योग र सहकारी खेतीद्वारा मात्र भारतको गरीबी निवारण हुन्छ भन्ने पक्षमा थिए  । सबैले रोजगारी पाउने र उत्पादनको वितरणको पहुँच सबैमा पुग्नुका साथै  प्राकृतिक पर्यावरण सन्तुलन पनि कायम रहन्छ भन्ने मान्यता राख्थे   । हरेक भारतियले “सादा जीवन, उच्च विचार ” राख्नुपर्छ भन्ने मान्यता पनि राख्थे । यस बाहेक उनले  आम भारतियहरुको नैतिक मूल्य मान्यता र अनुशासनलाई पनि ठूलो जोड दिएर सो कुराहरु पालना गराउने तर्फ क्रियाशिल थिए।
     अन्त्यमा गान्धी जी को बारेमा जति लेख्दा पनि कमै हुन्छ । गान्धी दर्शन र गान्धीवादले राजनैतिक, आर्थिक, सामाजिक, नैतिक,मानवीय र आध्यात्मिक विचारहरु प्रवाह गरेको पाइन्छ । त्यसलाई एउटा मेरो सानो लेखको अंशबाट प्रस्ट्याउन सकिदैन् । तसर्थ, हाम्रो देशको शहिद दिवस तथा छिमेकी मुलुक भारतको गान्धी शहादत दिवसको यस पूनित अवसरमा म हाम्रा देशका ज्ञात अज्ञात शहिदहरु र महात्मागान्धी प्रति हार्दिक श्रृद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

Comments

ताजा खबर