भक्तपुरको अँचा पोखरी परिसरमा गरियो आदर निकेतनको भवन शिलान्यास


मंसिर २४, २०७८, शुक्रबार | विहान ०९:५४ बजे | 55


भक्तपुरको अँचा पोखरी परिसरमा गरियो आदर निकेतनको भवन शिलान्यास

भक्तपुर नगरपालिका वडा नं. ६ अँचा पोखरी परिसरमा आदर निकेतनको भवन बन्ने भएको छ ।
समाजका आदरणीय ज्येष्ठ नागरिकहरूका लागि आवश्यक सेवा सुविधा दिनका लागि भक्तपुर नगरपालिकाले अँचापोखरी परिसरको उत्तर–पश्चिम क्षेत्रमा आदर निकेतन बनाउन लागिएको हो । सोही अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार बिहान आदर निकेतन भवनको शिलान्यास गर्नुभएको हो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले चुनावी घोषणापत्रमै ज्येष्ठ तथा समाजका आदरणीय व्यक्तिहरुको सुविधाको लागि आदर निकेतन खोल्ने विषय उल्लेख गरेकोमा हाल नगरबासी जनतालाई पायक पर्ने ठाउँको छनोट गरी आदर निकेतनको भवन निर्माणमा जोड दिएको बताउनुभयो ।
समाजका आदरणीय व्यक्तिको हेरविचार, पालनपोषणको निम्ति भक्तपुर नपाले गरिब जनताको पहुँच पुग्ने आदर निकेतन सञ्चालन गर्न लागेको बताउनुहुँदै उहाँले नगरबासी जनतालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखी ख्वप अस्पताल सञ्चालनमा ल्याएको अवगत गराउनुभयो ।
भक्तपुर नगरपालिका नगरबासीहरुको साझा संस्था हो भन्नुहुँदै नगर प्रमुख प्रजापतिले नगरपालिकाका गतिविधिहरुमा सबैको आर्थिक तथा भौतिक सहयोगले सम्पदा पुनःनिर्माण तथा विकास निर्माणका कामहरुमा टेवा पुगिरहेको छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शिक्षित युवा पुस्ताले नै समाजलाई सभ्य र सुसंस्कृत बनाउने बताउनुहुँदै भक्तपुर नपाले सातवटा शैक्षिक संस्थाहरु सञ्चालन गरी देशको लागि आवश्यक जनशक्ति उत्पादनमा योगदान गरिरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले आदर निकेतनको आवश्यकता र महत्वमाथि प्रष्ट पार्नुहुँदै आदर निकेतन भवन निर्माणसँगै उक्त क्षेत्रलाई आर्थिक, सामाजिक र सांस्कृतिक केन्द्रको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा आदर निकेतन भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ सुजखूले पनि भवन निर्माण उपभोक्ता समितिमार्फत बन्न लागेको र सोको लागि आर्थिक, भौतिक र नैतिक सहयोगको अपेक्षा जनाउनुभयो ।

Comments