बागीश्वरी मावि र बागीश्वरी कलेज परिवारवीच भयो भेटघाट
पुष २४, २०७८, शनिबार | विहान १०:०५ बजे | 10
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख एवम् बागीश्वरी कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. ९ च्याम्हासिंहस्थित बागीश्वरी मावि र बागीश्वरी कलेज परिवारको भेटघाट कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको निर्देशनअनुरुप भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै सञ्चालित ख्वप सर्कलले आज देशकै नमुना कलेजको स्थान पाएको र उत्कृष्ट विद्यार्थी उत्पादन गर्न सफल भएको बताउनुभयो ।
भक्तपुरका जनप्रतिनिधि र जनताबीचको एकता तथा नेमकिपाको सिद्धान्त र व्यवहारमा एकरुपता भएकै कारण भक्तपुरले शैक्षिक विकासमा सफलता हासिल गरेको बताउनुहुँदै प्रमुख प्रजापतिले नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयले हासिल गरेको सफलता प्रशंसनीय रहेको बताउनुभयो ।
बागीश्वरीको प्रगति र उन्नतिबाट नयाँ पुस्ता र सिंगो समाज लाभान्वित भएको बताउनुहुँदै उहाँले योग्य र सक्षम नेतृत्वका कारण बागीश्वरीले आज सिंगो नगरलाई नै शैक्षिक केन्द्रको रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
सामुदायिक संस्था राम्रा र स्तरीय भए जनताका छोराछोरीले पनि गुणस्तरीय शिक्षा पाउने थिए, उहाँले भननुभयो, बागीश्वरी मावि र कलेज आज सिंगो समाजलाई ज्ञान दिने थलोको रुपमा विकास भइरहेको छ ।
वर्तमान राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दै प्रमुख प्रजापतिले देशको राजनीति संकटपूर्ण अवस्थामा रहेको बताउनुहुँदै शासक दलले अहिले पनि भारतको दलाली गरेकै कारण देश आर्थिक, राजनीतिक, सामाजिक रुपमा पछाडि परिरहेको छ भन्नुभयो ।
कार्यक्रमका विशेष अतिथि नेमकिपा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले विगत सात दशकदेखि अनवरत रुपमा जनस्तरबाट निर्मित बागीश्वरी कलेज नेपालकै नमुना कलेजको रुपमा विकास भइरहनु देशकै लागि गौरवको विषय भएको बताउनुभयो ।
कलेजले हासिल गरेको प्रगति र उन्नतिसँगै थप चुनौतिहरु पनि थपिँदै जाने बताउनुहुँदै सांसद गोसाइँले उन्नत समाजको निर्माण गर्न बागीश्वरीले आगामी दिनहरुमा जनताको माग र आवश्यकताअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सांसद गोसाइँले बागमती प्रदेश लथालिङ अवस्थामा रहेको चित्रण गर्नुहुँदै गलत ढंगबाट निर्वाचित भएर आज जनप्रतिनिधिले जनताको हित र सेवालाई भन्दा पद र व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखेर काम गर्नेबारे प्रष्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाबाट सञ्चालित विविध गतिविधिहरुबारे अवगत गराउनुहुँदै भक्तपुरलाई शैक्षिक रुपमा अगाडि बढाउन बागीश्वरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । ख्वप विश्वविद्यालय स्थापना गर्न यहाँका शैक्षिक संस्थाहरु अझ सबल बनाउँदै लानुपर्ने आवश्यकता रहेको बताउनुहुँदै भक्तपुरको ख्वप मोडल आज देशभरि चर्चाको विषय बनेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् बागीश्वरी मावि सञ्चालक समितिका अध्यक्ष रबिन्द्र ज्याख्वले बागीश्वरी कलेज स्थापनादेखि यहाँका अग्रजहरुले खेल्नुभएको भूमिका उल्लेखनीय रहेको बताउनुहुँदै स्थानीय जनताको अपनत्व भएकै कारण शैक्षिक विकासमा टेवा पुगेको बताउनुभयो । बागीश्वरीले विद्यार्थीहरुलाई शिक्षा सँगसँगै समाजप्रति उत्तरदायी हुन प्रेरित गरिरहेको र सकारात्मक प्रतिस्पर्धामा विद्यार्थीहरुलाई हौसला पनि दिँदै आएको बताउनुभयो ।
बागीश्वरी माविका पूर्व प्रअ मोहनप्रसाद प्रजापतिले बागीश्वरीले विद्यार्थीहरुको माग र आवश्यकताअनुरुप नयाँ नयाँ विषयको सम्बन्धत लिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुहुँदै कलेजले प्राविधिक शिक्षा सञ्चालनको लागि आवश्यक तयारीमा पनि जुटिरहेको विचार राख्नुभयो ।
सोही कार्यक्रममा बागीश्वरी मावि र कलेजका संयोजक ज्ञानसागर प्रजापति, बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा र सहायक प्रअ कृष्णप्रसाद कर्माचार्यले पनि कलेज स्थापनाको उद्देश्य र वर्तमान अवस्थाबारे आफ्नो धारणाहरु राख्नुभयो ।