यीयी हुन् रोशी गाउँंपालिकाको बैठकले गरेका निर्णयहरु
माघ ४, २०७८, मङ्गलबार | विहान ०२:३१ बजे | 55
सगम लामा
काभ्रे । काभ्रेको रोशी गाउँपालिकाको प्रशासनिक भवनको गाउँपालिका अध्यक्ष डीबी लामाले एक कार्यक्रमकाबिच शिलान्यास गरेका छन् ।
बौद्ध तथा हिन्दु परम्परा अनुसार भवनको शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तोला, १२ वटै वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यलगायतको उपस्थिती रहेको थियो ।
कार्यपालिका बैठकले कोभिड १९ रोकथाम तथा व्यवस्थापनको लागि आइसोलेशन सेन्टर व्यवस्थापन गर्न नमोबुद्ध नगरपालिकासँग समन्वय गर्ने निर्णय गरेको छ ।
गाउँपालिका क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मीहरुलाई विशेष कारण बाहेक अन्य अवस्थामा कार्यक्षेत्र नछोड्न निर्देशन दिदैँ सरुवा सहमति नदिने तथा वैकल्पिक व्यवस्था नभई सरुवा भईसकेका स्वास्थ्यकर्मीलाई रमाना नदिने निर्णय गरेको छ । बैठकले हिउँदे गाउँसभा माघ महिनाको मसान्त सम्म गर्ने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष लामाको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०७८–०७९ का लागि गाउँसभाबाट स्वीकृत योजनाहरु सहज रुपमा सञ्चालन गर्न वडा समितिको बैठकबाट निर्णय गराई संशोधनका लागि माघ १५ गतेसम्म गाउँपालिकामा पेश गर्न भनिएको छ ।
बैठकले रोशी गाउँपालिकाको स्थानीय पाठ्यक्रम वमोजिम तयार गरिएको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्य सामाग्री स्वीकृत गरी कार्यान्वयनका लागि वेवसाइटमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ । गाउँपालिकाको स्थापना दिवसमा एक जना कर्मचारीलाई उत्कृष्ट रोशी सेवा पुरस्कार र तीन जनालाई रोशी सेवा पुरस्कारबाट सम्मान गर्ने निर्णय गरिएको छ ।
कृषकहरुका लागि आवश्यक रासायनिक मल सर्व सुलभ किसिमले उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गर्ने, नयाँ किरण सहकारी संस्थाको खारेजीको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको सन्दर्भमा लेखापरिक्षणका लागि अडिटर नियुक्त गर्ने र सो का लागि सम्बन्धित वडा कार्यालयले सहजिकरण गर्ने लगायतका निर्णय गरेको थियो ।