सकियो नेकमा विद्यार्थी प्रवेश परीक्षा


पुष २४, २०७८, शनिबार | दिउँसो १२:०८ बजे | 35


सकियो नेकमा विद्यार्थी प्रवेश परीक्षा

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा नयाँ शैक्षिक सत्रमा भर्ना हुन चाहने विद्यार्थीहरूको प्रवेश परीक्षा शनिबार सकिएको छ । परीक्षाबाट कलेजमा पढ्नका लागि भर्ना हुन पाउने कुल चार सय ८० जना विद्यार्थीहरू छनौट हुने छन् ।
कलेजमा स्नातक तहको आर्किटेक्चरमा ४८, सिभिलमा एक सय ४४, कम्प्युटरमा ९६, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा ९६, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा ४८ र सिभिल एण्ड रुलरमा ४८ जनाको कोटा रहेको छ । साथै सिभिल इन्जिनियरिङ डिप्लोमा होल्डर्सका लागि ४८ कोटा रहेको छ । तर यसको लागि भने माघ ८ गतेमात्रै प्रवेश परीक्षा हुनेछ ।
प्रवेश परीक्षामा सहभागी विद्यार्थीको परीक्षाफल आइतबार नै प्रकाशित हुने कलेजले जनाएको छ । परीक्षाफल प्रकाशित भएको एकदुईदिन भित्रबाट नै भर्ना प्रक्रिया सुरु हुने कलेजले जानकारी गराएको छ ।
नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले कलेजप्रतिको विद्यार्थीको आकर्षण गतवर्ष भन्दा यो वर्ष वढी देखिएको जनाए । ‘तथ्यांकगत रुपमा भन्ने हो भने गतवर्ष भन्दा यो वर्ष थप २० प्रतिशत वढी विद्यार्थीको आकर्षण देखियो, प्रा.डा. श्रेष्ठले भने । यसका विविध कारणहरू रहेको उनी बताउँछन् ।
कलेजमा आकर्षक छात्रबृतिको पनि व्यवस्था रहेको छ । आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स र सिभिल एण्ड रुलर प्रत्येकमा १० प्रतिशत विद्यार्थीले विश्वविद्यालय अन्तर्गत पूर्ण छात्रबृति पाउँने छन् । स्थानीयवासीहरूलाई, प्रवेश परीक्षामा उत्कृष्ट अंक हासिल गर्नेलाई तथा प्रत्येक सेमेष्टरमा सबभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई पनि पूर्ण तथा आंशिक छात्रवृत्तिको व्यवस्था कलेजमा छ । कुल मिलाएर वार्षिक करिव एक सय जना विद्यार्थीले छात्रबृत्ति पाउँने छन् ।
छात्रबृत्ति पाउने ती विद्यार्थीले आठ सेमेष्टर (आर्किटेक्चरमा दस सेमेष्टर) कै शुल्क तिर्नुपर्ने छैन अर्थात् उनीहरुले चार वर्ष (आर्किटेक्चरमा पाँच वर्ष) नै निःशुल्क रुपमा पढ्न पाउने छन् । एक सेमेष्टर ६ महिनाको हुने गर्दछ ।
कलेजको प्रवेश परीक्षा संयोजक एवं एसोसिएट प्रोफेसर दिनेश डंगोल कलेजमा देशभरका सातवटै प्रदेशका विद्यार्थीका लागि छात्रबृत्तिको व्यवस्था रहेको बताए । पहिलापहिलाको वर्षमा प्रवेश परीक्षापछि मात्रै ती विद्यार्थीको छनौट गर्ने गरेकोमा यस वर्षमा प्रवेश परीक्षासँगै ती विद्यार्थीको छनौट पनि हुने व्यवस्था मिलाएको परीक्षा संयोजक डंगोलले जानकारी गराए ।
कलेजमा सातै प्रदेशका विद्यार्थी अध्ययन गर्न आउने जनाइएको छ । साथै कलेजमा देशभरका झण्डै सबै जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको जनाइएको छ ।
नेपाल इन्जिनियरिङ कलेज (नेक) संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई नाफा नलिने उद्देश्यका साथ सञ्चालित कलेज हो । यो इन्जिनियरिङको पढाई हुने नेपालकै अव्वल कलेजको रुपमा परिचित छ ।

Comments