किसानहरूलाई समयमै सुपथ मूल्यमा रासायनिक मल उपलब्ध गराउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण
माघ १४, २०७८, शुक्रबार | दिउँसो ०३:१३ बजे | 90
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधिमण्डलले कृषि मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई भेटी किसानहरूलाई समयमै सुपथ मूल्यमा रासायनिक मल उपलब्ध गराउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।
कृषि मन्त्री महेन्द्रीप्रसाद यादव हप्ता दिनको विदामा रहेको हुँदा उहाँहरुले कृषि सचिव शर्मालाई भेटेर किसानहरुको समस्या र मलको अभावबारे मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको हो ।
सांसद सुवालले प्रदेशको सचिवस्तरीय बैठकबाट हचुवाको भरमा रासायनिक मलको कोटा वितरण गरिएको अविलम्ब पुनरावलोकन गर्न कृषि मन्त्रालयको ध्यानाकर्षण गराउनु हुँदै सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाल सरकारबाट अनुदान प्राप्त रासायनिमक मल कृषकहरुले समयमै प्राप्त गर्न नसक्दा कृषि उत्पादनमा कमी आउने र खाद्यान्न उत्पादन समेत घट्ने र खाद्यान्न आयात झन बढ्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो । सांसद सुवालले रासायनिमक मल उपलब्ध गराउन कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीमा समेत आवश्यक पदाधिकारीको व्यवस्था गरी पर्याप्त मल आपूर्ति गर्न मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकालाई उपलब्ध गराइएको मलको कोटा २० मे.टन अत्यन्त अपुग भएको उल्लेख गर्नुहुँदै किसानहरुको मागअनुरुप कम्तिमा ६०० मे.टन रासायनिक मल भक्तपुर नगरपालिकालाई उपलब्ध गराउन सचिवलाई लिखित पत्रसहित सरकारको ध्यानाकर्षण गराउनु भयो । भक्तपुर नपा क्षेत्रका कृषकहरुको खेतबारी, भक्तपुर नपालगायत चाँगुनारायण, मध्यपुर र सूर्यविनायक नपा क्षेत्रमा समेत भएको हुँदा भक्तपुर नपालाई छुट्याइएकोे मलको कोटा अपुग भएको उहाँले उल्लेख गर्नुुभयो ।
कृषि मन्त्रालयका सचिव डा. शर्माले कृषकहरुको मागबमोजिम मन्त्रालयले आवश्यक मलखाद उपलब्ध गराउन लागिपरेको बताउनुुहुँदै भक्तपुरलाई आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्रालय स्रोतकाअनुसार कृषि सामग्री कम्पनीका कार्यकारी निर्देशकसहित मल खरिदको १ अर्व ५३ करोड रुपियाँ भ्रष्टाचारको मुद्दामा परेको हुँदा उक्त ठाउँमा नयाँ कर्मचारी पूर्ति गर्नसमेत नमिलेर मल खरिदको कार्वाई अघि नबढेको हो । यस्तो सङ्कटलाई प्रम देउवाले समाधान नगरेको प्रम देउवाको असक्षमता नै हो ।
आजै नगर प्रमुख प्रजापतिले वागमती प्रदेशका कृषि तथा पशु पन्छिमन्त्री बसुन्धरा हुमागाईलाई सम्पर्क गरी भक्तपुरको लागि छुत्याइएकोृ मलको कोटा बृद्धी गर्न ध्यानाकर्षण गराउनु भयो ।
सांसद सुवालले भक्तपुर जिल्ला चागुनारायण नपाको नगरकोट स्थित भक्तपुर नगरको खानेपानी श्रोत रहेको क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी खाने पानीको श्रोत बढाउनु पर्ने र भक्तपुर नपा सल्लाघारीस्थित चोङा गणेश सांस्कृतिक क्षेत्र र भक्तपुरका नवदुर्गा पीठहरुको संरक्षण गर्न आवश्यक बजेटको व्यवस्था गर्न वनमन्त्री यादवको ध्यानाकर्षण गराउनु भयो ।
साँसद सुवालले सरकारले नेपालको सन्तुलित विकासमा ध्यान दिनुपर्ने उल्लेख गर्नुहुँदै काठमाडौँ उपत्यकाको वातावरण मानिसको लागि बस्न योग्य नभएकोतर्फ मन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।
वनमन्त्री यादवले सांस्कृतिक नगरी भक्तपुरको सार्वजनिक स्थलहरुको संरक्षण र सम्बद्र्धनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुहुँदै बढ्दो सहरीकरणका कारण काठमाडौं उपत्यकामा खेतीयोग्य जमिनहरु मासिँदै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
सांसद सुवाल र प्रमुख प्रजापतिले मन्त्री यादवलाई नेपाल मजदुर किसान पार्टी र भक्तपुर नगरपालिकाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।