ललितपुर । ललितपुर महानगरपालिका– १६ ज्येष्ठ नागरिक समितिले १ सय जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शनिबार आयोजित एक समारोहकाबीच सो सम्मान गरिएको हो । सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले १ सय २ वर्षीय गणेशबहादुर शाक्यलाई दोसल्ला ओढाई, वडाअध्यक्ष निर्मलरत्न शाक्यले सम्मानपत्र, समितिका संयोजक एवं वडासदस्य पञ्चबज्र बज्राचार्यले पौष्टिक आहार प्रदान गर्नुभयो । त्यसपछि नेवाः परम्परा अनुसार पहिलो ज्याजकं (बुढापास्नी) गरिसकेका ७८ वर्ष पुगेका ९९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
सम्मानित हुने सबैलाई समाजसेवी मोतिशाक्यको परिवारको तर्फबाट सिरक प्रदान गरिएको थियो । सम्मानले आफ्नो दैनिक जोशजाँगर थपेको प्रतिक्रिया दिएका थिए ।
सो अवसरमा महानगरपालिकाका मेयर महर्जनले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर भत्ता दिने कार्य वडाले निरन्तर गर्दै आएकोमा सो कार्यमा अहोरात्र खटिने वडा सदस्य बज्राचार्यको प्रंशसा गर्नुभयो । समारोहमा वडाअध्यक्ष शाक्यले बज्राचार्यको अगुवाईमा ज्येष्ठ
नागरिकहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।कार्यक्रमका संयोजक बज्रँचार्यले चुनावताका घरघरमा गई सामाजिक सुरक्षा भत्ता दिने जनतासामु वाचा इमान्दारसंग पालना गरेको बताउनुभयो । ‘ यस कार्यमा अनेक समस्या, बाधा अड्चन आएपनि म कहिले निराश भईन । पूर्वमन्त्री बुद्धिराज बज्राचार्य, वडाअध्यक्ष शाक्यसहित विभिन्न सञ्चारमाध्यमले मलाई यस कार्यमा सदवै हौसला बढाएको छ । वडा सदस्यको पाँच वर्ष कार्यकाल ज्येष्ठ नागरिकको सेवामै बिताए।’ महानगरपालिकाकै ज्येष्ठ वडा सदस्य रहनुभएका संयोजक बज्राचार्यले भन्नुभयो । दुई वर्षअघि वडाले बज्राचार्य संयोजकत्वमा २ सय ३८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो ।