धेरैलाई थाहा छ, नेपाल इन्जिनियरिङ कलेज देशकै उत्कृष्ट इन्जिनियरिङ पढाई हुने कलेज हो । तर विडम्वना यो कलेज वर्षौदेखि विवादमा तानिएको छ । अनावश्यक मुद्दाले कलेजलाई अस्तव्यस्त बनाउन खोजिरहेको छ निरन्तर ।
कलेजको तत्कालिन सञ्चालक समितिका अध्यक्ष लम्बोदरकुमार न्यौपानेले कलेजमा अनियमितता गरी अकुत सम्पति कमाएको छ । यही कारण उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी छानविन हुँदैछ । विना प्रयोजन कलेज कोषबाट करोडौं रकम दोहन गरी उक्त रकम लम्वोदरले बैंकमा निजी खातामा जम्मा गरी ब्याज आर्जन गरेर सम्पत्ति कमाएको तथ्य बैंक स्टेटमेन्टबाट भेट्टिएको थियो । त्यसपछि लम्वोदरविरुद्ध मुद्दा दर्ताको लागि विशेष सरकारी वकिलको कार्यालयमा गत २०७८ श्रावणको पहिलो हप्तामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रतिवेदन बुझाएको थियो ।

विशेष सरकारी वकिलको कार्यालयका तत्कालिन सहसचिव शंकर खत्रीले प्राप्त प्रतिवेदन मूल्याङ्कन गरी मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा सिफारिस गर्न आफ्ना मातहतका अधिवक्ता देवेन्द्रराज आचार्यलाई निर्देशन दिएका थिए । सम्पत्ति शुद्धीकरणले दुई वर्ष लगाएर गरेको अनुसन्धान कलेज निजीकरण गर्नेहरूकाविरूद्धको बलियो आधार बनेको थियो । गएको श्रावण महिनामा तत्कालिन सहसचिब खत्री र अधिवक्ता आचार्यले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनको प्रशंसा गर्दै छिटै मुद्दा चल्ने जनाएका थिए । तर, अहिले विशेष सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयसमेत उक्त मुद्दाप्रति सकारात्मक नहुँदा विभागले वर्षौ लगाएर गरेको अनुसन्धान अगाडि नबढ्ने देखिएको छ ।
सरकारी श्रोतका अनुसार अहिले उक्त फायल महान्यायाधिवक्ताकै कार्यालयबाट रोक्न निर्देशन गएको छ । अनुसन्धान पूरा गरेको महिनौ भइसक्दासमेत प्रक्रिया अगाडि वढाइरहेको छैन । मुद्दा चढाउने वा नचढाउने निर्णय दिने विशेष सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ता कार्यालयले प्रक्रिया अगाडि नवढाई बरु आनाकानी गरी अल्झाउने काम गरिरहेको छ ।
विशेष सरकारी वकिलको कार्यालय महान्यायाधिवक्ताको कार्यालय अन्तर्गत पर्दछ र महान्यायाधिवक्ताको नियुक्ति राजनैतिक आस्थाको आधारमा हुन्छ । यसैको फाइदा उठाई कलेजका पूर्व सञ्चालक लम्बोदरले विभिन्न राजनीतिक शक्ति केन्द्रमार्फत महान्यायाधिवक्ताको कार्यालयलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पेश गरेको प्रतिवेदन दबाउन दबाब दिएको बुझिएको छ । यही कारण अहिले अनावश्यक विषयमा ढिलासुस्ती गरी सकेसम्म मुद्दालाई दबाउन खोज्ने, नसके ढिलाई गरी आलटाल गर्ने प्रयत्न भइरहेको छ । कसुरको अनुसन्धानको सिलसिलामा भन्दै सम्पति शुद्धीकरणसँग असम्वन्धित विषयको जानकारीहरू मागेर ढिलासुस्ती गरिरहेको छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ को दफा (१६) को उपदफा (१) खण्ड (क) बमोजिम आदेश भनी अधिकार क्षेत्र भन्दा बाहिर गई यी असम्वन्धित विषयहरू उठान गरिरहेको छ ।
विषयहरु
१. नेपाल इन्जिनियरिङ कलेज के कसरी के कुन मितिबाट को कसबाट अनुमति वा सम्बन्धन लिएर स्थापना तथा सञ्चालन भएको हो ? सम्बन्धन÷अनुमतिपत्र समेत उपलब्ध गराईदिनु हुन ।
२. कलेज सञ्चालनका लागि अनुमति वा सम्बन्धन लिँदाको बखत के कस्तो जग्गामा को कसको लगानीमा, के कस्ता पूर्वाधार तथा संरचना निर्माण गरिएको थियो ?
३. नेपाल इन्जिनियरिङ कलेजको संचालन संस्था ऐन २०३४ बमोजिम दर्ता हुनुपूर्व वि.स. २०५१ देखि वि.सं. २०६० सालको अवधिमा के कुन हैसियतमा के कसरी कलेज संचालन भएको थियो ?
४. कलेज सञ्चालन भैरहेको बखत त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिइएकोथियो । विश्वविद्यालयबाट के कसरी सम्बन्धन लिइएको थियो र उक्त सम्बन्धन परिवर्तन गर्नुपर्नाको कारण के थियो ?
५. जिल्ला प्रशासन कार्यालय भक्तपुरमा संस्थाको रुपमा मिति २०६०÷०५÷०४ मा दर्ता भए पश्चात दर्ता नविकरण नहुँदाको अवधिमा कलेज के कसरी संचालन गरिएको थियो ?
६. कलेजले जग्गा खरिद गर्दाको समयमा गरेका निर्णय तथा सम्बन्धित कागजातहरु पेश गर्नुहुन७. गैरनाफामूलक संस्थाको रुपमा दर्ता रहेको कलेजलाई को कसले प्रकृयाबाट निजी कम्पनीमा परिवर्तन गर्न खोजेको हो ? संस्थाको सम्पत्ति कम्पनीमा हस्तान्तरण हुन सक्ने आधार के हो ?
यी र यस्ता प्रश्न सम्पत्ति शुद्धीकरणसँग सरोकारको विषय होइन । सरोकार नभएको विषयमा प्रश्न उठाएर अनुसन्धानमा ढिलाई गर्ने प्रपञ्च रचिरहेको छ । असम्वन्धित विषयमा प्रश्न सोधे पनि कलेजले उहिल्यै यसको लिखित जवाफ पठाइसकेको छ । तर प्रक्रिया अगाडि वढाइएको छैन । ज्यूँ का त्यूँ नै रहेको छ ।
त्यसकारण प्रक्रिया छिटोभन्दा छिटो अगाडि वढोस् । अधिकार क्षेत्रभन्दा बाहिर गई अख्तियारको दुरुपयोग गर्ने त्यस्ता कार्यालयहरूमाथि कारबाही होस् ।
मनोहर खनाल
संयोजक
कर्मचारी संघर्ष समिति

हरिमोहन श्रेष्ठ
शिक्षक संघर्ष समिति
तथा कलेज बचाउन चाहने सम्पूर्ण
नेपाल इन्जिनियरिङ कजेल परिवार
दुवाकोट चाँगुनारायण भक्तपुर ।

...

All Comments.......


Please Login/Register To Comments