कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको १० औं साधारणसभा सम्पन्न


पुष १, २०७८, बिहीबार | विहान ११:२९ बजे | 105


कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको १० औं साधारणसभा सम्पन्न

भक्तपुर । कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको १० औं साधारणसभा तथा समितिका संस्थापक स्व. रामेश्वर प्रसाद ढुंगेलको दोस्रो स्मृति दिवस बिहिवार सम्पन्न भएको छ ।
सो अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले राजनीतिमा प्रतिष्पर्धा विकासमा ऐक्यवद्धता भन्नेमुल नाराका साथ नगरपालिका अघि बढेको बताउनुभयो । उहाँले सोही अनुसार कार्य गर्दै आइरहेको दावी पनि गर्नुभयो ।
कार्यकालको पाँच वर्ष विवादरहित ढंगले काम गरेको दावी गर्दै नगर प्रमुख थापाले अबको बाँकी अवधी पनि विवादमा आउने कार्य नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नगरपालिकालाई ऐन नियमको परिधीभित्र राखेर सञ्चालन गर्नुपर्छ भन्ने मूल्यमान्यताका साथ नगरपालिकाले विभिन्न ऐन निर्माण गरी काम गर्दै आइरहेको बताउनुभयो ।
‘नगरपालिकामा जो जनप्रतिनिधि आए पनि,जुनसुकै दलका प्रतिनिधि निर्वाचित भएर आए पनि नगरपालिकामा एकरुपकता आओस भनी ऐन निर्माणमा जोड दिएका छौं,’ उहाँले भन्नुभयो ।
उहाँले नगरपालिकाले कटुञ्जेको खानेपानी बिस्तारको लागि समितिलाई ४० लाख प्रदान गर्ने प्रस्ताव नगर कार्यपालिकाको बैठकमा राख्ने जानकारी गराउँदैं सो रकम खाने पानीको पाइपलाइन बिस्तारमा खर्च गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थापक उपाध्यक्ष एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले काठमाण्डौं उपत्यकामा लिफ्ट प्रविधिको खानेपानी योजना सफल हुँदैन भन्ने धारणा विपरित कटुञ्जेले ठूलो जोखिम मोलेर योजना शुरु गरेको बताउनुभयो । अहिले कटुञ्जे लिफ्ट प्रविधिको खानेपानी योजना नमूनाको रुपमा अगाडि बढेको बताउँदैं उहाँले कटुञ्जे वासीको मागअनुसार पानी वितरण गर्न समितिले पानीको थप स्रोतको पहिचान गरी योजना बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
विकास वादीका नाममा भक्तपुरमा एउटै योजनाको पटक पटक शिलान्यास र उद्घाटन गर्ने विकृति देखिएको भन्दै थापाले यस्ता विकृति र विसंगतीको कांग्रेसले भण्डाफोर गर्ने बताउनुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष राजकुमार जोशीले वडाको खानेपानीको योजना बिस्तारमा नगरपालिका र वडाले सहकार्य गर्दै आइरहेको र विभिन्न योजनामा १ करोड भन्दा बढी रकम सहयोग गरेको जानकारी दिनुभयो । उहाँले खानेपानीको आवश्यकता र माग दिनप्रति दिन बढ्दो भएता पनि सिमित स्रोतका कारण पुरा गर्न नसकिएको अवस्थामा वडा कार्यालय थप सहकार्य गरी अघि बढ्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । खानेपानी जस्तो अति आवश्यक वस्तुमा राजनीतिगर्न नहुने बताउँदैं उहाँले सबै तिर राजनीति घुसाउने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
समितिका निवर्तमान अध्यक्ष एवम् नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका सभापति निशान ढुंगेलले आफु अध्यक्ष हुँदा समितिमा कुनै आर्थिक अनियमितता नभएको दावीगर्दै छानविन गर्न चुनौती दिनुभयो । ‘जसले यस्तो संगीनआरोप लगाउनु भएको छ, उहाँहरुलाई छानविन गर्न चुनौती दिन्छु,’ उहाँले भन्नुभयो, ‘कुनै अनियमितता भएको पाईए यही चक्रपाणी चालिसे चोकमा झुण्डिन तयार छु ।’
कार्यक्रममा समितिका अध्यक्ष श्रीकृष्ण बासुले समितिको प्रगति विवरण प्रस्तुत गर्दै बढ्दो शहरीकरण र आवादीले समितिले उपभोक्ताको मागअनुसार धारा वितरण गर्न समस्या भएको बताउनुभयो । ‘स्रोत भन्दा बढी माग छ । स्रोत र मागलाई व्यवस्थापनगर्न कठिनाइ भइरहेको छ,’ उहाँले भन्नुभयो ।
उहाँले समितिले हालसम्म पाँच वटा बोरिङबाट उत्पादित पानी २ हजार ५ सय धारा मार्फत उपभोक्ताहरुलाई वितरण गर्दै आइरहेको जानकारी दिनुभयो । नगरभित्र भइरहेको ढल र सडक बिस्तारले खानेपानीको पाइपलाइनमा समस्या आएको बताउँदैं उहाँले नगरपालिकाले सञ्चालन गर्ने योजनामा समितिसँग सहकार्य गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
समितिको पहलमा नगरपालिका र जिल्ला समन्वय समितिको सहयोगमा करिव ५३ लाख रुपैंयामा थप बोरिङ गर्ने योजना कार्यान्वयनमा रहेको जानकारी दिँदैं अध्यक्ष बासुले सडक बिस्तार र ढल बिस्तारमा खानेपानीको पाइपलाइनलाई क्षती हुन नदिन र सडक कालोपत्रे गरेको केही समयमा नै सडक खन्नुपर्ने बाध्यता हटाउन सडकको दुवै किनारबाट पाइपलाइन बिस्तार गर्ने योजनामा समिति लागि परेको बताउनुभयो ।
कार्यक्रममा समितिका उपाध्यक्ष सानुकाजी गोराजु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजिवीका प्रतिनिधिहरुले खानेपानी योजनालाई थप बिस्तार र परिस्कृत गर्दै लैजानुपर्ने माजोड दिनुभएको थियो ।
सभाले समितिका सचिव अनिल गुमान्जुको वार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्ष कमल प्रसाद तिमल्सिनाको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै समितिको संशोधित विधान समेत पारित गरेको छ ।

Comments