समाजमा भएका विभेद अन्त्य गर्न कृत्रिम बौद्धिकतालाई सही ढंगले उपयोग गर्न आवश्यक : प्रमुख प्रजापति


पुष ५, २०७८, सोमबार | दिउँसो १२:०८ बजे | 20


समाजमा भएका विभेद अन्त्य गर्न कृत्रिम बौद्धिकतालाई सही ढंगले उपयोग गर्न आवश्यक : प्रमुख प्रजापति


भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप इन्जिनियरिङ्ग कलेजमा आयोजित Third Nepal Winter School in Artifical Intelligence 2021 को सोमबार उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा बोल्नहुुँदै उहाँले देश विकासको मूल आधार भनेको त्यस देशको विज्ञान तथा प्रविधिको समुन्नत विकास भएको बताउनुहुँदै विकसित देशहरुको विकास र समृद्धिमा अनुसन्धानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कृत्रिम बौद्धिकताको सही रुपमा प्रयोग गर्नुपर्ने कुरामा जोड दिनुहुँदै उहाँले समाजमा भएका विभेद अन्त्य गर्न कृत्रिम बौद्धिकतालाई सही ढंगले उपयोग गर्ने विषयमा छलफल चलाउन आवश्यक भएको बताउनुभयो । ncee-nepal.com भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण आदि क्षेत्रमा गरिरहेको गतिविधिहरुबारे अवगत गराउनुहुँदै नपाले नगरबासी विद्यार्थीहरुको लागि रु. ५ लाखसम्मको शैक्षिक ऋण र छात्रवृत्तिको व्यवस्था गर्दै आएको बताउनुहुँदै देशको भविष्य युवाहरुको हातमा भएको बताउनुभयो ।
बौद्धिक समुदायले एमसीसी सम्झौताको विरोध गर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै उहाँले भन्नुभयो, विदेशी सहयोगभन्दा पनि देशको सार्वभौमिकता हाम्रो पहिलो प्राथमिकतामा पर्छ ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप ई. कलेज र ख्वप कलेज अफ ई.को संक्षिप्त प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
काठमाडौं विश्वविद्यालयका डीन डा. मनिस पोखरेलले कृत्रिम बौद्धिकतासम्बन्धी १० दिने तालिम पूर्ण सफलताको कामना गर्नुहुँदै कृत्रिम बौद्धिकता कम्प्युटर इन्जिनियरहरुको लागि मात्र नभई सबै क्षेत्रको लागि आवश्यक भएको बताउनुभयो ।
त्यस्तै उक्त कार्यक्रममा संस्थाका श्रेयासा पौडेल र कलेजका शिक्षक योगेश बज्राचार्यले पनि आ—आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Comments