यसरी जान सकिन्छ जापानमा पढनका लागि


पुष २६, २०७८, सोमबार | विहान ०५:४४ बजे | 10


यसरी जान सकिन्छ जापानमा पढनका लागि

काठमाडौं । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार नेपाली विद्यार्थीको पहिलो आकर्षण अष्ट्रेलियामा छ । मन्त्रालयको तथ्यांक अनुसार अष्टेलियापछि नेपाली विद्यार्थीको आकर्षणको देश हो जापान ।
पछिल्लो समय नेपाली विद्यार्थीहरू जापानतर्फ आकषिर्त छन् । जापानमा अध्ययन गरेका विद्यार्थीहरूले राम्रो अवसर पाएकाले पनि विद्यार्थीहरूको आकर्षण जापानतर्फ केन्द्रित भएको परामर्शदाताहरूको बुझाई छ । अहिले वाषिर्क रूपमा करिब १ हजार ५ सय नेपाली विद्यार्थी जापान जाने अनौपचारिक तथ्यांक छ ।
जापानको हावापानी, अध्ययन र अवसर सबै कुरा हाम्रा लागि उपयुक्त भएकोले जापान जान चाहने विद्यार्थी वढी भएको बताइन्छ । अन्य मुलुकको तुलनामा जापान जाने प्रक्रिया सहज र सरल भएकाले नेपाली विद्यार्थी जापान जान चाहेको देखिन्छ । जापान जान तम्सिने विद्यार्थीको संख्या बढेको अनुमान गर्न सकिन्छ यही कारण । विगतमा भन्दा अहिले भिसा प्रक्रिया झन्झटिलो भए पनि विद्यार्थीहरूको आकर्षण नघटेको परामर्शदाताहरूको अनुभव छ ।
जापान जानु पूर्व नेपालमै आधारभूत भाषा सिक्नुपर्छ । भाषा अध्ययनका क्रममा जेएलपीटी, एनएटी, टोपजे, जेटेस्टमध्ये कुनै एक अध्ययन गर्नुपर्छ । जापानी भाषा परीक्षा विश्वभर एकसाथ सञ्चालन हुन्छ । जापानका विश्वविद्यालयहरूले भाषाको दक्षताअनुसार विद्यार्थी भर्ना गर्ने हुँदा भाषामा जति राम्रो भयो त्यति नै राम्रो विश्वविद्यालयमा पढ्न पाइने सम्भावना हुन्छ । जापानी ल्याङ्ग्वेज टिचर्स एसोसिएसनले लिने परीक्षामा विद्यार्थीको लेखाइ, पढाइ, सुनाइ, व्याकरण तथा शब्दहरूको परीक्षण हुन्छ ।
प्लस टु उत्तीर्ण गरेका विद्यार्थीहरूले सहजै जापानमा अध्ययन गर्ने अवसर पाउँछन् । जापान जान जनवरी, अप्रिल, जुलाई र अक्टुबर गरी वर्षमा चार पटक आवेदन खुला हुन्छ । यही कारण अप्रिल र अक्टुबरमा इन्टेकका लागि नेपाली विद्यार्थीको चाप बढ्छ । आवेदनसँगै स्थानीय क्षेत्रको सिफारिसदेखि शैक्षिक योग्यता, भाषा आदिको प्रमाणपत्र पेस गर्नुपर्छ । जापानका कलेजले पेश गरेको कागजात छानबिनपछि मात्र अरू प्रक्रिया अघि बढाइन्छ ।
जापान जान न्यूनतम ७ देखि ११ लाख रुपैयाँ खर्च हुन्छ । होस्टल तथा कलेजको ६ महिना अथवा १ वर्षको शुल्क अग्रिम रूपमा बुझाएपछि मात्र जापान जान पाइन्छ । नेपालबाट जापान पुगेपछि दुई वर्ष भाषा अध्ययन गर्नुपर्छ । त्यसपछि मात्र सम्बन्धित विषय अध्ययनका लागि विश्वविद्यालयमा भर्ना पाइन्छ ।
जापानमा विशेषगरी होटल म्यानेजमेन्ट, टुरिज्म, आइटी, फेसन, मार्केटिङ आदि विषय अध्यापन गराइन्छ । अध्ययनका लागि जापान जाने अधिकांश विद्यार्थीको पहिलो नजर रोजगारीतर्फ हुन्छ । कतिपय विद्यार्थी अध्ययनभन्दा पनि काम गर्नतिर लाग्दा कलेजमा न्यूनतम हाजिरी नपुग्दा थप समस्या उथ्पन्न हुने गरेको छ ।
विद्यार्थीहरूले सुरुमा ६ महिनादेखि २७ महिनासम्मको भिसा पाउँछन् । पछि भने भिसा नवीकरण गर्दै बस्नुपर्छ । जापानको शैक्षिक प्रणाली नेपालको भन्दा पृथक् छ । त्यहाँ प्रारम्भिक शिक्षा अथवा प्लस टु जुनसुकै विषय लिएर अध्ययन गरे पनि उच्च तहमा आफूले चाहेको विषय अध्ययन गर्न पाइन्छ ।
नेपाली विद्यार्थीहरूले जापानमा दिनको चार घण्टासम्म काम गर्ने अनुमति पाउँछन् । बिदाका दिन र लामो बिदामा ८ घण्टासम्म काम गर्न पाइन्छ भने हप्तामा २८ घण्टासम्म काम गर्न छुट हुन्छ, जसबाट कामअनुसार मासिक १ देखि २ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।
हार्डफोर्ड इन्फोटेक सेन्टरका अध्यक्ष महेश श्रेष्ठ विगतको तुलनामा अहिले जापान जाने विद्यार्थीहरूको आकर्षण निकै बढेको बताउँंछन् । उनका अनुसार जापान जानुपूर्व सबैभन्दा पहिले त भाषा नै सिक्नुपर्छ । जसरी भए पनि भाषा राम्रोसँग सिकेर जानुपर्छ, उनी थप्छन् ।
यहाँ आलटाल गरेर गयो भने उता पढ्न सकिँदैन । भाषा राम्रो नभएपछि राम्रो विश्वविद्यालयमा भर्ना हुन गाह्रो हुन्छ । राम्रो काम पाउन पनि भाषा नै राम्रो हुनुपर्छ । त्यसबाहेक अन्य सीप सिकेर गएको खण्डमा आफैंलाई राम्रो हुन्छ ।
नेपालीहरूको आकर्षण बढ्नुको कारण नै त्यहाँ पाइने अवसर हो । जापानमा आफ्नो योग्यता र क्षमता अनुसार काम पाइन्छ ।
जापान जान कन्सलटेन्सीपिच्छे फरक लागत लाग्छ । यो स्वाभाविक पनि हो । त्यहाँको कलेज एवं भौगोलिक क्षेत्रअनुसार शुल्क फरक पर्छ । अर्को कुरा, कतिपयले कलेज र होस्टल शुल्क वाषिर्क रूपमा बुझाउँछन् भने केहीले ६ महिनाको मात्र बुझाउँछन् । यसले गर्दा पनि फरक देखिएको हो ।

Comments