वीरेन्द्र क्याम्पसका स्थायी प्राध्यापकहरु अन्य कलेजमा व्यस्त: कारबाही गर्ने सिडियोकोे चेतावनी
मंसिर २७, २०७८, सोमबार | विहान ११:४९ बजे | 25
चितवन । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित वीरेन्द्र बुहुमुखी क्याम्पस चितवनको एकमात्र सरकारी स्वामीत्व रहेको क्याम्पस हो । यस क्याम्पसमा स्थायी १०४ जना, त्रिवी करार १५, आन्तरिक करार १८ र आंशिक ९० गरी २२७ जना प्राध्यापक रहेका छन् । स्थायीको दरबन्दीले नपुगेर र नयाँ विषयका लागि आंशिक र करारमा प्राध्यापक नियुक्त गरिन्छ ।
तर वीरेन्द्रमा दरबन्दीले नपुगेरै आंशिक र करारमा प्राध्यापक नियुक्त गरिएको छ । स्थायीले मात्र सबैलाई पढाउन नभ्याएको खण्डमा मात्र आंशिक र करारले पढाउनुपर्छ । तर वीरेन्द्रमा स्थायी शिक्षकलाई फुर्सदिलो बनाउन आंशिक र करारमा प्राध्यापकहरु थप्ने गरेको पाइएको छ । स्थायी प्राध्यापकलाई फुर्सदिलो बनाएर क्याम्पसले अन्य कलेजहरुमा पढाउनका लागि सिफारिस गर्ने गरेको छ । स्थायी प्राध्यापकहरु अरु कलेजमा व्यस्त देखिने गरेका छन् ।
करार र आंशिक प्राध्यापकलाई पढाउन लगाउने र स्थायी प्राध्यपकहरु फुर्सदिलो भएर बस्ने गरेको करारमा पढाउँदै आएका शिक्षकहरुकै गुनासो समयसमयमा सुनिने गर्दछ ।
उक्त निवदेन उपर सुनुवाइ गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रमेलाल लामिछानेले वीरेन्द्र क्याम्पससँग दुवैतर्फ काम गर्ने शिक्षक प्राध्यापकहरुको विवरण माग गरेका थिए । तर त्यसपछि उक्त निवेदन उपर कुनै कारबाही भएको छैन । कलेजले दुवैतर्फ काम गर्ने शिक्षकहरु नामावली प्रशासनमा पठाएको छैन । प्रशासन पनि त्यत्तिकै मुकदर्शक बनेर बसिरह्यो ।
उक्त निवेदनका बारेमा बुझ्न नारायणी अनलाइन टिम जिल्ला प्रशासन कार्यालय पुगेको थियो । तर जिल्ला प्रशासनमा उक्त निवेदनै फेला परेन । निवेदनका बारेमा अहिलेका जिल्ला अधिकारी आस्मान तामाङ्गलाई जानकारी समेत गराइएको छैन ।
नारायणी अनलाइनसँग प्रतिक्रिया दिँदै प्रजिअ तामाङ्गले सरकारी प्राध्यापकहरु वीरेन्द्रमा काम गर्ने समयावधीमा अन्त जानै न पाउने बताए । उनले समयावधीपछि अरु कलेजमा जानु परे पनि विभागको अनुमति लिएर केही समयका लागिमात्र जान पाइने व्यवस्था रहेको बताए । उनले अन्य कलेजमा काम गर्ने प्राध्यापकहरुलाई कारबाही गरिने चेतावनी दिएका छन् । अहिले पनि वीरेन्द्रका प्राध्यापकहरु वीरेन्द्रमा काम गर्ने समयमा अर्को कलेज गएर पढाइरहेको तथ्य नारायणी अनलाइनले फेला पारेको छ । सोही कारण वीरेन्द्र क्याम्पसमा दिनहुँ जसो एक वा दुई विषयको पढाइ नै हुन सकेको छैन । हरेक दिन कुनै न कुनै विषयगत कक्षा खाली हुने गरेको विद्यार्थीहरुको गुनासो छ । यही विषयलाई लिएर विद्यालयमा पटकपटक तालाबन्दी र आन्दोलन हुने गरेको भए पनि समस्या समाधान हुन सकेको छैन ।
स्कुल अफ हेल्थ साइन्समा वीरेन्द्रका उपप्राध्यापकको दादागिरी ः
वीरेन्द्रका प्राध्यापकहरु स्कुल अफ हेल्थ साइन्समा अध्यापन गराइरहेका छन् । स्कुल अफ हेल्थ साइन्सकी प्रमुख रजनी मल्लकी श्रीमान् हुन् वीरेन्द्रका उप–प्राध्यापक दिनेश कुमार मल्ल । उनी वीरेन्द्रमा दुईरतीन घण्टा आएर बाँकी समय स्कुल अफ हेल्थ साइन्समै बिताउने गर्छन् । उनले स्कुल अफ हेल्थ साइन्समा दादागिरी देखाउने गरेको नारायणी अनलाइनलाई गुनासो प्राप्त भएको छ । हेल्थ साइन्समा अरुलाई अवसर नदिइ वीरेन्द्रकै स्थायी प्राध्यापक ल्याउन मल्लले ठूलो भूमिका खेलिरहेको आरोप लागेको छ । हेल्थ साइन्समा वीरेन्द्रका ६ जना उप–प्राध्यपकहरु र एक जना सह–प्राध्यापकले अध्यापन गराउने गरेका छन् ।
हालसम्म पत्ता लागेअनुसार स्कुल अफ हेल्थ साइन्समा जाने वीरेन्द्रका प्राध्यापकहरुमा प्राध्यापकहरु हरिदेवी शर्मा, कुलदेव यादव, वेदनिधी अर्याल, बद्रीप्रसाद राउत र किशोर चन्द्र घिमिरे रहेका छन् । प्राध्यापकहरुले वीरेन्द्रमा विद्यार्थीहरुलाई बुझ्ने गरी नपढाइकन छिटो कोर्स सकाउने गरी दौडाउने गरेको वीरेन्द्रका एक विद्यार्थीले गुनासो गरे । जसले गर्दा वीरेन्द्र क्याम्पसको नतिजा वर्षेनी खस्किदो क्रममा रहेको छ । वीरेन्द्रका प्राध्यापकहरु नारायणी बहुप्राविधिक शिक्षालय भरतपुरमा पनि अध्यापन गराइरहेको पाइएको छ । तर कुन प्राध्यापक कुन समयमा आउँछन् भनेर उपलब्ध गराउन शिक्षालयले आनाकानी गरेको छ ।
वीरेन्द्रका प्राध्यपकहरु अन्य निजी कलेजमा पनि गोप्यरुपमा अध्यापन गराइरहेका हुन सक्छन् । यस विषयमा पनि सम्बन्धित निकाय, विद्यार्थी र विद्यार्थी संगठनहरु आफै चनाखो भएर खोजी गर्न आवश्यक छ । यसमा विद्यार्थीहरुको सबैभन्दा महत्वपूर्ण भूमिका रहन्छ । कक्षा खाली हुने बित्तिकै विद्यार्थीहरुले चासो देखाउन जरुरी छ । कोर्स छिटोछिटो दौडाउन खोजेमा यथार्थता बुझ्न विद्यार्थीहरु चनाखो हुन जरुरी छ ।