चाँंगुनारायण नगरपालिकाले अरनिको राजमार्ग चक्काजाम गर्ने


पुष २, २०७८, शुक्रबार | दिउँसो १२:२५ बजे | 55


चाँंगुनारायण नगरपालिकाले अरनिको राजमार्ग चक्काजाम गर्ने

भक्तपुर । भक्तपुरको नगरकोट सडक ढिलाईको विरोधमा अरनिको राजमार्ग चक्काजाम गर्ने भएको छ । चाँंगुनारायण नगरपालिकाले आन्दोलनको घोषणा गर्दै राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम पनि तय गरेको हो । यो कार्यक्रमको मिति भने तय गरिएको छैन ।
नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी पुस ७ गतेदेखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । पुस ७ गते सडक निर्माण कार्य अलपत्र पर्नुका कारणका विषयमा सरोकारवालाहरुसँंगको अन्तरक्रिया, पुस ११ गते जिल्ला प्रशाशन कार्यालय भक्तपुर घेराउ र पुस १५ गते सडक सुधार तथा विकास आयोजना कार्यालय काठमाडौं घेराउ कार्यक्रम सार्वजनिक गरेको हो ।
नगरपालिकाका प्रमुख सोम मिश्रले यतिले पनि सुनुवाई नभए ठेकेदार कम्पनीको कार्यालय तथा निवास घेराउ, माइतीघर मण्डलामा धर्ना कार्यक्रम र अरनिको राजमार्ग चक्का जाम गर्ने कार्यक्रम पनि तय गरेको जानकारी गराए । पछिल्लो कार्यक्रमको मिति भने तय गरिएको छैन । माथिल्लो कार्यक्रमसँंगै माग सुनुवाई भए थप आन्दोलन गर्नु आवश्यक नरहेकोले अहिलेलाई मिति घोषणा नगरिएको मेयर मिश्रले बताए । साथै सरोकारवालाहरुसँंगको छलफलपछि त्यस अनुसार मिति तोक्नुपर्ने भएकोले पनि पछिल्लो आन्दोलनको कार्यक्रमको मिति घोषणा नगरिएको मेयर मिश्रले जानकारी गराए ।
मेयर मिश्रले यो ठेकेदारले काम गर्ने विश्वास नभएकोले ठेक्का तोड्नुपर्ने माग राखे । ठेक्का तोडेर नगरपालिकालाई सुम्पे नगरपालिकाबाट सडक बनाइदिने उनले प्रतिवद्धता जनाए ।
भक्तपुरको कमलविनायक भत्केकोपाटीदेखि नगरकोटसम्म पुग्ने सडक २०७३ असार ३ गतेभित्र सम्पन्न गर्ने गरी ठक्का भएको थियो । तर सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने आठ वर्ष वितेपनि सडक अहिलेसम्म पनि अलपत्र नै छ ।
निर्धारित मितिमा काम नसकेपछि सरकारले पटकपटक गरी सात पटक म्याद थप गरिसकेको छ । पछिल्लो पटक भाद्र ३ गतेको मन्त्रिपरिषद्को बैठकलाई आधार मानी असोज २८ गते यो आयोजनाको म्याद सडक सम्पन्न गर्नुपर्ने अवधिलाई चैत मसान्तसम्म थप गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जनाइयो ।

Comments