- Post Date 2022-01-28 16:09:22

सुनिल सापकोटा
हिजोआज नेपाली हिन्दुहरुको लोकप्रिय श्री स्वस्थानी व्रत कथा घर घरमा शुरु । यो पौष शुक्ल पूर्णिमा देखि शुरु भएर माघ शुक्ल पूर्णिमा सम्म हिन्दु धर्मावलम्बीहरुको घर घरमा वाचन गरिन्छ । यो नेपाली समाजमा श्रुति परम्परामा आधारित लोकप्रिय कथा हो। संस्कृतिविदहरुको भनाइमा चौधौं विक्रम सम्वत तिर यो कथा लाई लिपिबद्ध गरिएको होला भन्ने अनुमान छ । स्कन्द पुराणको केदार खण्डमा झिनो रुपमा स्वस्थानी कथा उल्लेख गरिएको छ । स्वस्थानी लाई देवीको रुपमा मानेता पनि ती कस्ति देवी हुन भन्ने कुरा स्वस्थानी पुस्तकमा नै उल्लेख भएको पाइदैन । यो एउटा मिथक हो।
यो कथा कसले लेख्यो , लेखक को हो ? भन्ने नै थाहा छैन । अचेल आधुनिक पढेलेखेका नारीवादीहरु स्वस्थानी व्रत कथा लाई वाहियात मान्छन। उनिहरुको भनाइमा यो कथामा महिलाहरु लाई होच्याएको टिप्पणी गर्छन् । कथामा उल्लेखित भगवान् बिष्णु जस्तो सर्वशक्तिमान ले छल गरेर अरुको श्रीमती वृन्दा लाई यौन सम्बन्ध राख्नु र महादेवले छल गरेर बालिका गोमा सङ बिवाहा गरि गर्भिणी समेत तुल्याइ उनलाई अलपत्र र दुःखमा पार्नु नैतिकलाग्दैन भन्छन् । अनि देवहरुको देव महादेवले सतिदेवीको लास लिइ पागल प्रेमी भइ चारै दिशा भ्रमण गरेको पनि सुहाउँदो कुरा होइन भन्छन् । स्वस्थानी कथामा महिला लाई धेरै प्रसङ्गहरुमा बस्तु जस्तो ब्यवहार गरिएको छ भन्ने पनि उनिहरुको भनाइ रहेको देखिन्छ । स्वस्थानी कथाले पितृ सत्तात्मक संस्कार र संस्कृति लाई प्रबर्द्धन गर्दछ भन्ने पनि उनिहरुको तर्क रहेको देखिन्छ । अहिलेको जमानामा यस्ता बकम्फुसे परम्परा लाई मानेर हिंड्नु बेकुफी हो । महिलावर्गको अपमान हो भन्ने भनाइ पनि उनिहरुको रहेको पाइन्छ । हाम्रा आमा र हजूरआमाले स्वस्थानी लाई मानेर व्रत बसे तर हामी अब यस्तो मूर्खता गर्दैनौं भन्ने पनि अचेलका कतिपय आधुनिक युवतीहरुले भन्ने गरेको सुनेको र देखेकोछु।
मेरो ब्यक्तिगत बिचारमा चाहिँ स्वस्थानी कथा बिशेषगरि हाम्रो नेपाली मौलिक परम्परा र संस्कृतिको एउटा अंग हो । हाम्रो छिमेकी रास्ट्र भारतमा बहुसंख्यक हिन्दुहरुले शायद हाम्रो जस्तो गरि यो परम्परा लाई मान्दैनन् होला। यो कथा हाम्रै देशको सेरोफेरोको लोक कथा हो जस्तो मलाई लाग्छ । हाम्रा आमा र हजूर आमाहरुले माने झैं हाम्रा छोरी , बुहारी र नातिनीहरु ले कठोर व्रत बसेर वा स्वस्थानी पुस्तकमा बर्णन गरिए जस्तै गर्नु पर्छ भन्ने छैन । समय सापेक्ष यसलाई मान्दा हुन्छ । यो धर्म र पुन्यको बिषय भन्दा पनि नेपाली हिन्दु जातिको संस्कृतिक पहिचान र भावनाको कुरा हो। यो हाम्रो नेपाली समाज सङ गहिरो संग जोडिएको छ । यो आस्थाको कुरा हो। त्यो पुरानो कालखण्डको हाम्रो हिन्दु समाजको इतिहास पनि हो । त्यसैले अहिलेको सन्दर्भमा महिला बर्गलाइ होच्याएको र अनैतिक वाहियात भनेर हेरिनु हुँदैन जस्तो मलाई लाग्छ । धन्यवाद !
...
All Comments.......
Please Login/Register To Comments